सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुससँग इन्धन खरिदसम्बन्धी सम्झौता गरेपछि आफूले धोका पाएको महसुस गरेको बताएका छन् ।
अमेरिका र युक्रेनबिच सम्बन्ध तनावपूर्ण भइरहेका बेला अमेरिकी कम्पनी स्पेसएक्सले सञ्चालन गर्ने स्टारलिंकको सैन्य सेवामा लगाइएको प्रतिबन्धले युक्रेनको ड्रोन आक्रमण र हवाई प्रतिरक्षा क्षमतामा समेत असर पारेको छ ।
बुधबार बेलायती सञ्चार व्यक्तित्व पियर्स मोर्गनको युट्युब कार्यक्रम ‘पियर्स मोर्गन अनसेन्सर्ड’मा बोल्दै जेलेन्स्कीले ट्रम्प प्रशासनबाट आफूले धोका पाएको हो भन्ने प्रश्नमा ‘हो’ भने । उनले रुससँगको इन्धन सम्झौतालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र क्रेमलिनको ‘सहज विजय’को संज्ञा दिए ।
‘हामीले एउटा बलियो साझेदार गुमाउँदै गएकोमा दुःख लागेको छ,’ उनले भने । गत साता ट्रम्पले रुसले आफ्नो डिजेल इन्धन विश्व बजारमा आपूर्ति गर्न सहमति जनाएको बताएका थिए । अमेरिकामा ऊर्जा लागत घटाउने र मध्यावधि निर्वाचनअघि मतदाताको असन्तुष्टि कम गर्ने प्रयासस्वरूप यस्तो निर्णय गरिएको हो । तर, यसले अमेरिकी राजनीतिमा आलोचना र युरोपेली सहयोगीहरूमा असन्तुष्टि बढाएको छ ।
‘यो हाम्रो देश हो, हाम्रो घर हो, हाम्रा छोराछोरी हुन् । त्यसैले ट्रम्पले एउटा पक्ष रोज्दा पीडा हुन्छ,’ जेलेन्स्कीले भने । मध्यस्थकर्ताले दुवै पक्षप्रति समान व्यवहार गर्नुपर्ने उल्लेख गर्दै उनले ट्रम्प गलत पक्षमा उभिएको आरोप लगाए ।
स्टारलिंक प्रतिबन्धले सैन्य अभियान प्रभावित
युक्रेनले बुधबार स्पेसएक्सले सैन्य प्रयोजनका स्टारलिंक टर्मिनलको सञ्चालनमा पूर्वसूचनाबिना प्रतिबन्ध लगाउँदा आफ्ना केही सैन्य अभियान प्रभावित भएको बताएको छ । स्टारलिंकका उपकरण युक्रेनले ड्रोनको दिशा निर्धारण, सञ्चार र लक्ष्यसम्म पुग्न प्रयोग गर्दै आएको छ ।
युक्रेनी राष्ट्रपति कार्यालयका सल्लाहकार सेर्ही बेस्क्रेस्नोभका अनुसार स्टारसिल्ड नामक सैन्य तथा सरकारी प्रयोजनको सेवामा समेत प्रतिबन्ध लगाइएको छ । उनले टर्मिनलको गति प्रतिघण्टा १६० किलोमिटरमा सीमित गरिएको बताएका छन् । यद्यपि, युक्रेनी सैन्य स्रोतहरूका अनुसार त्योभन्दा कम गतिमै पनि केही ड्रोनको सञ्चार सम्पर्क विच्छेद भएको छ ।
यसले रुसभित्रका सैन्य लक्ष्यमा आक्रमण गर्ने युक्रेनको क्षमता र रुसी ड्रोन रोक्न प्रयोग गरिने इन्टरसेप्टर ड्रोनको सञ्चालनमा असर पार्न सक्छ ।
जेलेन्स्कीले स्टारलिंकमा आएको अवरोधको फाइदा रुसले उठाउन खोजिरहेको बताएका छन् । उनका अनुसार युक्रेनी सेनाले रुसी शाहेद ड्रोन रोक्न इन्टरसेप्टर ड्रोन सञ्चालन गर्दा स्टारलिंकमा निर्भर रहन्छ ।
‘यो ठूलो गल्ती हो । यस निर्णयले धेरै मानवीय क्षति निम्त्याउनेछ । मानिसहरू मर्नेछन्,’ उनले भने ।
स्पेसएक्सका प्रमुख एलन मस्कले भने स्टारसिल्ड अमेरिकी सरकारको नियन्त्रणमा रहेको र त्यसको गति तथा प्रयोगसम्बन्धी सीमा अमेरिकी सेना र राष्ट्रपतिले निर्धारण गर्ने बताएका छन् । उनले व्यावसायिक सेवा स्टारलिंकलाई आक्रामक सैन्य कारबाहीमा प्रयोग गर्न नहुने पनि बताएका छन् ।
युक्रेनका लागि स्टारलिंक सेवाको शुल्क तिरिरहेको पोल्यान्डले प्रतिबन्धप्रति असन्तुष्टि जनाएको छ । पोल्यान्डका विदेशमन्त्री रादोस्लाव सिकोरस्कीले मस्कलाई आफ्ना उत्पादनमार्फत राजनीति नगर्न चेतावनी दिएका छन् ।
अमेरिकी गुप्तचर सहयोगमा पनि अनिश्चितता
युक्रेनले रुसका ऊर्जा केन्द्रमा आक्रमण रोक्न दबाब दिने उद्देश्यले अमेरिकाले गुप्तचर सूचना आदानप्रदान निलम्बन गर्न सक्ने चेतावनी दिएको बताइएको छ । युरोपेली देशहरूले युक्रेनका लागि खरिद गर्ने अमेरिकी हतियारको आपूर्ति रोक्ने सम्भावनाबारे पनि चेतावनी दिइएको थियो ।
रुसी ब्यालिस्टिक क्षेप्यास्त्रको प्रक्षेपणस्थल, सम्भावित लक्ष्य र आक्रमणको समयबारे जानकारी प्राप्त गर्न अमेरिकी गुप्तचर सहयोग युक्रेनका लागि महत्त्वपूर्ण छ । युक्रेनी अधिकारीहरूले लगातार दोस्रो दिन पनि रुसी आक्रमणअघि पश्चिमी साझेदारबाट चेतावनी नपाएको बताएका थिए । अमेरिकी अधिकारीहरूले भने गुप्तचर सहयोग जारी रहेको दाबी गरेका छन् ।
रुसी आक्रमणमा ६ लाखभन्दा बढी विद्युत्विहीन
स्टारलिंक विवाद चर्किएका बेला रुसले किएभ, खार्किभलगायत युक्रेनी सहरका ऊर्जा पूर्वाधारमा क्षेप्यास्त्र र ड्रोन आक्रमण जारी राखेको छ । जेलेन्स्कीका अनुसार ३० वटा ऊर्जा संरचनामा क्षति पुगेको छ र ६ लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् ।
राजधानी किएभमा भएको आक्रमणमा दुई जनाको मृत्यु र २१ जना घाइते भएका थिए । पश्चिमी युक्रेनको लुत्स्कमा भएको आक्रमणमा थप छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
ट्रम्पले ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने युद्धविराम लागू भएको घोषणा गरे पनि रुस र युक्रेन दुवैले त्यसमा सहमति भएको सार्वजनिक पुष्टि गरेका थिएनन् । त्यसपछि पनि रुसी आक्रमण जारी रह्यो ।
यसैबीच, जेलेन्स्कीले बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्याम र राजा चाल्र्स तृतीयसँग भेट गर्दै युरोपेली सहयोग जुटाउने प्रयास गरेका छन् । बेलायतले रुसी ड्रोनविरुद्ध प्रयोग हुने क्षेप्यास्त्र खरिद तथा आपूर्तिका लागि ४ करोड ५० लाख पाउन्ड सहयोग उपलब्ध गराउने घोषणा गरेको छ ।
रुससँगको इन्धन सम्झौता, अमेरिकी गुप्तचर सहयोगबारेको अनिश्चितता र स्टारलिंक सेवामा आएको अवरोधले युक्रेनको युद्धक्षमतामाथि नयाँ प्रश्न उब्जिएको छ । अमेरिकी सहयोग कमजोर भएमा रुसी आक्रमण रोक्ने र कब्जामा रहेका भूभाग फिर्ता लिने युक्रेनको प्रयास थप कठिन हुन सक्छ । एजेन्सी