सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
छेडागाड नगरपालिका कर्णाली प्रदेश अन्तर्गत जाजरकोट जिल्लाको एक सम्भावनायुक्त नगरपालिका हो । वि.सं. २०७३ फागुन २७ गते साविकका साल्मा, दशेरा, सुवानाउली, पजारु, झाप्रा र कार्कीगाउँ गाविसलाई समेटेर स्थापना भएको हो । १३ वडा, २८४.२० वर्ग किलोमिटर क्षेत्रफल तथा राष्ट्रिय जनगणना २०७८ अनुसार ३७ हजारभन्दा बढी जनसंख्या रहेको यस नगरपालिकाको केन्द्र वडा नं ५ को चंखिला रहने गरी नगरपालिकाको निर्णय बमोजिम प्रदेश सरकारको सिफारिसमा नेपाल सरकारले राजपत्रमा प्रकाशित गरेको छ । “छेडागाड” नाम स्थानीय रूपमा बग्ने छेडागाड खोलाबाट रहन गएको हो। जहाँ कर्णाली क्षेत्रमा “गाड” शब्दले खोलालाई जनाउने गर्दछ। प्राकृतिक स्रोत, धार्मिक आस्था, कृषि सम्भावना, मौलिक संस्कृति तथा सामाजिक सद्भावले समृद्ध छेडागाड नगरपालिका पछिल्ला वर्षहरूमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार तथा सामाजिक सेवाको क्षेत्रमा उल्लेखनीय परिवर्तन तर्फ अघि बढिरहेको छ।
भौतिक पूर्वाधार : विकासको आधार बलियो बन्दै
नगरपालिका भित्र सडक, पुल, विद्युत तथा प्रशासनिक संरचना निर्माण संगै विकासले गति लिएको स्पष्ट अनुभूति भएको छ। मनाघाट बेलिब्रिज निर्माण सम्पन्न भएसँगै नागरिकको आवतजावत सहज हुनुका साथै व्यापारिक तथा आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव परेको छ। मोर्क–फलिहाल्ना सडक कालोपत्रे अन्तिम चरणमा पुगेको छ भने सोही सडक खण्डको रिठेखोला सडक पुल निर्माणको ढलान कार्य सम्पन्न भएको छ ।
दैलेखको सिमाना सुयाडा देखि वडा नं १३ को कार्कीगाउ सम्म करिव ८ वटा भएर जोडिएको मध्यपहाडी राजमार्गले नगरपालिकाको आर्थिक तथा सामाजिक क्षेत्रमा दिर्घकालिन सकरात्मक प्रभाव पारेको,कृषि उत्पादन बजारीकरण,व्यापार व्यवसाय विस्तार,यातायातमा सहजता,शिक्षा, स्वास्थ्य र प्रशासनिक सेवामा नागरिकको पहुँच थप प्रभावकारी बन्दै गएको छ । चंखिला–सिल्पे सडक कालोपत्रे तथा सिल्पे–बाटुले सडक स्तरोन्नतिको कामले नगरपालिकाको मुख्य बजार थलह र अन्तरपालिका कुशेलाई जोड्ने मात्र नभई ग्रामीण यातायात सेवा सहज र व्यवस्थित बन्दै गएको छ। लम्तीखोलाको बेलिब्रिज पुलको सिलान्यास भई निर्माण कार्य अगाडी बढेको छ ।
यधपि निर्माण व्यवसायीको लापरबाहीका कारण अलपत्र परेको खार खोला पुलको निर्माणको लागि पूर्वाधार विकास कार्यालय कार्यालय जाजरकोट,जिल्ला प्रशासन कार्यालय जाजरकोट,र भौतिक पूर्वाधार मन्त्रालय सुर्खेतलाई ध्यानाकर्षणा गराउने र निर्माण व्यवसायीलाई खबरदारी गर्ने कार्य पालिकाको तर्फबाट भएको र पुल निर्माण नहुन्जेल विकल्पको खोजी भैइरहेको अवस्था छ नगरपालिकाका अधिकांशं वडा,टोल तथा बस्तीमा विद्युत आपूर्ति भैईरहेको तथा बाकी बस्ती,टोल तथा वडाहरुमा विधुत विस्तार कार्य तीव्र रूपमा भइरहेको छ, जसले शिक्षा, सञ्चार, साना उद्योग तथा दैनिक जीवनलाई सहज बनाउने छ ।
प्रशासकीय भवन निर्माण सम्पन्न भई विधुत आपूर्तिको लागि विधुत सिस्टमको जडान भैइरहेको र उक्त कार्य सकिन साथ उक्त भवनबाट नगरपालिकाको एकीकृत सेवा शुचारु हुनेछ भने करिब ५०० क्षमताको आधुनिक अडिटोरियम हल निर्माणाधीन अवस्थामा रहेको छ। वडा नं. २, ३, ४, ५, ९, १०, ११ र १३ आफ्नै पक्की भवनबाट सेवा सञ्चालनमा छन् वडा नं १ को भवन निर्माणको कार्य भैरहेको र बाँकी अन्य वडाका भवन निर्माण प्रक्रिया पनि नितिगत रुपमा अगाडी बढिरहेको छ।
यसले स्थानीय सरकारलाई संस्थागत रूपमा थप सुदृढ बनाउने विश्वास लिइएको छ। नगरपालिकाको हरेक बस्तीहरुमा एक घर एक धारा मार्फत स्वस्थ खानेपानी नागरिकको घरघरमा पुर्याउने निति अनुसार अधिकांश टोल बस्तीहरुमा साझेदार संस्था तथा नगरपालिकाको श्रोतबाट खानेपानी आयोजना निर्माण अनुगमन गर्ने कार्यले तिब्रता पाएको छ भने बाँकी रहेका टोल बस्तीहरुमा समेत खानेपानी उपलब्ध गराउन नगरपालिका र साझेदार संस्थाहरुसंग आगामी आ व को लागि समेत सम्झौता भई आयोजना निर्माण तथा संञ्चालनका आधारभूत कामहरुले प्राथमिकता पाइरहेको अवस्था छ ।
झोलुङ्गे पुल,स्थानीय ग्रामिण सडक,सामुदायिक भवन, सिचाई आयोजना,मठ मन्दिर जस्ता संरचना असंख्य रुपमा निर्माण भई संञ्चालनमा आइरहेका छन। यधपी विकास कहिल्यै पूर्ण हुदैन यो समय र आवश्यकता बमोजिम निरन्तर चलिरहने प्रक्रिया हो ।
स्वास्थ्य सेवा : पहुँच देखि गुणस्तरसम्म
स्वास्थ्य क्षेत्रमा नगरपालिकाले संरचनात्मक विकाससँगै सेवा विस्तारलाई प्राथमिकतामा राखेको छ। हाल नगरपालिकाभित्र १ नगर अस्पताल, ६ स्वास्थ्य चौकी, ८ आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा ५ सामुदायिक स्वास्थ्य इकाइमार्फत सेवा प्रवाह भइरहेको छ। अधिकांश स्वास्थ्य संस्थाले आफ्नै भवनबाट सेवा दिइरहेका छन्। गत बर्ष मात्रै वडा नं ५ को फुर्कीचौरमा नगरअस्पतालको परिसरमै आँखा उपचार केन्द्र स्थापना गरी आँखा उपचार सम्बन्धी सेवा विस्तार भएको छ ।
२०८२ साल जेठ ९ गते कुमारी फाउन्डेसन काठमाण्डौले रोटरी क्लबसंगको समन्वयमा करिब ३ करोड बराबर लागत पर्ने नगर अस्पताललाई मेसिन तथा उपकरण हस्तान्तरण भए संगै नगरपालिकाको सेवा र गुणस्तरमा विस्तार भएको छ । कुमारी ट्रष्टले नगरपालिकालाई नगर अस्पताल संञ्चालनको लागि जग्गा र भौतिक संरचना समेत उपलब्ध गराएको सर्ब बित्तिदै छ । निर्माणाधीन नगर अस्पतालको भवन निर्माण स्थलमा पहिरोले क्षति पुर्याउदा ढिलाई भएको भवन निर्माण कार्यले पछिल्लो समय तिब्रता लिएको छ ।
नगरपालिकामा सुरक्षित मातृत्व, खोप, पोषण, सरसफाइ तथा जनस्वास्थ्य सचेतना कार्यक्रम नियमित सञ्चालन भइरहेका छन्। स्वास्थ्य शाखाले औषधि व्यवस्थापन, स्वास्थ्यकर्मी तालिम, सुपरिवेक्षण, रेकर्डिङ तथा रिपोर्टिङ प्रणालीलाई प्रभावकारी बनाउँदै सेवा प्रवाहलाई थप व्यवस्थित बनाइरहेको छ। दुर्गम बस्तीमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न नगरपालिकाले निरन्तर पहल गरिरहेको देखिन्छ।
कृषि, पशुपालन र उद्यमशीलता : आत्मनिर्भरताको आधार
नगरपालिकाको अधिकांश जनसंख्या कृषि र पशुपालनमा निर्भर रहेकाले यस क्षेत्रलाई आर्थिक समृद्धिको मुख्य आधारका रूपमा अगाडि बढाइएको छ। कृषि शाखामार्फत उन्नत बीउबिजन, कृषि सामग्री तथा उपकरणमा अनुदान, किसान तालिम, टनेल खेती, सिंचाइ तथा फलफूल खेती विस्तारका कार्यक्रम सञ्चालन भइरहेका छन्। पशुपंक्षी शाखाबाट पशु स्वास्थ्य सेवा, खोप, कृत्रिम गर्भाधान, पशु उपचार तथा उन्नत जात पशुबस्तु प्रवर्द्धनका कार्यक्रम सञ्चालन भइरहेका छन्।
समूह तथा सहकारी मार्फत महिला र युवालाई व्यवसायिक कृषि तथा पशुपालनमा जोड्ने प्रयासले स्थानीय उत्पादन र आयआर्जनमा सकारात्मक प्रभाव पारेको छ। हरेक बर्ष किसानसंग मेयर कार्यक्रम संञ्चालन गरी कृषि र पशु विकास सम्बन्धी सेवा तथा गुणस्तरका कामहरु निरन्तर भैरहेका छन्। त्यसैगरी मेड्पा कार्यक्रम मार्फत सिलाइकटाइ, ब्यूटी पार्लर, खाद्य परिकार, हस्तकला, कृषि तथा होटल व्यवसाय सम्बन्धी सीपमूलक तालिम तथा प्रविधि हस्तान्तरणका कामहरु सञ्चालन हुँदै आएको छन। यसले विशेषगरी महिला, युवा तथा विपन्न वर्गलाई स्वरोजगार र उद्यमशीलता तर्फ प्रेरित गरिरहेको छ।
रोजगार सेवा : श्रमलाई सम्मान र अवसर
राष्ट्रिय रोजगार कार्यक्रम तथा मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत सडक, नाली, खानेपानी, सिंचाइ तथा सार्वजनिक संरचना निर्माणमा स्थानीय श्रमिकलाई प्राथमिकता दिइँदै आएको छ। यसले बेरोजगारी न्यूनीकरण, श्रमको सम्मान तथा स्थानीय स्तरमै आयआर्जनको अवसर सिर्जना गर्न महत्वपूर्ण योगदान पुर्याएको छ। वैदेशिक रोजगारी प्रतिको निर्भरता घटाई स्थानीय सीप र श्रमको सदुपयोग गर्ने दिशामा यी कार्यक्रम प्रभावकारी देखिएका छन्।
शिक्षा : गुणस्तरीय र व्यवहारिक शिक्षातर्फ उन्मुख
नगरपालिका भित्र १ स्नातकोत्तर तहसम्म अध्ययन हुने क्याम्पस, ८८ सामुदायिक विद्यालय मध्ये १-५ संञ्चालन भएका ४९, १-८ कक्षा संञ्चालन भएका २०,१-१० कक्षा संञ्चालन भएका ११, १-१२ संञ्चालन भएका १२ विधालय छन्। ६८ संघीय बालविकास केन्द्र तथा ४१ पालिकास्तरीय बालविकास केन्द्र, र ४ वटा सामुदायिक सिकाई केन्द्र रहेका छन। २ विद्यालयमा प्राविधिक धारको पढाइ सञ्चालन भइरहेको र १ वटा गुरुकूल शिक्षालय, ७ वटा संस्थागत विधालय नगरपालिका भित्र संञ्चालनमा छन्।
उल्लेखित विधालयहरुमा धुलोरहित कक्षाकोठा निर्माण गर्ने नगरपालिकाको निति बमोजिम,RCC भवन निर्माणको काम तीब्र गतिमा भैरहेको छ ।जिल्लाकै नमूना विधालय जनप्रिय मा वि दशेरामा अत्याधुनिक भौतिक संरचना निर्माणका कामहरु धमाधम भैइरहेका छन्। कक्षा ११ र १२ मा विज्ञान विषयमा पढाई हुनुले विधार्थीको आकषर्ण बढीरहेको उक्त विधालयमा खेल मैदान,ल्याव सामग्री,प्रयोगशाखा,पुस्तकालय, पढ्दै कमाउदै कार्यक्रम संञ्चालन गरिरहेको विधालयले स्कूल बस सेवा समेत संञ्चालन गरिरहेको छ ।विस्तारै सबै मा वि हरुमा भौतिक पूर्वाधार निर्माण गर्ने क्रममा नगरपालिकाका ६ वटा विधालयमा अत्याधुनिक भवन, खेल मैदान,फर्निचर, शौचालय, घेरावार लगायतका संरचनाहरुको एकसाथ निर्माण कार्य चलिरहेको छ ।दिवा खाजा, बालमैत्री शौचालय, सुरक्षित खानेपानी, इन्टरनेट, पुस्तकालय तथा विज्ञान प्रयोगशालाको व्यवस्थाले शिक्षण–सिकाइ प्रक्रियालाई आधुनिक र प्रभावकारी बनाइरहेको छ।
व्यवहारिक र सीपमूलक शिक्षामा जोड दिँदै नगरपालिकाले स्थानीय पाठ्यक्रम तयार गरी छेडागाड सेरोफेरो किताब छपाई विधालयमा पठनपाठन भैइरहेको अवस्था छ । कक्षा ५ को परीक्षा वडा स्तरीय र कक्षा ८ को परीक्षा नगरपालिका स्तरमा संञ्चालन भैरहेका छन । जसले परीक्षा प्रणालीलाई थप प्रभावकारी बनाउन मद्दत पुगेको दखिन्छ । शिक्षक,बालविकास शिक्षिका र विधालय लेखा सहायकको पदपूर्तिको लागि लिइने परीक्षा प्रणालीलाई परिमार्जन गरी राजनितिक तथा विधालय व्यवस्थापन समितिबाट आउने दबाद र विवाद मुक्त पारिएको छ ।
जसले योग्य र दक्ष जनशक्तिलाई नगरपालिका प्रति भरोसा र स्वंय उम्मेद्धारमा समेत आत्मविश्वास बढाउने काममा टेवा पुगेको देखिन्छ ।प्रतिभा पहिचान,मेयर कप खेलकूल प्रतियोगिता, बालमैत्री तथा प्रविधिमैत्री शिक्षा लगायतका कार्यक्रम शिक्षा शाखा मार्फत निरन्तर संञ्चालन तथा सम्पन्न भैरहेका छन्। जसले विधार्थीहरुको प्रतिभा प्रफुस्टन,खेलकूद क्षमता विकास,बालमैत्री वातावरण निर्माण,डिजिटल प्रविधिको प्रयोगमा अभिबृद्धि तथा शिक्षण सिकाई प्रक्रियालाई थप प्रभावकारी आकर्षक र गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान पुर्याएको छ ।
समावेशिता र सामाजिक सुरक्षा
महिला, बालबालिका तथा जेष्ठ नागरिक इकाई मार्फत महिला सशक्तीकरण, घरेलु हिंसा न्यूनीकरण, बाल अधिकार संरक्षण, जेष्ठ नागरिक सम्मान तथा अपांगता भएका व्यक्तिको अधिकार सुनिश्चितता सम्बन्धी कार्यक्रम सञ्चालन भइरहेका छन्।
सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाईले जेष्ठ नागरिक, एकल महिला, दलित तथा अपांगता भएका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता त्रैमासिक रुपमा सम्बन्धित लाभग्राहीको बैक खातामा जाने व्यवस्था सुनिश्चित गरेको छ । साथै जन्म, मृत्यु, विवाह तथा बसाइँसराइ दर्ताका सेवाहरू प्रभावकारी रूपमा सञ्चालन गरिरहेको विषयले नागरिकहरु सुन्तुष्ट भैइरहेको पुष्टी हुने वातावरण सृजना भैइरहेको छ ।
विपद व्यवस्थापन तथा सामाजिक संरक्षण
छेडागाड नगरपालिकाले विपद् व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै छुट्टै विपद् व्यवस्थापन शाखा स्थापना गरेको छ। आपतकालीन कार्यसञ्चालन कार्यविधि निर्माण गरी मनसुनजन्य, आगलागीजन्य तथा अन्य सम्भावित विपद्को पूर्वतयारी, जोखिम न्यूनीकरण र उद्धार व्यवस्थापनका कार्यहरू निरन्तर सञ्चालन भइरहेका छन्। वडा नं. ७ टिकाचौरमा पूर्वसूचना प्रणाली जडान गरी विपद्सम्बन्धी सूचना नगरपालिकाबाट समेत डिजिटल माध्यमद्वारा निगरानी गर्न सकिने व्यवस्था गरिएको छ। साथै, आवश्यक विपद् राहत सामग्री खरिद गरी नगरपालिकामा मौज्दात राखिएको छ।
सामाजिक संरक्षणतर्फ, विपन्न, गरिब तथा असहाय नागरिकहरूको उपचारमा सहयोग पुर्याउने उद्देश्यले विपन्न औषधि उपचार कोष स्थापना गरिएको छ, जसबाट वडा कार्यालयको सिफारिसका आधारमा आवश्यक आर्थिक सहायता प्रदान गरिँदै आएको छ।
त्यसैगरी, विपन्न, असहाय तथा टुहुरा बालबालिकाको शिक्षामा सहयोग पुर्याउन नगर प्रमुख रत्न बहादुर खड्काको पारिश्रमिकबाट स्थापना गरिएको बालहित कोष मार्फत लक्षित बालबालिकाको पहिचान गरी शैक्षिक सहयोग उपलब्ध गराउने कार्य निरन्तर सञ्चालनमा रहेको छ। यस्ता प्रयासहरूले nसामाजिक उत्तरदायित्व, मानवीय संवेदना र समावेशी विकासप्रतिको नगरपालिकाको प्रतिबद्धतालाई थप मजबुत बनाएका छन्।
पर्यटन, धर्म, संस्कृति र ऐतिहासिक पहिचान
छेडागाड नगरपालिका धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले समृद्ध क्षेत्र हो। सुयाडा मालिका मन्दिर, वडा नं. ८ स्थित ऐतिहासिक घोगी देवल, मालिका गुफा, छेडागाड–भेरी दोभान तथा कार्कीगाउँ मालिका जस्ता धार्मिक, प्राकृतिक र ऐतिहासिक स्थलहरूले नगरपालिकाको विशिष्ट पहिचान निर्माण गरेका छन्। यी सम्पदाहरूले पुरानो सभ्यता, कला, संस्कृति र धार्मिक आस्थाको जीवन्त इतिहास बोकेका छन्।
छेडागाडको सांस्कृतिक पक्ष पनि उत्तिकै समृद्ध छ। साल्मा–दशेरा क्षेत्रमा प्रचलित पैसेरी नाच, कार्कीगाउँ र झाप्रामा नाचिने मयूर नाच, सिगारु नाच, पञ्चेबाजा तथा विभिन्न मेलापर्वमा प्रस्तुत गरिने लठ्ठी नाच यहाँको मौलिक संस्कृति र सामुदायिक एकताको प्रतीकका रूपमा रहेका छन्। यस्ता सांस्कृतिक सम्पदाले स्थानीय पहिचानलाई जीवन्त राख्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुर्याएका छन्।
यी सम्पदा र संस्कृतिको संरक्षण, प्रचारप्रसार तथा विकासका लागि नगरपालिका, प्रदेश तथा संघीय सरकारको साझेदारीमा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। साथै, दैलेखको भगवतिमाई गाउँपालिकासँग सुयाडा मालिका क्षेत्रको संरक्षण, विकास र व्यवस्थापनका लागि सहकार्य गर्ने महत्वपूर्ण निर्णय समेत भएको छ। धार्मिक, ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवर्द्धन गर्न सके छेडागाड नगरपालिका कर्णालीकै एक महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा स्थापित हुने बलियो सम्भावना रहेको छ।
निष्कर्ष
“सिमित स्रोत–साधन र चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि आदरणीय नगर प्रमुख, उपप्रमुख तथा सम्पूर्ण जनप्रतिनिधिहरूको दूरदर्शी सोच, सुदृढ समन्वय, सामूहिक निर्णय क्षमता र इमान्दार प्रयासका कारण हालसम्मका उपलब्धिहरू सम्भव भएका हुन्। कर्मचारीतन्त्रको सक्रियता र सरोकारवालाहरूको सहकार्यले यसलाई थप मजबुत बनाएको छ। तथापि, अझै धेरै गर्न बाँकी रहेकोले आगामी दिनमा सबै सरोकारवालाहरूको निरन्तर साथ, थप जिम्मेवार सहभागिता र रचनात्मक सहयोग अपरिहार्य छ।”
“छेडागाड नगरपालिका केवल एउटा स्थानीय तह मात्र होइन, अपार सम्भावना, प्राकृतिक सम्पदा, सांस्कृतिक वैभव र मेहनती नागरिकहरूको साझा भविष्य बोकेको संस्था हो। विगत केही वर्षमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, सामाजिक सुरक्षा तथा संस्थागत सुशासनका क्षेत्रमा भएका प्रयासहरूले विकासको आधारशिला थप बलियो बन्दै गएको छ। यद्यपि विकास कुनै निश्चित गन्तव्य होइन, यो निरन्तर सुधार, नवप्रवर्तन र साझा प्रतिबद्धताबाट अगाडि बढिरहने प्रक्रिया हो। स्थानीय सरकारका प्रयास मात्र पर्याप्त हुँदैनन्; नागरिकको विश्वास, सरोकारवाला निकायहरूको साथ, जनप्रतिनिधि र कर्मचारीको इमानदार प्रतिबद्धता तथा सबै पक्षबीचको समन्वय र सहकार्य नै छेडागाड समृद्धिको वास्तविक आधार हो।
संस्थालाई नागरिकमैत्री, उत्तरदायी, पारदर्शी र प्रभावकारी nबनाउन आलोचना भन्दा समाधानमुखी सुझाव, असहयोग भन्दा सहकार्य र निराशा भन्दा सकारात्मक सोचको आवश्यकता आज झन् बढी महसुस गरिएको छ। त्यसैले सम्पूर्ण नगरवासी, बुद्धिजीवी, सञ्चारकर्मी, नागरिक समाज, राजनीतिक दल, युवा तथा विशेषगरी सचेत नागरिकहरूलाई विकास र सुशासनको साझा अभियानमा रचनात्मक भूमिका निर्वाह गर्न हार्दिक आह्वान गर्दछौं। कमी कमजोरी देखिए समाधानका विकल्प सहित सुझाव दिनुहोस्, राम्रो कामको प्रोत्साहन गर्नुहोस् र सार्वजनिक संस्थाहरूलाई अझ सक्षम र नागरिक मैत्री बनाउन सकारात्मक खबरदारी कायम राख्नुहोस् ।
जब समन्वय, सहकार्य, विश्वास र सकारात्मक सोच एउटै लक्ष्यतर्फ उन्मुख हुन्छन्, तब विकासले गति मात्र होइन, दिगोपन पनि प्राप्त गर्छ। आउनुहोस्, हातेमालो गर्दै समृद्ध, सुशासित, आत्मनिर्भर र नागरिक मैत्री छेडागाड निर्माणको यात्रालाई अझ सशक्त बनाऔँ। धन्यवाद।”
देब बहादुर बुढा सूचना अधिकारी छेडागाड नगरपालिका जाजरकोट ।