प्रधानमन्त्री शाहले असोज ८ गते गर्दै छन् महासभामा सम्बोधन

शनिबार, भदौ २०, २०८३

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा आगामी असोज ८ गते सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

नेपालबाट प्रस्ताव गएपछि संयुक्त राष्ट्रसंघले वक्ताहरूको सूची संशोधन गर्दै असोज ८ गते (२४ सेप्टेम्बर) का लागि प्रधानमन्त्री शाहले सम्बोधन गर्ने संशोधित तालिका हिजो शुक्रबार दिएको हो।

राष्ट्रसंघ मुख्यालयले दिएको समय शुक्रबार न्यूयोर्कस्थित नेपाली मिसनबाट परराष्ट्रमन्त्रालय हुँदै प्रधानमन्त्री शाहको सचिवालयमा पुगेको छ। सम्बोधनको यही समयअनुसार प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारी अगाडि बढेको छ।

‘न्यूयोर्कस्थित नेपाली मिसनबाट २४ सेप्टेम्बरका लागि सम्बोधनको समय मिलेको जानकारी हामीलाई प्राप्त भएको छ, त्यो हामीले प्रधानमन्त्री कार्यालायमा पठाएका छौँ,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने, ‘अब यही समय अनुसार प्रधानमन्त्रीको भ्रमणको तयारी हुन्छ।’

राष्ट्रसंघको संशोधित तालिकामा २४ सेप्टेम्बरको दिउँसो ३ देखि ९ बजेसम्म १८ जना नेताले महासभामा सम्बोधन गर्ने उल्लेख छ, जसको १७औँ नम्बरमा नेपालका ‘हेड अफ गभर्मेन्ट’ले बोल्ने कार्यतालिका छ।

अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा हुने ८१ औँ महासभामा अहिलेसम्म एक सय १८ देशका नेताले सम्बोधन गर्ने सूची छ। जसमा अधिकांश राष्ट्रप्रमुख, सरकारप्रमुख वा विदेशमन्त्री हुनेछन्।

परराष्ट्र मन्त्रालयका अधिकारीहरू र प्रधानमन्त्रीको सचिवालयका सदस्यहरूका अनुसार भोटेकोसी विपद्का कारण प्रधानमन्त्रीले आफैँ महासभलाई सम्बोधन गर्ने तयारी अगाडि बढेको हो।

प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  १३:२७
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार