सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवास्थित भेरी करिडोर सडक खण्डमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् ।
जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) बुद्धिसागर पुरीका अनुसार असोज ३१ गते बिहान करिब ११:१५ बजे अटो दुर्घटना भएको हो । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडिबाट जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु प्र ०१–००१ ह ०५२९ नम्बरको अटो अनियन्त्रित भएर सडकबाट करिब ६० देखि ६५ मिटर तल खसेको थियो ।
दुर्घटनामा अटोमा सवार पाँचै जना घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि नलगाड नगर अस्पताल दल्ली लगिएको थियो ।
उपचारका क्रममा नलगाड नगरपालिका–९ घरङ्गाका १७ वर्षीय सन्तोष विक र ५५ वर्षीय रमेश विकको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनालाई चिकित्सकले दिउँसो १२:२० बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनामा नलगाड नगरपालिका–२ डाँडागाउँका ३५ वर्षीय प्रेम परियार, नलगाड नगरपालिका–३ कड्केका २८ वर्षीय गोपाल परियार र अटो चालक रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौरका २२ वर्षीय करण परियार गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार प्रेम र गोपालको टाउकोमा चोट लागेको छ भने चालक करणको शरीरको भित्री भागमा चोट लागेको छ । उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ । दुर्घटनामा परेको अटो घटनास्थलमै रहेको प्रहरीले जनाएको छ । अनलाइनखबर