दुर्गममा स्वास्थ्य सेवाका १० वर्ष: नर्सिङ टिका कुमारी बुढाका अनुभव, संघर्ष र चुनौतीहरू

बिहीबार, असोज २९, २०८३

 

स्वास्थ्य क्षेत्रको सेवा १० वर्ष पार भएको छ । संघियता लागु हुनु पुर्व करिव १ वर्ष अगाडि बाट सेवामा जोडिएर जनताको सेवा गर्न थालेको आज एक दशक पुरा भएको छ ।

जाजरकोट जिल्ला स्वास्थ्य कार्यालय अन्तर्गत वि.स. २०५० सालमा स्थापना भएको साल्मा स्वास्थ्य चौकीमा म कार्यरत भएको आज एक दशक पुरा हुदै गर्दा थुप्रै अनुभव बटुल्न सकियो र असिमित चुनौतिहरुको सामना गर्नु पर्यो । साविक गाँउ विकास समितिमा एकवटा मात्र स्वास्थ्य चौकी हुने व्यवस्था थियो । गा.वि.स.को असिमित भुगोल, नमिलेका वस्ती शुन्य सडक संजालको पहुंचमा सेवा प्रवाह गर्न निकै चुनौति थियो । Untitled-Design-(2)-1792072098.png
विरामी सेवाग्राहीलाई स्वास्थ्य संस्थासम्म आउन कठिन थियो नै, हामी स्वास्थ्यकर्मीहरुलाई समेत नियमित खोपको लागि छरिएर रहेका वस्तीमा पुग्न घण्टौ हिड्न पर्ने उतिकै चुनौती थियो । साल्मा स्वास्थ्य चौकी दैलेख जिल्लाको सिमाना नजिक पर्ने र हाल नगरपालिकाको कार्यालय रहेको नजिकै  जहा अहिले बारम्बार पुलको कारणले चर्चामा आउने गरको छ, "खारा वस्ती" सम्म ५/६ घण्टा पैदल हिनेर  पुग्न सामान्य थिएन ।

नियमित खोप र आकस्मिक खोपका अभियानमा साविक वडा र प्रत्येक टोलमा पुग्न हप्ता दिन सम्म हिन्दै फिल्डमै खाने वस्ने जोहो गर्न पर्थ्यो । २०७३ सालमा  संघीयता व्यवस्था लागु भए यता पनी तत्काल स्वास्थ्य संस्थाको संख्या विस्तार हुन सकेन र साविककै सेवाक्षेत्रमा निरन्तर पहिले जसरीनै कठिनाई सहितको जिम्मेवारी निर्वाह गर्नु पर्यो । संघीयता लागु भएको ४ वर्ष पछाडी छेडागाड नगरपालिका अन्तर्गत २०७७ सालमा छेडागाड नगरपालिकाको वडा नं १ "जाल्मा" र  छेडागाड नगरपलिका वडा नं २, "पोख्रा", अन्दरकोटमा समेत आधारभुत स्वास्थ्य सेवा इकाई स्थापना भए संगै हिजोका दिनमा म कार्यरत रहेको एउटा स्वास्थ्य संस्थाले सेवा दिइरहेको सेवाक्षेत्रमा हाल ३ वटा स्वास्थ्य संस्था भएका छन । Untitled-Design-(6)-1792073007.png
तत्पश्चात भने सेवाग्राहीलाई केही सहजता भयो र हामी सेवा प्रदायक संस्थामा कार्यरत कर्मचारीलाई समेत सेवा क्षेत्रको भार केही घट्यो । स्वास्थ्य संस्थामा आवश्यक औषधी र भ्याक्सीन आपुर्तिको लागि महिनामा पटक/पटक जिल्ला स्वास्थ्य कार्यालयमा पग्नु पर्ने हुन्थ्यो । साविक साल्मा गा.वि.स. बाट पैदल जिल्ला सदरमुकाम पुग्न करिव २ दिन लाग्थ्यो, सडक र मोटर गाडिको पहुंच थिएन । 

संघीयता पछीको परिवर्तन र सुस्त विकास; 

संघीयता पश्चात स्वास्थ्य क्षेत्रलाई नगरपालिकाको मातहतमा रहने व्यवस्था भयो । ग्रामिण क्षेत्रमा रहेर सेवा गर्नु पर्ने सेवा प्रदायक संस्था र सेवाग्राहीलाई समेत सरकार नजिक आएको महसुस भयो । सडक संजालको पहुंच स्थानिय तहबाट वडा सम्म सडक जोडीएको छ ।

प्राय टोलमा सडक ट्रयाक खोलिएका छन र सकड निरन्तर मोटर गाडी चल्न सक्ने अवस्था भने छैन । देशको राष्ट्रिय गौरवको आयोजना मध्यको सकड "मध्य पहाडी लोकमार्ग" दैलेख हुदैं जाजरकोटको साविक साल्मा गा वि स हालको छेडागाड नगरपालिका वडा नं २ "सुयाडा' प्रवेश गरी नगरपालिका सदरमुकाम नजिक हुदै भेरी नगरपालिका तर्फ भई रुकुम जोडिएको छ । उक्त पुर्व-पश्चिम लोकमार्गदेखी करिव १० किलोमिटरको दुरीमा रहेको साल्मा स्वास्थ चौकी सम्म सहायक कृर्षि सडक जोडिएको छ, हाल नगरपालिकाले १३ वटै वडाको लागि १ थान एम्वुलेन्स संचालन गरेको छ । तर एम्बुलेन्स पुग्न सक्ने सहज सडक भने छैन । Untitled-Design-(4)-1792072749.png
अहिले पनी रिफर गरिएका बिरामीलाई २ घण्टा कांधमा स्टेचरमा बोकेर मात्र मध्यपहाडी पक्की सडक सम्म पुग्नु पर्ने सास्ती छ । संचार तर्फ हेर्ने हो भने कार्यालयमा कुनै बैठक राख्नु पर्दा आजको जस्तो फोन नेट्वर्कको पहुंच थियन चिठी लेखेर बैठक बोलाउनु पर्थ्यो । आजका दिनमा राम्रो फोन नेटवर्क नभएतापनी सामान्य फोन र कार्यालयमा वायरलेस नेट सम्म व्यवस्था भएको छ । 

प्रसुती गृह (Birthing Center)

राज्यले सुरक्षित मातृत्व अभियान संगै स्वास्थ्य संस्थामा प्रसुती गृह राख्नु पर्ने अवधारणा ल्यायो । २०७२ सालमा जापान सरकारको आर्थिक सह्योगमा सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालसंगको साझेदारीमा साल्मा स्वास्थ्य चौकीमा पहिलोपटक वर्थिङ सेन्टर स्थापना भयो । Untitled-Design-(1)-1792072191.png
स्रोतसाधन र दक्ष जनशक्तिको अभावमा अर्को महत्त्वपुर्ण जिम्मेवारी सुरु भयो । साविक गा वि स को सेवाक्षेत्र फेरी थपियो । छेडागाड १ मा रहेको आधारभुत स्वास्थ्य सेवा इकाईको सबै क्षेत्र जाल्मा,खाले,थापाबुवा, गाउसाल्मा लेकटोल र २ नं को आधारभुत स्वास्थ्य सेवा इकाई पोख्राको सेवा क्षेत्र अन्दरकोट, दरपाखा, दुनी मरपिङ समेतका टोलका गर्भवती महिलाहरुको समेत प्रसुती सेवा थपियो । अनपेक्षित चुनौतीहरुका बीच ४ बर्ष सम्म काम गरिसके पछी २०७६ सालमा नेपालगंज स्थित भेरी अस्पतालमा २  महिनाको SBA Training  लिने अवसर प्राप्त भयो ।Untitled-Design-(7)-1792073157.png
तालिमका क्रममा ४ वर्षमा दक्षताविहिन अवस्थामा भएका थुप्रै चुनौती र प्रश्नहरु स्वत: हराएर गए र  तत्पश्चात तालिमको ज्ञान र ब्यवहारिक सिकाईले प्रसुति गृहको लागि  अझ धेरै हौसला र आत्मविश्वास थपियो ।  चुनौतिहरु अहिले पनी उतिकै छन, जाल्मा स्वास्थ्य र पोख्रा स्वास्थ्य इकाईमा प्रसुती सेवा आजका दिन सम्म पनी सुचारु हुन सकेको छैन ।

स्वास्थ्य सेवा मध्यको प्रमुख प्रसुती सेवाको मेरो ११  वर्षको अन्तरालमा थुप्रै चुनौतीहरु सामना गर्नु पर्यो । वार्षिक करिव सयौंको संख्यामा प्रसुती मैले मेरा आफ्नै हातबाट सेवा प्रवाह गर्दै आइरहेको छु । रोचक भनौ या दु:खद अहिलेको समयमा रात्रीकालिन प्रसुती सेवा मोबाइलको फ्लास बालेर गर्ने गरेकी छु । यो समस्या भएको यो असोजमा ठिक २ वर्ष भयो । Untitled-Design-(3)-1792072395.png
नगरपालिकासंग साझेदारी संस्था पाँच तारा युवा संरक्षक मञ्चले प्रदान गरेको सौर्य सोलार ६ वटा प्यानल मध्य फुटेकोले Birthing Center पुन सोलार विहिन भयो । पालिकासंग पटक पटक समन्वय र अनुरोध गर्दै २ वर्ष वित्यो तर समस्या समाधान हुन सकेको छैन । आउदा दिनमा यथासम्भव समस्या समाधान गरीदिनुहुन समेत सम्वन्धित निकाय समक्ष अनुरोध गर्दछु । असिमित स्रोतसाधनको अभावमा पनी अनुभवलाई सांक्षि राखेर मेहनतलाई विश्वास गरेर सक्दो गुणस्तरिय सेवा प्रवाह गर्ने जमर्को गरिरहेका छौं ।Untitled-Design-(9)-1792073620.pngसाथै नगरपालिका संग साझेदारी संस्थाहरु Save the Children, ले स्वास्थ्य क्षेत्रमा ठुलो योगदान पुर्याएको छ । मैले सेवामा जोडिए पश्चात आवश्यक पर्ने SBA, IUCD, Implant, NCI, ASRH Counseling, PMCT, CNSI, IP,HMIS, DHIS2 लगायतका दर्जनौं तालिमको लागि साझेदारी संस्थाबाटै प्रदान गर्ने अवसर प्राप्त भएको थियो । साथै IPASS Nepal, One Heart Worldwide Org, पाँचतारा युवा संरक्षक मञ्च लागायतका साझेदारी संस्थाहरुको उल्लेख्य योगदान छ । उक्त संस्थाहरु प्रती हार्दिक आभार ब्यक्त गर्दछु ।

कार्यालयको आत्मियता र सहकार्यता ।

संघीयता पश्चात स्थानीय तहको सरकार अन्तर्गतको करिव यो दोस्रो कार्यकारको अन्तिम वर्ष पनी हो । यस सन्दर्भमा निवर्तमान र बहालमा रहेका जनप्रतिनिधी नगर प्रमुख,  नगर उप प्रमुख लगायत वडा अध्यक्ष ज्यूहरु लगायत नगर कार्यकारी प्रमुख ज्यू, प्रमुख प्रशासकीय अधिकृत ज्यूहरु साथै आदारणीय सम्पुर्ण कर्मचारी ज्यूहरु प्रती हार्दिक आभार एवं स-सम्मान ब्यक्त गर्दछु ।Untitled-Design-(5)-1792072866.png
यो विचमा तपाहरुसंगको सहकार्यता,विश्वास, र असल समन्वयको लागि हार्दिक धन्यवाद । साथै आगामी दिनहरुमा अझैं निकटतम समन्वय र सहकार्य गर्दै मेरो जिम्मेवारीलाई अझ पारदर्शीता वनाउनमा म तल्लीन हुनेनै छु । आजका दिन सम्म सबैले मेरो जिम्मेवारी प्रतीको सकरात्मक मुल्याङकन र विश्वास गर्दीनु भएको छ ।

अझ सेवा प्रवाहलाई व्यवस्थित र जनमैत्री वनाउन पर्छ भन्ने कुरा राख्दै गर्दा, आजका दिनमा आएर एकाध ब्यक्तीले कार्यविवरण र TOR  देखाउने, रात दिन,भोक प्यास, अस्वस्थता नभनी कर्तव्यनिष्ठ सेवामा खटिरहदा शनीबार विदा हुन्छ! बिहाना कार्यालय खुल्छ साँझ बन्द हुन्छ भन्ने जस्ता तर्क पढान खोज्नेहरु Nursing पहिलोपटक लेख्न सुरु गर्दा हामी सेवाक्षेत्रमा जोडिसकेका थियौं । त्यसैले समन्वय,सहकार्यता र सहअस्तित्वले सेवाप्रवाहमा सुधार आउछ , घमण्डले होईन । 

सेवाग्राहीका केही सवालमा हाम्रो यथार्थ;

हामिले सिटामोले नपाउने हो भने कर्मचारी किन बसेको? हाम्रो जवाफ- आज सिटामोल सकियो नगरपालिका गएर औंषधी लिन हिडेर जान आउन पर्छ भोली आउनुहोस ! तपाई आत्तिनुहुन्छ, हामी पर्खाईमा छौं प्रत्यक वडा/स्वास्थ्य संस्था सम्म सहजै मोटर गाडी चलोस र ‍औंषधी सकिदा तुरुन्त पुग्न सकोस ।

तपाई रिसाउनुहुन्छ कार्यालय १० मिनेट ढिला पुग्दा, हामी त्यो खहरे खोला उर्लेर आएको कतिखेर कम होला र पार गरौला भनेर ।Untitled-Design-(8)-1792073467.pngतपाई टोलमा भएको स्टेचर खोजेर लिदा ढिला भयो भने आतियर डोकोमा बिरामी बोक्न हतार गर्नुहुन्छ  - हामी पर्खिरहेका छौं प्रत्येक टोलबाट स्वास्थ्य संस्था सम्म बाटो बनोस भनेर  ।  तपाई NS सलाइन लगाउदा अलि छिटो सकिने बनाइदिनुहोस भन्नुहुन्छ - हामी आर्थिक वर्ष नया सुरु हुन्छ, तर तलवको पर्खाईमा हुन्छौ, अघिल्लो वर्षको । 

अन्त्यमा, यो कुनै काल्पानीक कथा वा आर्टिफिसियल रचना होईन । यो मेरो जिवनका १० वर्षहरुले भोगेको यथार्थता हो । अनगिन्ती अभाव, अध्यारो र चुनौतीका बिच दुर्गम मेरो आफ्नै गाँउका नागरिकहरुलाई स्वास्थ्य क्षेत्र मार्फत सेवा दिन पाउनु मेरो सौभाग्य हो । आगामी दिनहरुमा पनी अझैं पारदर्शीता,समर्पण र जनमैत्री भावका साथ स्वास्थ्य सेवामा तल्लीन रहने छु । धन्यवाद।। 

नर्सिङ टिका कुमारी बुढा, छेडागाड नगरपालिका-२, जाजरकोट ।

 

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  १९:५२
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार