अर्थ–राजनीतिको चिरफार गर्ने पुस्तक ‘नवऔपनिवेशिक दलाल पुँजीवाद’

शनिबार, मंसिर १२, २०८३

नेपाली समाज आज इतिहासकै सर्वाधिक जटिल राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक सङ्क्रमणको चौबाटोमा उभिएको छ । राणाशासनको अन्त्यदेखि पञ्चायती निरङ्कुशताको विघटन, जनयुद्ध, दोस्रो जनआन्दोलन र ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’ को स्थापनासम्म आइपुग्दा नेपाली जनताले बलिदानका कैयौँ कीर्तिमान रचे । 

व्यवस्थाका नाम फेरिए, संविधानका पाना फेरिए र शासनसत्ताको कुर्सीमा अनुहारहरू पनि फेरिए । तर, आम श्रमजीवी जनताको दैनिकी, देशको उत्पादन प्रणाली र राष्ट्रिय स्वाधीनताको प्रश्न जहाँको त्यहीँ रह्यो, बरु अझ सङ्कटग्रस्त बन्दै गयो । व्यवस्था परिवर्तनका ठुला–ठुला उथलपुथलपछि पनि किन नेपाली समाज परनिर्भरताको दलदलमा भासिँदै गयो ? प्राकृतिक स्रोतसाधन र उर्वर भूमिले भरिपूर्ण देश किन युवा निर्यात गर्ने र दैनिक उपभोग्य वस्तुसमेत आयात गर्ने अवस्थामा पुग्यो ? राजनीति किन जनसेवाको पवित्र माध्यमबाट स्खलित भएर बिनालगानी अकुत मुनाफा कमाउने व्यापारमा बदलियो ?

समकालीन नेपाली समाजलाई पिरोलिरहेका यिनै गम्भीर यक्षप्रश्नहरूको सैद्धान्तिक, ऐतिहासिक र राजनीतिक–अर्थशास्त्रीय उत्तर खोज्ने दृढ प्रयत्न हो– पूर्णबहादुर सिंह ‘समरजङ्ग’ को नवीनतम कृति ‘नवऔपनिवेशिक दलाल पुँजीवाद’ । यो वैचारिक लेखसङ्ग्रह वर्तमान नेपाली राज्यव्यवस्थाको चरित्र, त्यसभित्र जेलिएका बहुआयामिक अन्तर्विरोध र तिनको क्रान्तिकारी समाधानको प्रस्तावना हो । 

कुनै पनि वैचारिक कृतिको वजन बुझ्न त्यसका स्रष्टाको जीवन–भोगाइ, अध्ययन र सङ्घर्षको पृष्ठभूमि बुझ्नु आवश्यक हुन्छ । जाजरकोटको दुर्गम बस्ती टालेगाउँ–७, तिमिलधारामा जन्मिएका समरजङ्ग करिब तीन दशकदेखि नेपाली कम्युनिस्ट आन्दोलनको अग्रमोर्चामा सक्रिय छन् । 

समरजङ्गका यसअघि नै ‘नेपाली शैक्षिक क्रान्ति र राज्यसत्ता परिवर्तनको प्रश्न’ (२०६५), ‘शैक्षिक आन्दोलन र एकीकृत जनक्रान्ति’ (२०७१), ‘वैज्ञानिक समाजवाद र जनगणतन्त्र कोरिया’ (२०७४) र ‘वैज्ञानिक समाजवादका आधारहरू’ (२०७९) वैचारिक कृति प्रकाशित भइसकेका छन् । ‘नवऔपनिवेशिक दलाल पुँजीवाद’ उनको पछिल्लो पुस्तक हो । 

पुस्तकको केन्द्रीय स्वर

कुल १३ वटा खँदिला अध्यायमा संरचित यस पुस्तकले नेपाली समाजको ऐतिहासिक विकासक्रमदेखि २१औँ शताब्दीको भूमण्डलीकृत सूचना प्रविधि र ‘डाटा पुँजीवाद’ सम्मका आयामलाई समेटेको छ । पुस्तकको विषयसूचीमा क्रमशः ‘नवऔपनिवेशिक दलाल पुँजीवादको सङ्कट र समाधान’, ‘नवऔपनिवेशिक दलाल पुँजीवादको आम चरित्र’, ‘नेपालका समग्र आन्दोलनको सिंहावलोकन’, ‘ऐतिहासिक समाजवाद’, ‘कम्युनिस्ट आन्दोलनमा कार्यदिशाको प्रश्न’, ‘जनवाद–समाजवादको बहस’, ‘नेपाली समाजको विश्लेषण’, ‘नयाँ विचार पाठशाला’, ‘नेपाली जनक्रान्तिको अवधारणा’, ‘नेपाली समाजवादको मार्गचित्र’, ‘शिक्षा र नेपाली जनक्रान्ति’, ‘युवा र नेपाली जनक्रान्ति’ तथा ‘डाटा पुँजीवाद र नेपाली जनक्रान्ति’ शीर्षकका निबन्धहरू सङ्ग्रहीत छन् ।

पुस्तकको भूमिका ‘युगीन अभिभारा पुरा गरौँ’ मार्फत लेखकले आफ्नो सम्पूर्ण लेखनको वैचारिक प्रस्थानबिन्दु स्पष्ट पारेका छन् । द्वन्द्वात्मक आशावादका साथ उनले लेखेका छन्, ‘हरेक समस्याले समाधान जन्माउँछ, चुनौतीले सम्भावनाको ढोका खोल्छ र सङ्कटले परिवर्तनको ज्वाला बाल्छ ।’ 

भूमिकाले नेपालको अर्थतन्त्रको कहालीलाग्दो चित्र प्रस्तुत गरेको छ । विश्व साम्राज्यवादी उदारीकरण, खुलाबजार र निजीकरणको हैकमले राष्ट्रिय अर्थतन्त्र तहसनहस बनाएको निष्कर्ष निकाल्दै लेखकले ‘स्वाधीन राष्ट्र, समृद्ध समाज र समाजवादी भविष्य’ को सपना साकार पार्न ‘नेपाली जनक्रान्ति’ र ‘नेपाली समाजवाद’ को युगीन अभिभारा पुरा गर्न आह्वान गरेका छन् । 

  • नेपाली जनक्रान्तिको अवधारणा

पुस्तकको वैचारिक मेरुदण्डका रूपमा रहेको नवौँ अध्याय ‘नेपाली जनक्रान्तिको अवधारणा’ले समकालीन क्रान्तिकारी आन्दोलनको कार्यदिशाबारे गम्भीर बहस छेड्छ । फ्रेडरिक एङ्गेल्सको प्रसिद्ध कृति ‘लुडविक फायरवाख’ (१८८६) को द्वन्द्वात्मक दर्शनसम्बन्धी उद्धरणबाट सुरु भएको यस अध्यायमा लेखकले माक्र्सवादको उदयपछिका झन्डै दुई शताब्दीमा विश्व पुँजीवाद र विज्ञान–प्रविधिमा आएको युगान्तकारी परिवर्तनको विश्लेषण गरेका छन् ।

लेखकका अनुसार पुँजीवाद आफ्नो उदयकालदेखि सन् १९४५ सम्म संरक्षणवादी (व्यापारिक) पुँजीवाद, प्रतिस्पर्धी (औद्योगिक) पुँजीवाद र एकाधिकार (वित्तीय) पुँजीवादका चरणहरू पार गर्दै दोस्रो विश्वयुद्धपछि भूमण्डलीकृत नवऔपनिवेशिक पुँजीवादका रूपमा विश्वव्यापी बनेको छ । 

आज कम्प्युटर प्रविधि, जेनेटिक प्रविधि, सूक्ष्म यान्त्रिकी, कृत्रिम बौद्धिकता (एआई), विद्युतीय अर्थतन्त्र, अस्थायी र अनिश्चित पेसामा आधारित ‘गिग अर्थतन्त्र’ तथा ‘डाटा पुँजीवाद’ ले पुँजीको निर्माण, सङ्केन्द्रण र श्रम–पुँजीबिचको सम्बन्धलाई आमूल रूपले बदलिदिएको छ ।

यसै विश्लेषणका आधारमा लेखकले अत्यन्त महत्त्वपूर्ण मौलिक सैद्धान्तिक निष्कर्ष निकालेका छन्– इतिहासमा परिभाषित ‘राष्ट्रिय पुँजीपति वर्ग’ को क्रान्तिकारी चरित्र अब समाप्त भइसकेको छ । एकाधिकार पुँजीवादको युगमा साम्राज्यवादबाट उत्पीडित हुने भएकाले राष्ट्रिय पुँजीपति वर्ग केही हदसम्म क्रान्तिकारी हुन्थ्यो । तर आज विज्ञान–प्रविधि र भूमण्डलीकृत वित्तीय पुँजीले सम्पूर्ण पुँजीपतिहरूलाई एकाकार गरिदिएकाले साना तथा राष्ट्रिय भनिने पुँजीपतिहरू पनि बहुराष्ट्रिय निगम र दलाल पुँजीवादकै अभिन्न अङ्गमा समाहित भएका छन् ।

यसका साथै, राजनीतिक परिवर्तनका लागि विगतमा प्रयोग गरिएका तीनवटै परम्परागत विधिहरू– ‘सशस्त्र सङ्घर्ष’, ‘जनआन्दोलन’ र ‘निर्वाचन’ वर्तमान सन्दर्भमा परिणामविहीन देखिएको लेखकको निर्मम मूल्याङ्कन छ । भारतको नक्सलवादी आन्दोलन, पेरुको साइनिङपाथ र स्वयम् नेपालको दशवर्षे जनयुद्धले राज्यसत्ता कब्जाको अन्तिम लक्ष्य हासिल गर्न नसक्नु, ठुला जनसहभागिताका बाबजुद जनआन्दोलनहरू सम्झौतामा टुङ्गिनु र युरोप, भारत, ल्याटिन अमेरिका तथा नेपालमा निर्वाचनको बाटोबाट कम्युनिस्टहरूले आंशिक सुधारबाहेक व्यवस्था परिवर्तन गर्न नसक्नुले नयाँ रणनीतिको माग गरेको उहाँको तर्क छ । 

तसर्थ, पुँजीवादी क्रान्तिका प्रयत्न तथा विभिन्न कम्युनिस्ट घटकहरूबाट भएका नयाँ जनवादी क्रान्तिका प्रयासहरू आंशिक उपलब्धिमै सीमित भएकाले अब नेपालमा पुँजीवादी वा नयाँ जनवादी क्रान्ति नभई सिधै ‘नेपाली समाजवाद’ को लक्ष्यसहितको ‘नेपाली जनक्रान्ति’ नै एकमात्र ऐतिहासिक विकल्प भएको लेखकले ठोकुवा गरेका छन् ।

  • नेपाली क्रान्ति असफल हुनुका कारण

नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७७ वर्ष पुग्दा पनि नेपाली जनक्रान्ति किन विजयको शिखरमा पुग्न सकेन ? के यसको मुख्य दोष विश्व साम्राज्यवाद र भारतीय विस्तारवादलाई मात्र दिएर नेपाली कम्युनिस्टहरू पानीमाथिको ओभानो बन्न मिल्छ ? लेखकले द्वन्द्वात्मक भौतिकवादको नियम– ‘कुनै पनि वस्तुको विकास वा विनाशमा बाह्य पक्ष सहायक र आन्तरिक पक्ष प्रधान हुन्छ’ लागु गर्दै नेपाली कम्युनिस्ट आन्दोलनका आन्तरिक कमजोरीहरूको निर्मम शल्यक्रिया गरिएको छ पुस्तकमा ।

विगतका क्रान्ति असफल हुनुका सातवटा मुख्य आन्तरिक कारणहरुमा उनले मूलतः सिद्धान्त–विचार र व्यवहारबिचको खाडल, व्यक्तिवाद र सङ्गठनात्मक विचलन, विचारधारात्मक पाठशालाको अभाव, सही वर्गविश्लेषणको अभाव, विदेशी मोडेलको अन्धनक्कल, संवेदनशील भूराजनीति र लम्पसारवाद र मामुली सुधार, सम्झौता र विसर्जन भनी ठम्याएका छन् ।

  • शक्ति, सीमा र सान्दर्भिकता

समग्रमा हेर्दा समरजङ्गको ‘नवऔपनिवेशिक दलाल पुँजीवाद’ समकालीन नेपाली राजनीतिक साहित्यमा गम्भीर वैचारिक हस्तक्षेप हो । पुस्तकका सबल पक्षहरूमा पहिलो, यसले परम्परागत ‘अर्धसामन्ती र अर्धऔपनिवेशिक’ विश्लेषणको घेरा तोड्दै वर्तमान नेपाली समाजको चरित्र ‘नवऔपनिवेशिक दलाल पुँजीवादी’ भइसकेको संश्लेषणलाई तार्किक आधार प्रदान गरेको छ । 

दोस्रो, कृत्रिम बौद्धिकता (एआई), गिग अर्थतन्त्र र ‘डाटा पुँजीवाद’ जस्ता २१ औँ शताब्दीका नवीनतम परिघटनाहरूलाई माक्र्सवादी विश्वदृष्टिकोणबाट केलाउने लेखकको प्रयास समसामयिक र प्रशंसनीय छ । 

तेस्रो, कम्युनिस्ट आन्दोलनभित्रको व्यक्तिवाद, सामन्ती नेतृत्व शैली र वैचारिक जडसूत्रवादमाथि लेखकले गरेको आत्मसमीक्षा साहसिक र यथार्थपरक छ । 

चौथो, पुस्तकको भाषाशैली ओजपूर्ण, जुझारु, प्रवाहमय र आम पाठकले सहजै बुझ्न सक्ने सम्प्रेषणपरक छ । यद्यपि, पुस्तकमा सुधारयोग्य पक्ष पनि छन् । दोस्रो संस्करणमा लेखकले त्यसतर्फ ध्यान दिनुपर्ने देखिन्छ । 

  • उपसंहार

निष्कर्षमा, ‘नवऔपनिवेशिक दलाल पुँजीवाद’ केवल एउटा राजनीतिक दलको दस्ताबेज मात्र होइन, बरु समकालीन नेपालको अर्थ–राजनीतिक सङ्कटको जरो पहिल्याउन चाहने हरेक जिज्ञासु पाठकका लागि महत्त्वपूर्ण वैचारिक आँखीझ्याल हो । 

यथास्थितिको दलदलबाट मुक्त भएर स्वाधीन, आत्मनिर्भर र समतामूलक समाज निर्माणको सपना देख्ने राजनीतिकर्मी, अर्थ–राजनीतिका अध्येता, प्राध्यापक, विद्यार्थी तथा प्रगतिशील पाठकहरूका लागि यो कृति अवश्य पठनीय र विमर्शयोग्य छ । अन्त्यमा, वैचारिक लेखक पूर्णबहादुर सिंह ‘समरजङ्ग’लाई ओजपूर्ण कृतिका लागि हार्दिक बधाई ।

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  १६:३९
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार