आरोग्य, जागरण र सहअस्तित्वको त्रिवेणी

शनिबार, कात्तिक २१, २०८३

रोगमुक्त हुनु मात्र आरोग्य होइन । स्वस्थ शरीर, शान्त मन, सन्तुलित भावना, ऊर्जावान् प्राण र जागृत चेतनाको समग्र अवस्था नै वास्तविक आरोग्य हो ।

आज धन्वन्तरि जयन्ती, राष्ट्रिय आरोग्य दिवस र काग तिहारको पावन संगमले हामीलाई जीवनका तीन गहिरा सन्देश दिन्छ—आरोग्य, आत्मजागरण र सम्पूर्ण सृष्टिसंग सहअस्तित्व !

धन्वन्तरि जयन्तीले सम्झाउँछ—अमृत केवल दीर्घायु होइन, स्वस्थ, सन्तुलित र सार्थक जीवन जिउने कला हो । भगवान् धन्वन्तरि आयुर्वेद, उपचार र आरोग्यका परम प्रतीक हुनुहुन्छ ।

राष्ट्रिय आरोग्य दिवसले आह्वान गर्छ—रोग लागेपछि मात्र उपचार गर्ने होइन, रोगको रोकथाम र स्वस्थ जीवनशैलीलाई राष्ट्रिय संस्कार बनाऔँ । योग, ध्यान, आयुर्वेद र आधुनिक विज्ञानको समन्वयबाट समग्र आरोग्यको आधार निर्माण गरौँ ।

काग तिहारले सिकाउँछ—यो पृथ्वी मानिसको मात्र होइन । प्रत्येक प्राणीको जीवन मूल्यवान् छ । कागलाई भोजन अर्पण गर्ने हाम्रो परम्परा प्रकृति र सम्पूर्ण जीवजगत्प्रतिको कृतज्ञता तथा सहअस्तित्वको सुन्दर अभिव्यक्ति हो ।

आफ्नो पीडा बुझ्नु स्वास्थ्यको सुरुवात हो ।

अरूको पीडा बुझ्नु करुणाको सुरुवात हो ।

सम्पूर्ण जीवनमा एकत्व अनुभव गर्नु अध्यात्मको गहिराई हो ।

जीवन विज्ञान : आरोग्यबाट आत्मजागरणतर्फ

जीवन विज्ञानले योग, प्राणायाम, ध्यान र आत्मजागरणलाई एकीकृत गर्दै स्वस्थ शरीर, शान्त मन, प्रेमपूर्ण हृदय र जागृत चेतना निर्माणको अभियान अघि बढाइरहेको छ । स्वजागरण ध्यान, चक्र विज्ञान, बोध विज्ञान, लय विज्ञान तथा कल्याणमित्रहरूको सेवामार्फत आरोग्य र आत्मजागरणको अभ्यासलाई विश्वभरिका व्यक्ति, परिवार र समाजसम्म विस्तार गर्ने हाम्रो प्रयास जारी छ ।

हाम्रो संकल्प छ—रोगमुक्त, तनावमुक्त र अभावमुक्त समाज हुँदै जागृत मानवताको निर्माण ।

आजैदेखि प्रयोग गर्न सकिने सात आरोग्य अभ्यास

१. कृतज्ञता र ध्यान : दिनको सुरुवात कृतज्ञताबाट गरौँ, कम्तीमा १५ मिनेट ध्यान गरौँ ।

२. योग र व्यायाम : शरीरलाई दैनिक रूपमा सक्रिय राखौँ, योगासन र प्राणायाम अभ्यास गरौँ ।

३. सचेत भोजन : स्थानीय, मौसमी, सन्तुलित र पोषणयुक्त भोजन रोजौँ ।

४. गुणस्तरीय निद्रा : पर्याप्त विश्राम र नियमित दिनचर्या अपनाऔँ ।

५. मानसिक सन्तुलन : तनाव व्यवस्थापन गरौँ, सकारात्मक सम्बन्ध र भावनात्मक स्वास्थ्यमा ध्यान दिऔँ ।

६. रोकथाम र उपचार : नियमित स्वास्थ्य परीक्षण गरौँ, आवश्यकताअनुसार वैज्ञानिक चिकित्सा र आयुर्वेदको सुरक्षित सदुपयोग गरौँ ।

७. प्रेम र करुणा : परिवारमा प्रेम, समाजमा सेवा, प्राणीप्रति दया र प्रकृतिप्रति जिम्मेवारी बढाऔँ ।

अब आरोग्यलाई नेपालको राष्ट्रिय संकल्प बनाऔँ ! अस्वस्थ नागरिकबाट स्वस्थ राष्ट्र बन्दैन । तनावग्रस्त समाजबाट समृद्ध सभ्यता निर्माण हुँदैन ।

अब नेपालले उपचारकेन्द्रित सोचबाट अघि बढेर रोकथाम, स्वस्थ जीवनशैली, मानसिक सन्तुलन र समग्र आरोग्यलाई राष्ट्रिय विकासको मूलधारमा ल्याउनुपर्छ ।

यसका लागि सरकार, स्थानीय तह, शैक्षिक संस्था, स्वास्थ्य क्षेत्र, निजी क्षेत्र र नागरिक समाजलाई स्पष्ट आह्वान छ—

हरेक विद्यालयमा योग, ध्यान र आरोग्य शिक्षालाई पाठ्यक्रममा समावेश गरी दैनिक अभ्यास बनाऔँ ।

हरेक स्थानीय तहमा सामुदायिक आरोग्य केन्द्र र नियमित स्वास्थ्य जागरण कार्यक्रम विस्तार गरौँ ।

हरेक कार्यस्थलमा शारीरिक तथा मानसिक स्वास्थ्यलाई संस्थागत प्राथमिकता दिऔँ ।

हरेक परिवारमा पोषण, व्यायाम, ध्यान, निद्रा र करुणालाई जीवनसंस्कार बनाऔँ ।

राष्ट्रिय आरोग्य दिवसलाई वर्षभरि चल्ने अभियानमा रूपान्तरण गरौँ ।

नेपाल आरोग्य वर्ष २०२७ को राष्ट्रिय संकल्पलाई अझ विस्तारित गरौं । यसको स्पष्ट लक्ष्य, कार्ययोजना, बजेट, साझेदारी र मापनयोग्य उपलब्धि निर्धारण गरौँ ।

नेपालसँग हिमालयको प्राकृतिक सम्पदा मात्र होइन, योग, ध्यान, आयुर्वेद र आत्मजागरणको अद्वितीय ज्ञानपरम्परा पनि छ । यसलाई आधुनिक विज्ञान, अनुसन्धान र गुणस्तरीय स्वास्थ्यसेवासँग जोडेर नेपाललाई विश्व आरोग्य, ध्यान र चेतना विकासको अग्रणी गन्तव्य बनाऔँ ।

अब हाम्रो राष्ट्रिय प्रगति केवल सडक, भवन र आर्थिक वृद्धिले होइन—नागरिकको स्वास्थ्य, मानसिक शान्ति, जीवनको गुणस्तर र सामाजिक करुणाले पनि मापन गरिनुपर्छ ।

आजको संकल्प:

शरीरमा स्वास्थ्य,मनमा शान्ति, बुद्धिमा विवेक, हृदयमा करुणा,चेतनामा जागरण । आजै एउटा अस्वस्थ बानी त्यागौँ, एउटा स्वस्थ अभ्यास सुरु गरौँ र कम्तीमा एक जनालाई आरोग्यको यात्रामा जोडौँ ।

आरोग्यलाई शुभकामनामा होइन, जीवनशैलीमा उतारौँ । करुणालाई भावनामा होइन, व्यवहारमा उतारौँ । आत्मजागरणलाई दर्शनमा होइन, दैनिक साधनामा उतारौँ ।

स्वस्थ व्यक्ति, सुखी परिवार, जागृत समाज र आरोग्यवान् नेपाल—यही हाम्रो साझा संकल्प बनोस् ! सर्वे भवन्तु सुखिनः । सर्वे सन्तु निरामयाः ।

धन्वन्तरि जयन्ती, राष्ट्रिय आरोग्य दिवस तथा काग तिहारको हार्दिक मंगलमय शुभकामना !

प्रकाशित मिति: शनिबार, कात्तिक २१, २०८३  १७:५०
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार