कुशे ८ को ठाटिचौर-B सोलार मिनिग्रिड सञ्चालनमा, गाउँ उज्यालो

शुक्रबार, कात्तिक २०, २०८३

जाजरकोट । कुशे गाउँपालिका वडा नं. ८ मा निर्माण गरिएको ८५ किलोवाट क्षमताको ठाटिचौर-B सोलार मिनिग्रिड आयोजना सञ्चालनमा आएको छ। यसले स्थानीयवासीको लामो समयदेखिको उज्यालोको चाहना पूरा गर्दै गाउँमा विकासको नयाँ ढोका खोलेको छ।

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र र गाउँपालिकाबीच मिति २०८०।०६।०२ मा भएको सम्झौता अनुसार आयोजना कार्यान्वयन गरिएको हो। सम्झौताअनुसार लागत साझेदारीमा केन्द्रले ९० प्रतिशत र गाउँपालिकाले १० प्रतिशत रकम व्यहोर्ने सहमति भएको थियो।

गाउँपालिकाले आफ्नो हिस्साको पहिलो किस्ताका रूपमा रु. २० लाख (बीस लाख) प्रमुख प्रशासकीय अधिकृतको हाजिरी हुनासाथ जम्मा गर्ने जनाएको छ। बाँकी रकम आगामी गाउँसभाबाट विनियोजन गरी केन्द्रको नवीकरणीय उर्जा कोषमा जम्मा गरिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।

यसैबीच गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र, ताहाचल, काठमाडौंलाई पत्र पठाउँदै लागत साझेदारीको रकम जम्मा गर्ने प्रतिबद्धतासहित बत्ती निरन्तर सुचारु गरिदिन अनुरोध गरेपछि बत्ति बलेको हो। पत्रको बोधार्थ आयोजना निर्माणकर्ता सनशाइन-पिक पावर (जाजरकोट) जेभी, लाजिम्पाट, काठमाडौंलाई पनि दिइएको छ।

आयोजना सञ्चालनका लागि समन्वय गर्ने गाउँपालिका अध्यक्ष बस्नेत लगायत सहयोग गर्ने सबै प्रति स्थानीयवासीले धन्यवाद व्यक्त गरेका छन्।

"आउँदा दिनमा निरन्तर बत्ती बल्ने गरी कुनै पनि समस्या आउन नदिन सम्बन्धित निकायले समयमै समाधान गरिदिनुपर्छ" भन्ने स्थानीयवासीको आग्रह छ। गाउँमा पहिलो पटक भरपर्दो बिजुली पुगेपछि बालबालिकाको पढाइ, स्वास्थ्य सेवा, साना उद्योग र दैनिक जीवनमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ।

गाउँपालिकाले "सुन्दर समृद्ध गाउँ, विकासका पूर्वाधार निर्माण अभियान" को नारालाई साकार पार्दै पूर्वाधार विकासमा थप पहल गर्ने जनाएको छ।kkkk-1793956042.jpg

प्रकाशित मिति: शुक्रबार, कात्तिक २०, २०८३  १५:००
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार