सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जाजरकोट l नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट बलिङ प्रदर्शन गर्दै जाजरकोटको पहिचान राष्ट्रियस्तरमा चिनाउन सफल क्रिकेटर युनिश विक्रम सिंहलाई कुशे गाउँपालिकाले नगद ७५ हजार रुपैयाँसहित सम्मान गर्ने घोषणा गरेको छ।
कर्णाली याक्सबाट प्रतियोगितामा सहभागी युनिशले महत्त्वपूर्ण खेलमा उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएर टोलीको जितमा महत्त्वपूर्ण योगदान दिएका थिए। उनको प्रभावशाली प्रदर्शनले जाजरकोट मात्र नभई समग्र पश्चिम नेपालका खेलप्रेमीहरूमा समेत खुसी र उत्साह थपेको छ।
जाजरकोटको छेडागाड नगरपालिका–१२ निवासी युनिशको सफलतालाई जिल्लाका युवामा रहेको खेल प्रतिभा, मेहनत र सम्भावनाको उदाहरणका रूपमा लिइएको छ। सीमित अवसर र स्रोतसाधनका बाबजुद राष्ट्रियस्तरको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सफल युनिशले जिल्लाको गौरव बढाएको भन्दै उनको प्रशंसा भइरहेको छ।
कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले युनिशको प्रदर्शनप्रति खुसी व्यक्त गर्दै उनी सिङ्गो जाजरकोटको गौरव भएको बताएका छन्।
अध्यक्ष बस्नेतले आफू पालिका अध्यक्षको हैसियतले मात्र नभई एक जाजरकोटवासी र युवाको नाताले पनि युनिशका हरेक प्रयास र सफलतामा सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले आगामी खेलहरूमा समेत युनिशले अझ उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट जगतमा जाजरकोटको पहिचान स्थापित गर्न सफलताको शुभकामना दिएका छन्।
कुशे गाउँपालिकाको यो घोषणाले खेलकुद क्षेत्रमा लागेका जिल्लाका अन्य युवालाई समेत प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ। प्रतिभाशाली खेलाडीको सम्मान र प्रोत्साहनले स्थानीयस्तरमा खेलकुद विकास तथा नयाँ प्रतिभा उत्पादनमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।