सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्रीको यस्तो निर्देशन

बिहीबार, कात्तिक १९, २०८३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नागरिकको जीउधनको सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन र अपराध नियन्त्रणमा शून्य सहनशीलताको नीति अपनाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

बिहीबार सिंहदरबारमा मुलुकको पछिल्लो शान्ति–सुरक्षाको अवस्थाबारे सुरक्षा निकायका प्रमुखहरूसँग ब्रिफिङ लिएपछि प्रधानमन्त्री शाहले यस्तो निर्देशन दिएका हुन् ।

सो क्रममा उनले शान्ति–सुरक्षाको व्यवस्थालाई थप चुस्त–दुरुस्त बनाउन सम्बन्धित निकायका प्रमुखहरूलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

यस्तै, देशको सुरक्षालाई थप सुदृढ पार्न नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको आपसी समन्वय, सूचना आदानप्रदान र सहकार्यलाई अझ प्रभावकारी बनाउन पनि प्रधानमन्त्री शाहलले निर्देशन दिए ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको प्रधानमन्त्री शाहसँगको भेटमा प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेल रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रधानमन्त्री शाहले सुरक्षा प्रमुखहरूसँग चाडपर्वमा नागरिकको सुरक्षा तथा समग्र शान्ति–सुरक्षाको व्यवस्थापनबारे ब्रिफिङ लिएका हुन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक १९, २०८३  १५:४७
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार