प्रचण्डको दाबी: स्थानीय चुनावमा प्रतिनिधिसभाजस्तो हुरीबतास चल्दैन !

मंगलबार, मंसिर ८, २०८३

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको निर्वाचनमा संघीय निर्वाचनको जस्तो हुरी बतास सम्भव नरहेको बताएका छन् ।

मंगलबार तनहुँमा आयोजित पार्टी जागरण अभियानअन्तर्गत प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । स्थानीय तहमा प्रतिनिधि सभाको जस्तो हुरीबतास आउन सम्भव नरहेको जिकिर उनको थियो ।

‘स्थानीय तहमा पहिलाको जस्तो हुरी बतास आउन सम्भव छैन । स्थानीय तहमा संघको जस्तो जसलाई हाले पनि हुने भनेर हुँदैन । सबैलाई थाहा हुन्छ, आफ्ना आफन्त, नातागोता कोको छन् । अब हामीले नै जस्तो हुन्छ, हुन्छ भनेर छोडिदियौं भने र हामी त हार्नेवाला नै हो भनेर हिंड्यो भने त एउटा कुरा हो,’ उनले भने ।

साथै, प्रचण्डले नयाँ राजनीतिक दलले गरेका कामहरु आम नागरिकले विस्तारै बुझ्दै गएको पनि बताए । स्थानीय तहको निर्वाचनमा इतिहास र पृष्ठभूमि र काम हेरेर जनताले मतदान गर्ने भएकाले सबैले सक्रियताका साथ काममा लाग्नुपर्ने बताए । स्थानीय तहमा राम्रो परिणाम ल्याउनसके देश पुन: क्रान्तिको दिशामा अघि बढ्ने जिकिर समेत गरे ।

‘हामीले कसिएर स्थानीय तहको चुनाव जित्ने हो भनेर लाग्ने हो भने संघको जस्तो हुँदैन । इतिहास र पृष्ठभूमि थाहा नभइ भोट हाल्दैनन् । नयाँको काम बुझ्नेले त बुझिसकेका छन् । गाउँघरमा बुझाउन बाँकी छ,’ उनले भने, ‘विस्तारै बुझ्छन्, सबैले । स्थानीय तहमा राम्रो परिणाम निकाल्यौं भने क्रान्तितिर देश फेरि जान्छ । यो कुरालाई तपाईं हामीले जति गहिरो गरी बुझ्छौं, त्यति जोश आउनेछ ।’

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  १७:४१
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार