कांग्रेस संगठन बलियो बनाउन युवा नेता बस्नेतको जोड, छेडागाड नगर समितिको पहिलो बैठक सम्पन्न

मंगलबार, मंसिर ८, २०८३

जाजरकोट। नेपाली कांग्रेस छेडागाड नगरकार्य समितिको प्रथम बैठक सम्पन्न भएको छ। बैठकमा प्रमुख अतिथिका रूपमा सहभागी कुशे गाउँपालिका अध्यक्ष तथा नेपाली कांग्रेस जाजरकोटका युवा नेता हरिचन्द्र बस्नेतले पार्टी संगठनलाई थप सुदृढ, एकताबद्ध, अनुशासित र जनमुखी बनाउनु पर्नेमा जोड दिएका छन्।

नगरकार्य समितिका सभापतिको अध्यक्षतामा सम्पन्न बैठकमा विशेष अतिथि, अतिथि, नगरकार्य समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू र वडा नम्बर १ देखि १३ सम्मका वडा सभापतिहरूको उपस्थिति रहेको बस्नेतले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

बैठकमा पार्टी संगठनलाई थप व्यवस्थित र बलियो बनाउने विषयमा महत्वपूर्ण छलफल भएको थियो। बदलिँदो राजनीतिक परिस्थिति तथा आगामी राजनीतिक यात्रालाई मध्यनजर गर्दै नयाँ सोच, नयाँ ऊर्जा र साझा संकल्पका साथ अगाडि बढ्नुपर्ने विषयमा सहभागीहरूले जोड दिएका थिए।

बैठकमा आफ्नो धारणा राख्दै बस्नेतले पार्टीको वास्तविक शक्ति पद र प्रतिष्ठामा नभई संगठनको मजबुती, कार्यकर्ताको सम्मान, युवाको सक्रिय सहभागिता र आम नागरिकको विश्वासमा निहित हुने बताएका छन्।

उनले पार्टीभित्र आपसी एकता, सहकार्य, समन्वय र जिम्मेवारीबोधलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याएका छन्। पार्टीलाई जनताको भरोसाको संस्था बनाउन व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठन र जनताको हितलाई केन्द्रमा राख्नुपर्ने उनको भनाइ छ।

त्यस्तै, विचारमा स्पष्टता, व्यवहारमा इमानदारी र काममा एकरूपता कायम गर्न सके मात्रै पार्टीप्रतिको जनविश्वास थप मजबुत हुने धारणा पनि उनले व्यक्त गरेका छन्।

बस्नेतले बैठकमा प्रमुख अतिथिका रूपमा आमन्त्रण गरी आफ्ना विचार, अनुभव तथा सुझाव राख्ने अवसर प्रदान गरेकोमा नगरकार्य समितिका सभापति, सम्पूर्ण पदाधिकारी, सदस्य तथा उपस्थित वडा सभापतिहरूप्रति धन्यवाद व्यक्त गरेका छन्।

बैठकको निष्कर्षका रूपमा बलियो संगठन, एकताबद्ध कांग्रेस र जनताको भरोसाको कांग्रेस निर्माण गर्ने साझा संकल्प अघि सारिएको बस्नेतले उल्लेख गरेका छन्।

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  १७:३५
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार