जाजरकोटमा १६ विधाका विशेषज्ञ चिकित्सकबाट निःशुल्क स्वास्थ्य परीक्षण, रेफर भएका बिरामीको अपरेसनसमेत निःशुल्क हुने

शनिबार, मंसिर ५, २०८३

जाजरकोट । जिल्लाका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा ल्याउने उद्देश्यले जाजरकोटमा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।

काठमाडौं मेडिकल कलेजको आयोजना तथा भेरी नगरपालिका, छेडागाड नगरपालिका र कुशे गाउँपालिकाको सह–आयोजनामा आगामी २०८३ मंसिर ९ गते शिविर सञ्चालन हुन लागेको हो। जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटमा बिहान ८ बजेदेखि सुरु हुने शिविरमा विभिन्न विधाका विशेषज्ञ तथा कन्सल्टेन्ट चिकित्सकहरूले बिरामीको स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक रेफर सेवा प्रदान गर्नेछन्।

शिविरमा जनरल मेडिकल, स्त्री तथा प्रसूति रोग, बालरोग, शल्यक्रिया, मानसिक तथा नसारोग, हाडजोर्नी तथा नशा रोग, छाला रोग, नाक, कान तथा घाँटी रोग, आँखा रोग र दन्त रोगसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध हुने जनाइएको छ।

त्यसैगरी न्युरो तथा न्युरो मेडिसिन, न्युरो सेवा र मुटुरोगसम्बन्धी सेवा पनि शिविरमा उपलब्ध हुनेछ। बिरामीको आवश्यकताअनुसार ईसीजी, भिडियो एक्सरे तथा प्याथोलोजी सेवा पनि निःशुल्क प्रदान गरिने जानकारी दिइएको छ।

यस शिविरको महत्वपूर्ण पक्षका रूपमा शिविरमा रोग पहिचान भई थप उपचारका लागि काठमाडौं मेडिकल कलेजमा रेफर गरिएका सबै बिरामीको थप उपचार तथा सबै प्रकारका अपरेसन निःशुल्क गरिने जनाइएको छ। यद्यपि, थप उपचार तथा अपरेसनका क्रममा आवश्यक पर्ने औषधिको खर्च भने बिरामी स्वयंले व्यहोर्नुपर्नेछ।

विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका तथा विभिन्न स्वास्थ्य समस्या भएर पनि आर्थिक वा अन्य कारणले उपचार गराउन नसकेका जिल्लावासीलाई लक्षित गरी शिविर सञ्चालन गर्न लागिएको कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।

आयोजक तथा सह–आयोजकले जिल्लाका सम्पूर्ण आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई शिविरमा उपस्थित भई उपलब्ध सेवाको लाभ लिन आग्रह गरेका छन्।

त्यस्तै, शिविरसम्बन्धी जानकारी जिल्लाका सबै नागरिकसम्म पुर्‍याउन स्थानीय सञ्चारकर्मीहरूलाई समेत सूचना व्यापक रूपमा प्रचारप्रसार गरिदिन अनुरोध गरिएको छ।

जिल्लामै विभिन्न विधाका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्श पाउने र आवश्यकताअनुसार थप उपचारका लागि काठमाडौं मेडिकल कलेजमा रेफर हुने व्यवस्था भएकाले स्वास्थ्य समस्या भएका नागरिकका लागि यो महत्वपूर्ण अवसर बन्न सक्ने देखिन्छ।

प्रकाशित मिति: शनिबार, मंसिर ५, २०८३  १०:३१
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार