म्यान्मारमा विद्रोही नियन्त्रित क्षेत्रमा सेनाको हवाई हमला, ४९ जनाको मृत्यु

मंगलबार, असोज १३, २०८३

बैंकक । म्यान्मारको पश्चिमी रखाइन राज्यमा सेनाले विद्रोही समूह अराकान आर्मीको नियन्त्रणमा रहेको क्षेत्रमा हवाई हमला गर्दा कम्तीमा ४९ जनाको मृत्यु भएको छ । घटनामा ५८ जना घाइते भएका छन् ।

अराकान आर्मी र उद्धार कार्यमा संलग्न एक अधिकारीका अनुसार सोमबार क्याउक्ताव टाउनसिपको स्थानीय बजारनजिक एक लडाकु विमानले दुईवटा बम खसालेको थियो । मृतकमा बजारका व्यापारी, सामान किन्न आएका ग्राहक तथा बाटो हिँडिरहेका सर्वसाधारण रहेको बताइएको छ । घाइतेमध्ये २२ जनाको अवस्था गम्भीर रहेको अराकान आर्मीले जनाएको छ ।

रखाइनमा उद्धार कार्यमा संलग्न वरिष्ठ अधिकारी वाई हुन आङले घटनास्थलमा रहेका उद्धारकर्मीबाट प्राप्त विवरणका आधारमा हताहतको संख्या पुष्टि गरेको एसोसिएटेड प्रेसले जनाएको छ । उनका अनुसार उक्त बजार राज्यकै प्रमुख थोक व्यापार केन्द्रमध्ये एक थियो, जहाँ विभिन्न क्षेत्रबाट व्यापारी तथा ग्राहक आउने गरेका थिए ।

अराकान आर्मीले घटनालाई आफूहरूको नियन्त्रणमा रहेको क्षेत्रमा भएको गम्भीर हवाई हमला भन्दै जिम्मेवार पक्ष र संस्थाविरुद्ध प्रभावकारी जवाफी कारबाही गर्ने चेतावनी दिएको छ ।

सेनाले तत्काल प्रतिक्रिया दिएन

हमलापछि सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा केही भवनमा आगो लागेको, सवारीसाधन क्षतिग्रस्त भएको र नजिकैको पुलको केही भाग भत्किएको देखिएको बताइएको छ । घटनाबारे म्यान्मारको सेनाले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

सेनाले यसअघि भने आफूले वैध सैन्य संरचनालाई मात्र निशाना बनाउने दाबी गर्दै आएको छ । उसले विद्रोही समूहहरूलाई आतंकवादी गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै आएको छ ।

क्याउक्ताव म्यान्मारको दोस्रो ठूलो सहर माण्डलेबाट करिब ३४० किलोमिटर पश्चिममा पर्छ । उक्त क्षेत्र अहिले अराकान आर्मीको नियन्त्रणमा रहेको बताइएको छ । घटनाको विवरणलाई स्वतन्त्र रूपमा पुष्टि गर्न भने कठिन रहेको समाचारमा उल्लेख छ ।

गृहयुद्धमा हवाई हमलाको सिलसिला

म्यान्मारमा सन् २०२१ फेब्रुअरी १ मा सेनाले आङ सान सुकी नेतृत्वको निर्वाचित सरकारबाट सत्ता कब्जा गरेपछि देशमा सशस्त्र द्वन्द्व चर्किएको हो । सैन्य शासनविरुद्धको आन्दोलनमाथि सुरक्षा बलले बल प्रयोग गरेपछि लोकतन्त्र समर्थक समूहका केही सदस्यले समेत हतियार उठाएका थिए । त्यसपछि देशका विभिन्न क्षेत्रमा सेना, लोकतन्त्र समर्थक विद्रोही समूह र जातीय सशस्त्र संगठनबीच संघर्ष जारी छ ।

रखाइन राज्यमा अराकान आर्मीले सन् २०२३ नोभेम्बरदेखि सैन्य अभियान तीव्र बनाएको छ । समूहले रणनीतिक रूपमा महत्वपूर्ण सैन्य आधार तथा राज्यका १७ मध्ये १४ वटा टाउनसिपमा नियन्त्रण कायम गरेको दाबी गरिएको छ ।

लडाइँ चर्किएसँगै सेनाले व्यापारिक मार्गमा कडा प्रतिबन्ध लगाएपछि रखाइनमा खाद्यान्न अभावसमेत बढेको बताइएको छ । यसअघि रखाइनको म्राउक–यू टाउनसिपस्थित एक अस्पतालमा भएको सैन्य हवाई हमलामा कम्तीमा ३४ जनाको मृत्यु र ८० जना घाइते भएको विवरण सार्वजनिक भएको थियो । एजेन्सी

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  ०८:५७
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार