अन्तरिक्षमा हतियार तैनाथ गरेको अमेरिकाद्वारा पहिलोपटक पुष्टि

मंगलबार, भदौ ३०, २०८३

वासिङ्टन डीसी। अमेरिकाले पृथ्वीको कक्षमा अन्तरिक्ष हतियार तैनाथ गरेको स्वीकार गरेको छ। आक्रामक क्षमता भएको हतियार तैनाथ गरेको कुरा अमेरिकाले पहिलोपटक पुष्टि गरेको हो।

अमेरिकी सेनालाई शत्रु पक्षको सम्भावित आक्रमणबाट जोगाउन कक्षमा तैनाथ हतियार आवश्यक रहेको अमेरिकी वायुसेनाका सचिव ट्रोय मेइन्कले बताएका छन्। एयर, स्पेस एन्ड साइबर सम्मेलनमा बोल्दै उनले बदलिँदै गइरहेका खतराहरूका लागि पूर्वतयारीस्वरूप यस्तो कदम चालिएको स्पष्ट पारे। हतियारको क्षमता कस्तो छ वा त्यसलाई कहिले पठाइएको थियो भन्नेबारे भने उनले खुलाएनन्।

अमेरिकी सैन्य नेतृत्वले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढाउने योजना रहेको बताउँदै आएको थियो। भविष्यमा हुने सम्भावित द्वन्द्वका क्रममा अमेरिकी भू–उपग्रहलाई आक्रमण गर्न वा तिनको काममा अवरोध पुऱ्याउन सक्ने क्षमता रुस र चीनले विकास गरिरहेको उनीहरूको दाबी छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अन्तरिक्षमा आधारित क्षमता तथा इन्टरसेप्टर क्षेप्यास्त्रलाई प्रस्तावित ‘गोल्डेन डोम’ रक्षा प्रणालीको महत्त्वपूर्ण हिस्सा बताउँदै आएको छ।

सन् १९६७ को अन्तर्राष्ट्रिय सन्धिले अन्तरिक्षको कक्षमा आम विनाशका हतियार तैनाथ गर्न प्रतिबन्ध लगाएको थियो। त्यसयता प्रमुख शक्तिहरूले सन्धिले नसमेटेका अन्य प्रकारका सैन्य क्षमता विकास गर्दै आएका छन्। यसमा प्रतिद्वन्द्वीका भू–उपग्रहलाई लक्षित गर्ने क्षमता पनि पर्छ। सैन्य सञ्चार, निगरानी तथा नेभिगेसनका लागि भू–उपग्रहहरू महत्त्वपूर्ण मानिन्छन्।

राष्ट्रपति ट्रम्पले जारी गरेको कार्यकारी आदेशमा स्पेस फोर्सको भूमिका अन्तरिक्षमा रहेका अमेरिकी सम्पत्तिको रक्षा गर्ने मात्र नभई आवश्यक परे आक्रमण गर्ने क्षमताका रूपमा जोड दिइएको छ। सन् २०१९ मा स्थापित अमेरिकी स्पेस फोर्सको मुख्य उद्देश्य सञ्चार तथा निगरानीका लागि प्रयोग हुने सयौँ भू–उपग्रहसहितका सम्पत्तिको सुरक्षा गर्नु हो।

स्पेस कन्ट्रोल भन्नाले अन्तरिक्षमा प्रतिद्वन्द्वीको क्षमतासँग प्रतिस्पर्धा गर्ने र नियन्त्रण गर्ने सैन्य अभियान रहेको स्पेस फोर्सका प्रवक्ताले बताएका छन्। उनले भने, ‘आवश्यक परे प्रतिद्वन्द्वीको क्षमतालाई अवरोध गर्ने, कमजोर बनाउने र नष्ट गर्ने गरी भौतिक तथा गैर–भौतिक उपाय प्रयोग गर्न सकिन्छ।’ यी क्षमताहरूलाई रक्षात्मक तथा आक्रामक दुवै उद्देश्यका लागि प्रयोग गर्न सकिने उनले बताएका छन्।

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता दुईवटा रुसी भू–उपग्रहले युरोपेली भू–उपग्रहको सञ्चार अवरोध गरेको सम्भावना देखिएको थियो। यस्ता अवरोधका कारण रुसी गुप्तचर निकायले संवेदनशील सूचना पढ्न पाएको वा ती भू–उपग्रहलाई नियन्त्रणमा लिन सक्ने सम्भावना रहेको बताइएको थियो। सन् २०२४ मा अमेरिकाले रुसले अन्य भू–उपग्रहलाई आक्रमण गर्न सक्ने भू–उपग्रह प्रक्षेपण गरेको बताएको थियो। रुसले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन। एजेन्सी

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  १३:४७
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार