नेकपा एमालेको राजनीतिमा कौशिलावती खत्रीको योगदान र संघर्षको यात्रा

कौशिलावती खत्री र खिमबहादुर शाही : जाजरकोटको राजनीतिमा लामो राजनीतिक यात्राका दुई पात्र !
बिहीबार, असोज २२, २०८३

जाजरकोट l जाजरकोटको राजनीतिक तथा सामाजिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका कौशिलावती खत्री र खिमबहादुर शाहीको राजनीतिक यात्रा संगठन, पार्टी निर्माण, सामाजिक सेवा र जनप्रतिनिधित्वसँग जोडिएको छ।Screenshot-2026-10-08-094751-1791432183.png
दुवैले लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय रहँदै पार्टी संगठनलाई स्थानीय तहदेखि प्रदेश तहसम्म मजबुत बनाउन भूमिका निर्वाह गरेका छन्।

कौशिलावती खत्रीको राजनीतिक यात्रा

कौशिलावती खत्रीको जन्म २०३० साल माघ २१ गते जाजरकोटमा भएको हो। उहाँको जन्मस्थान साविक झाप्रा गाविस वडा नं. १, फुम्ना हो। हाल उहाँको स्थायी ठेगाना छेडागाड नगरपालिका–५, वडावन, जाजरकोट तथा अस्थायी ठेगाना भेरी नगरपालिका–४, जाजरकोट रहेको छ।
शैक्षिक रूपमा वि.एड. अध्ययन गर्नुभएकी खत्रीले विद्यार्थी जीवनदेखि नै राजनीतिक गतिविधिमा सहभागिता जनाउनुभएको थियो। उहाँले २०४६ सालमा कक्षा १० मा अध्ययनरत रहँदा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को सदस्यता प्राप्त गर्नुभएको थियो। २०४७ सालमा श्री जनप्रिय माध्यमिक विद्यालय दशेराको प्रा.क. सदस्य बन्नुभयो।Screenshot-2026-10-08-094841-1791432238.png
त्यसपछि उहाँको राजनीतिक यात्रा नेकपा एमालेसँग जोडियो। २०४८ सालमा नेकपा एमालेको साधारण सदस्यता प्राप्त गर्नुभएकी खत्री २०४९ सालमा एमाले इलाका नं. ८ इलाका कमिटी सदस्य बन्नुभयो। २०५१ सालमा अखिल नेपाल महिला संघको जिल्ला समितिको सदस्यको जिम्मेवारी सम्हाल्नुभयो।

२०५५ देखि २०५७ सालसम्म उहाँ अखिल नेपाल महिला संघ जाजरकोट जिल्ला समितिको उपाध्यक्ष रहनुभयो। २०६२ सालमा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट नेकपा एमाले जाजरकोट जिल्ला कमिटी सदस्य निर्वाचित हुनुभयो। चौथो र पाँचौँ जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारी प्राप्त गर्नुभयो।

खत्रीले पार्टीको भूगोलबाट राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य तथा भेरी अञ्चल कमिटी सदस्यका रूपमा समेत काम गर्नुभयो। उहाँ २०६८ देखि २०७० सम्म उक्त जिम्मेवारीमा रहनुभएको थियो। २०७१ सालमा सम्पन्न नेकपा एमालेको नवौँ राष्ट्रिय महाधिवेशनमा महाधिवेशन प्रतिनिधिका रूपमा सहभागी हुनुभयो।

राज्यको पुनर्संरचनापछि २०७३ सालमा गठन भएको नेकपा एमाले कर्णाली प्रदेश कमिटीको सदस्य बन्नुभएकी खत्री नेकपा एमाले र माओवादी केन्द्रबीचको एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेश कमिटी सदस्य पनि बन्नुभयो। २०७६ सालमा उक्त जिम्मेवारी सम्हाल्नुभएकी उहाँ २०७७ सालमा नेकपा एमालेको संक्रमणकालीन अवस्थामा घोषित केन्द्रीय कमिटीको सदस्यसमेत बन्नुभयो।

पार्टीको प्रथम विधान महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी हुनुभएकी खत्री २०७४ देखि २०७९ सम्म कर्णाली प्रदेश सभाको सदस्यसमेत रहनुभयो। हाल उहाँ नेकपा एमाले कर्णाली प्रदेश कमिटीको उपसचिव तथा अखिल नेपाल महिला संघको केन्द्रीय कमिटी स्थायी कमिटी सदस्यका रूपमा सक्रिय हुनुहुन्छ।

उहाँ नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन तथा ११औँ राष्ट्रिय महाधिवेशनमा समेत प्रतिनिधिका रूपमा सहभागी हुनुभएको छ।

शिक्षण तथा सामाजिक क्षेत्रमा पनि सक्रिय

कौशिलावती खत्रीको सार्वजनिक जीवन राजनीतिक क्षेत्रमा मात्र सीमित छैन। उहाँले २०४९ सालदेखि २०७३ साल चैतसम्म स्थायी प्राथमिक तहको शिक्षण पेशामा रहेर सेवा गर्नुभयो। शिक्षा क्षेत्रमा सक्रिय रहँदा एक कार्यकाल जिल्ला शिक्षा समिति जाजरकोटको सदस्यका रूपमा पनि काम गर्नुभयो।Screenshot-2026-10-08-094934-1791432297.pngत्यस्तै, २०६५ देखि २०७० सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठन जाजरकोट जिल्ला समितिको उपाध्यक्षको जिम्मेवारी सम्हाल्नुभयो।

करिब ३७ वर्षदेखि निरन्तर पार्टी संगठनमा सक्रिय रहँदै आउनुभएकी खत्रीले पार्टीको सिद्धान्त, विचार र कार्यक्रमप्रति निष्ठापूर्वक काम गर्दै आएको बताउँदै आगामी दिनमा पनि निःस्वार्थ रूपमा पार्टी काममा निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

खिमबहादुर शाहीको राजनीतिक पृष्ठभूमि

कौशिलावती खत्रीका श्रीमान् खिमबहादुर शाही पनि जाजरकोटको वामपन्थी राजनीतिमा लामो समयदेखि सक्रिय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ।

शाही २०४७ सालमा जाजरकोटमा नेकपा मालेको संस्थापक जिल्ला संगठन कमिटीको सदस्य बन्नुभएको थियो। त्यसबेला जिल्लामा पार्टी संगठन विस्तार तथा राजनीतिक गतिविधिलाई अघि बढाउने क्रममा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

२०४९ सालमा उहाँ नेकपा मालेको जिल्ला सचिव बन्नुभयो। त्यस समय जिल्ला पार्टी संरचनामा सचिव पद नै प्रमुख जिम्मेवारीका रूपमा रहेको थियो। त्यसैले उहाँको उक्त जिम्मेवारीलाई जिल्लामा पार्टी संगठन निर्माणको प्रारम्भिक चरणको महत्वपूर्ण भूमिकाका रूपमा लिइन्छ।

द्वन्द्वकाल तथा त्यसपछिको केही समय शाही सामाजिक क्षेत्रमा समेत सक्रिय रहनुभयो। राजनीतिक गतिविधिसँगै सामाजिक क्षेत्रमा समेत संलग्न हुँदै उहाँले स्थानीय समुदायसँग निरन्तर सम्पर्क र सहकार्य गर्दै आउनुभएको छ।

२०७८ सालमा उहाँ एक कार्यकाल नेकपा एमाले जाजरकोट जिल्ला कमिटीको अध्यक्ष बन्नुभयो। जिल्ला कमिटीको नेतृत्व सम्हाल्दै पार्टी संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउन उहाँले भूमिका निर्वाह गर्नुभयो। हाल शाही नेकपा एमाले कर्णाली प्रदेश कमिटीको सदस्यका रूपमा सक्रिय हुनुहुन्छ।

राजनीतिक जीवनसाथीका रूपमा पनि परिचित जोडी

कौशिलावती खत्री र खिमबहादुर शाही दुवै लामो समयदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय रहँदै आएका राजनीतिक जीवनसाथी हुन्। एकातर्फ खत्रीले विद्यार्थी राजनीति हुँदै महिला संगठन, जिल्ला कमिटी, प्रदेश कमिटी, केन्द्रीय जिम्मेवारी र प्रदेशसभा सदस्यसम्मको राजनीतिक यात्रा तय गर्नुभएको छ भने अर्कोतर्फ शाहीले जाजरकोटमा नेकपा मालेको प्रारम्भिक संगठन निर्माणदेखि जिल्ला नेतृत्व र प्रदेश कमिटीसम्मको जिम्मेवारी सम्हाल्नुभएको छ।Screenshot-2026-10-08-094751-1791432461.pngदुवैको राजनीतिक यात्रा जाजरकोटमा वामपन्थी संगठनको विकाससँग जोडिएको देखिन्छ। लामो समय पार्टी संगठनमा सक्रिय रहेका यी दम्पतीले राजनीतिक जिम्मेवारीसँगै शिक्षा तथा सामाजिक क्षेत्रमा समेत योगदान दिएका छन्।

पार्टी संगठनमा दशकौँ लामो निरन्तरता, विभिन्न तहमा निर्वाह गरेका जिम्मेवारी र जनप्रतिनिधिका रूपमा प्राप्त अनुभवका कारण कौशिलावती खत्री र खिमबहादुर शाही जाजरकोटको समकालीन वामपन्थी राजनीतिका महत्वपूर्ण पात्रका रूपमा देखिन्छन्। उनले पत्नि र आफ्नो एमालेमा योगदान रहेकाले कौशिला अहिले केन्द्रिय सदस्य भएको लालआवाजलाई बताए ।

प्रकाशित मिति: बिहीबार, असोज २२, २०८३  ०९:५३
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार