जडीबुटी संकलन गर्न हुम्ला पुगेका मुगुका १ जनाको मृत्यु, २ बेपत्ता

सोमबार, असोज १२, २०८३

जडीबुटी सङ्कलन गर्न हुम्ला पुगेका मुगुका एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। मुगुको कार्मारोङ गाउँपालिका–९ पाँपु र छाइलाबाट जडीबुटी सङ्कलनका लागि हुम्ला आएका २२ वर्षीय गणेश बुढाको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी धनकृष्ण पाण्डेले जानकारी दिए। 

भदौ २८ गते मुगुको कार्मारोङ गाउँपालिकाबाट १३ जना जडीबुटी सङ्कलनका लागि हुम्लाका विभिन्न सामुदायिक वनमा पुगेका थिए। तीमध्ये एक जनाको मृत्यु भएको, दुई जना सम्पर्कविहीन रहेका पाण्डेले बताए।

जडीबुटी सङ्कलनका लागि हुम्ला गएकामध्ये तीन जना घर फर्किसकेका र बाँकी सात जना लिमी प्रहरीचौकीको सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता जनकबहादुर सिंहले जानकारी दिए। 

घटनाको वास्तविक कारण भने अझै स्पष्ट भएको छैन। घटनाबारे बुझ्न लिमी प्रहरीचौकीमा हुम्ला र मुगु दुवै पक्षका दुई–दुई जनालाई बोलाएर छलफल भएको थियो।

बागेढुङ्गा सामुदायिक वनका अध्यक्ष रङ्गबहादुर शाहीका अनुसार वनमा जडीबुटी सङ्कलन गरिरहेका व्यक्तिलाई वन पदाधिकारीले अनुगमन गरेका थिए।

अनुगमनका क्रममा केही व्यक्ति भागेको र खोजीका क्रममा एक जनालाई नियन्त्रणमा लिएपछि अन्य नौ जना पनि सम्पर्कमा आएका थिए। रासस

प्रकाशित मिति: सोमबार, असोज १२, २०८३  ०९:१२
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार