श्री मालिका माध्यामिक विद्यालयमा पूर्व–विद्यार्थी तथा स्वयंमसेवि कोष स्थापना

बुधबार, पुस १६, २०८२

 

जुम्ला l जुम्लाको सिँजा गाउँपालिका–१ मा रहेको श्री मालिका माध्यामिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि तथा विद्यालयको समग्र विकासका लागि पूर्व–विद्यार्थी तथा स्वयंमसेवि सहयोग कोष स्थापना गरिएको छ।

विद्यालय स्थापना भएको वि.सं. २०१९ सालदेखि हालसम्म अध्ययन पूरा गरेका पूर्व–विद्यार्थी, शिक्षा प्रेमी, समाजसेवी तथा बुद्धिजीवीहरूको संयुक्त पहलमा “पूर्व–विद्यार्थी तथा स्वयंमसेवि कोष सञ्चालन कार्यविधि, २०८२” तयार गरी औपचारिक रूपमा रु. २७,४१,६९७/ (सत्ताइस लाख एकचालिस हजार छ सय सन्तानब्बे रुपैयाँ) को कोष सञ्चालनमा ल्याइएको हो।

शैक्षिक गुणस्तर सुधारमा केन्द्रित कोष

कोषमार्फत विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूको शैक्षिक स्तर सुधार गर्नुका साथै आवश्यक परे अंग्रेजी माध्यममा कक्षा सञ्चालन गर्ने, दक्ष शिक्षक नियुक्ति गर्ने तथा शैक्षिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्य राखिएको छ।

साथै, पूर्व–विद्यार्थीहरूलाई आपसमा जोड्दै सहयोग, समन्वय र सहकार्यको संस्कार विकास गर्ने लक्ष्य समेत कोषको रहेको छ।

बैंक खातामार्फत पारदर्शी सञ्चालन

कार्यविधि अनुसार कोषको रकम नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त बैंकमा खाता खोली सञ्चालन गरिनेछ। खाता सञ्चालन अध्यक्ष, विद्यालयका प्रधानाध्यापक तथा लेखापालको संयुक्त दस्तखतबाट हुने व्यवस्था गरिएको छ।

कोषको आय–व्यय विवरण प्रत्येक वर्ष असार मसान्तमा लेखापरीक्षण गरी सबै सदस्यहरूलाई जानकारी गराइने व्यवस्था गरिएको छ।

९ सदस्यीय सञ्चालक समिति गठन

कोष सञ्चालनका लागि अधिकतम ९ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ, जसको कार्यकाल ५ वर्षको हुनेछ। समितिको अध्यक्षमा मनषा उपाध्याय, उपाध्यक्षमा भक्त बहादुर नेपाल र कोषाध्यक्षमा विष्णु माया आचार्य रहेका छन्।

यसैगरी सचिव, सह–सचिव तथा सदस्यहरूमा विद्यालय, स्थानीय तह र विभिन्न पेशागत क्षेत्रका प्रतिनिधिहरू समेटिएका छन्।

योगदानकर्तालाई सम्मान

कोषमा योगदान गर्ने पूर्व–विद्यार्थी, शिक्षा प्रेमी तथा सहयोगी व्यक्तिहरूलाई सहयोग रकम उल्लेख गरी सम्मान–पत्र प्रदान गर्ने व्यवस्था गरिएको छ। साथै, यसअघि विद्यालयमा प्राप्त भएका अन्य आर्थिक कोषहरू समेत यही कोषमा समाहित गरी एकीकृत कोष निर्माण गरिने कार्यविधिमा उल्लेख छ।

स्थानीयस्तरमा सकारात्मक पहल

विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा दीर्घकालीन विकासका लागि पूर्व–विद्यार्थीहरूको नेतृत्वमा सुरु गरिएको यो पहललाई स्थानीयस्तरमा सकारात्मक र उदाहरणीय कदमका रूपमा हेरिएको छ।साथै कोषमा जोडिन चाहने महानुभावहरुलाई संस्थाको खाता Purba Vidhyarthy Tatha Swayamsebi Kosh 21001017501075 मा जोडिन आग्रह गरिएको छ ।1000132145-1767166984.jpg1000132146-1767167013.jpg

प्रकाशित मिति: बुधबार, पुस १६, २०८२  १३:२८
प्रतिक्रिया दिनुहोस्