सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जाजरकोट । शिक्षा विकास तथा समन्वय एकाइ, जाजरकोटको आयोजनामा जिल्लाका सातवटै स्थानीय तहमा कार्यरत एकीकृत पाठ्यक्रमसम्बन्धी तालिम नलिएका शिक्षकहरूका लागि पाँच दिने कस्टमाइज्ड तालिम सुरु भएको छ।
शिक्षा विकास तथा समन्वय एकाइ, जाजरकोटको सभाहलमा सुरु भएको तालिमको उद्देश्य शिक्षकहरूलाई एकीकृत पाठ्यक्रमको अवधारणा, यसको प्रभावकारी कार्यान्वयन तथा कक्षाकोठामा प्रयोग हुने शिक्षण–सिकाइ प्रक्रियाबारे थप दक्ष र सक्षम बनाउनु रहेको बताइएको छ।
तालिममा जिल्लाका सात स्थानीय तहअन्तर्गत कार्यरत तथा यसअघि एकीकृत पाठ्यक्रमसम्बन्धी तालिम लिन नपाएका शिक्षकहरूको सहभागिता रहेको छ। पाँच दिनसम्म सञ्चालन हुने तालिममा एकीकृत पाठ्यक्रमको संरचना, उद्देश्य, विषयवस्तु, शिक्षण विधि, मूल्याङ्कन प्रणाली तथा व्यवहारिक प्रयोगलगायतका विषयमा प्रशिक्षण तथा अन्तरक्रिया गरिने जनाइएको छ।
तालिमले शिक्षकहरूको पेशागत क्षमता विकास गर्नुका साथै नयाँ पाठ्यक्रमलाई कक्षाकोठामा प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। तालिमबाट प्राप्त ज्ञान, सीप र अनुभवलाई शिक्षकहरूले आफ्नो दैनिक शिक्षण अभ्यासमा प्रयोग गर्ने विश्वास आयोजकको छ।
शिक्षा विकास तथा समन्वय एकाइ, जाजरकोटका प्रमुख यज्ञेश्वर खत्रीले तालिम सुरु भएको जानकारी दिँदै जिल्लामा एकीकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि शिक्षकहरूको क्षमता अभिवृद्धि आवश्यक रहेको बताउनुभयो।
उहाँका अनुसार तालिमले शिक्षकहरूलाई पाठ्यक्रमको मर्म बुझेर विद्यार्थीकेन्द्रित तथा व्यवहारिक शिक्षण पद्धति अपनाउन थप सहयोग पुग्नेछ। गुणस्तरीय शिक्षाका लागि शिक्षकको ज्ञान, सीप र क्षमता निरन्तर अद्यावधिक हुनु आवश्यक रहेकाले यस्ता क्षमता विकासका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
पाँच दिने तालिमबाट शिक्षकहरूको पेशागत दक्षता अभिवृद्धि हुनुका साथै एकीकृत पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।