विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारीमा सरकार

बिहीबार, असार ४, २०८३

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गरेको छ।

बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूपको परिमार्जनका लागि कार्यदल गठन गरी कार्य अगाडि बढाइसकेको जानकारी दिए। 

प्रारूप कार्यान्वयनमा आएपछि परिवर्तित सन्दर्भ अनुरूप विद्यालय शिक्षामा सुधार हुने कुरामा सरकार विश्वस्त रहेको उनले बताए।

उनले विद्यार्थी संख्या अत्यन्तै न्यून भएका विद्यालयहरू भौगोलिक दूरी र अन्य विभिन्न आधारमा गाभ्ने वा तह घटाउने जस्ता विषय आगामी आर्थिक वर्षका लागि प्रस्तावित विद्यालय नक्सांकन, पुनर्संरचना लगायत विषयमा आवश्यक कदम चालिने उल्लेख गरे। 

न्यून विद्यार्थी भएकै आधारमा विद्यालय गाभेर एक जना विद्यार्थीको मात्र पनि शिक्षा पाउने अधिकार सरकारले कुण्ठित नगर्ने उनले स्पष्ट पारे।

प्रकाशित मिति: बिहीबार, असार ४, २०८३  १४:४१
प्रतिक्रिया दिनुहोस्