जाजरकोटका तीन जना शिक्षक पुरस्कृत

मंगलबार, असार १७, २०८२

जाजरकोट l जाजरकोटका तीन जना शिक्षकलाई उत्कृष्ट शिक्षकको रुपमा पुरस्कृत गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय, सुर्खेतले जाजरकोटका तीन जना शिक्षकलाई ‘उत्कृष्ट शिक्षक प्रोत्साहन पुरस्कार’ बाट पुरस्कृत गरेको हो ।

बारेकोट गाउँपालिका–२, लिम्सास्थित वीरेन्द्र ऐश्वर्य माध्यमिक विद्यालयमा माध्यमिक तह तृतिय श्रेणीमा कार्यरत लक्ष्मी खत्री भेरी नगरपालिका ४ इउरी स्थित रामजानकी आधारभुत विद्यालयमा प्राथमिक तह प्रथम श्रेणीमा कार्यरत अच्युत प्रसाद शर्मा र छेडागाडको दशेरा स्थित जनप्रिय माविमा कार्यरत निमावि द्धितिय श्रेणीमा कार्यरत जयबहादुर थापा लाई शैक्षिक गुणस्तर अभिवृद्धिमा पुरयाएको योगदानको उच्च कदर गर्दै नगद ३५ हजार सहित प्रशंसा–पत्र प्रदान गरिएको हो । शिक्षण पेशालाई थप मर्यादित बनाउँदै गुणस्तरीय शिक्षामा उल्लेखनीय योगदान दिएको भन्दै शिक्षा विकास तथा समन्वय इकाई जाजरकोटको सिफारिसमा ति शिक्षकलाई पुरस्कृत गरिएको हो ।

कार्यक्रममा सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका मन्त्री घनश्याम भण्डारी प्रमुख अतिथि, प्रदेश सचिव अर्जुन गौतम विशिष्ट अतिथिको रूपमा सहभागी हुनु भएको थियो । शिक्षा विकास निर्देशनालयकी निर्देशक दीपा हमालले प्रशंसा–पत्र हस्तान्तरण गर्नुभएको थियो । पुरस्कृत भएका शर्मा र थापा सम्बन्धित विद्यालयका प्रधानाध्यापक हुनुहुन्छ भने खत्री मावि तहमा अंग्रेजी विषयकी शिक्षिका हुनहुन्छ ।
कर्णाली प्रदेशका १० ओटै जिल्लाबाट गरी ३० जना भन्दा बढी शिक्षकलाई पुरस्कृत गरिएको निर्देशनालयले जनाएको छ ।

यस्तो थियो शिक्षक छनोट मापदण्डका आधारहरुः
१) प्रत्येक जिल्लाबाट माध्यमिक तह १ निम्नमाध्यमिक तह १ प्राथमिक तह १ गरी जम्मा ३ जना छनोट गर्नुपर्ने जसमा कम्तिमा १ जना महिला अनिवार्य समावेश हुने गरी छनोट गर्नुपर्ने ।
२) प्रत्येक तह कक्षा ५, कक्षा ८,र एसईई को परीक्षामा उत्कृष्ट सिकाई उपलब्धी भएका र विगत ३ वर्षको शैक्षिक सत्र (०७९÷ ८० र ८१) सिकाई उपलब्धि उच्च भएको हुनुपर्नेछ ।
३) एउटै स्थानिय तह वाट १ मात्र पर्ने गरी सम्वन्धित विद्यालय, पालिका र शिक्षा विकास तथा समन्वय इकाई वाट प्रमाणित सिफारिस हुनुपर्ने ।
४) ५ वर्ष स्थाई सेवा अवधि भएको ।
५) राष्ट्रिय, प्रदेश र स्थानीय तहवाट शिक्षक प्रोत्साहन संग सम्बन्धित कुनै पनि पुरस्कार तथा प्रोत्साहन प्राप्त नगरेको शिक्षकले स्व घोषणा गरी विद्यालयको सिफारिस पत्रमा उल्लेख भएको हुनुपर्नेछ ।
६ शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ (संशोधन सहित) अनुसार कुनै पनि विभागिय सजाय नपाएको शिक्षक हुनुपर्नेछ ।

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  २१:५७
प्रतिक्रिया दिनुहोस्