सुक्खा पहिरोले बहाव थुनियो अनि बाढी आयो : नेपाली सेना

आइतबार, असोज २५, २०८३

काठमाडौं । गोरखाको बूढीगण्डकी नदीको माथिल्लो क्षेत्रमा सुक्खा पहिरोका कारण बहाव थुनिएको र पछि खुलेपछि लेदोसहितको आकस्मिक बाढी नेपाली सेनाले जनाएको छ ।

नेपाली सेनाका अधिकारीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई दिएको जानकारी अनुसार आइतबार बिहान गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित बूढीगण्डकी नदी पहिरोका कारण थुनिएको र थुनिएको भाग खुलेपछि लेदोसहितको बाढी आएको हो ।

श्री नम्बर ३ बाहिनी अड्डालाई आज बिहान ५:५५ बजे बुढीगण्डकी नदी थुनिएको प्रारम्भिक जानकारी प्राप्त भएको थियो ।

त्यसपछि गोरखा जिल्लामा तैनाथ रुद्रध्वज गण, सुरक्षा पोष्ट बाङ्गसिङ्गबाट सवा ६ बजे रेकी टोली खटिएको थियो । सोही टोलीले चुमनुब्री गाउँपालिका–३ फिलिम भन्ने स्थानमा सुक्खा पहिरो गएको एकिन गरेको थियो ।

नेपाली सेनाको यही रिपोर्टिङको आधारमा हालसम्म सोही सुक्खा पहिरोका कारण बहाव बन्द भएको र पछि खुलेर बाढी आएको प्रारम्भिक अनुमान गरिएको हो ।

प्रकाशित मिति: आइतबार, असोज २५, २०८३  १२:१८
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार