सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
जाजरकोट l कुशे गाउँपालिका–८ को माथिल्लो बस्तीमा दशैंको मुखमै करिब २५० घरधुरी अन्धकारमा परेको वडा अध्यक्ष डिल्ली सिंहले बताएका छन्।
वडा अध्यक्ष सिंहका अनुसार उक्त क्षेत्रमा वैकल्पिक ऊर्जामार्फत करिब ८ करोड रुपैयाँ बराबरको लगानी भए पनि स्थानीय तथा प्रदेश सरकारबाट आउनुपर्ने रकम उपलब्ध नहुँदा विद्युत् सेवा सञ्चालनमा समस्या भएको हो।
सिंहले आवश्यक रकममध्ये जम्मा ५४ लाख रुपैयाँ मात्र उपलब्ध भएको दाबी गर्दै सम्बन्धित निकायसँग पटक–पटक रकम उपलब्ध गराइदिन आग्रह गर्दा पनि सुनुवाइ नभएको गुनासो गरेका छन्।
उनले आफूले समस्या समाधानका लागि सम्बन्धित व्यक्ति तथा निकायका घर, कार्यालय र मन्त्रालयसम्म पुगेर पटक–पटक आग्रह गरेको बताए।
“कुनै राम्रो कुरा होस्, यस्तो अवस्था नआओस् भनेर तपाईँहरूसँग मैले धेरैचोटि गुहार गरेँ। तपाईँहरूको घरमा गएँ, ढोकामा गएँ, कार्यालयमा गएँ, मन्त्रालयमा गएँ। तर पार लगाउनु भएन,” वडा अध्यक्ष सिंहले भने।
दशैंको मुखमा समेत आफ्नो वडाका सर्वसाधारण अन्धकारमा बस्नुपर्ने अवस्था आएपछि आफू अत्यन्त दुःखी भएको उनले बताएका छन्।
भावुक हुँदै सिंहले आफूले समस्या समाधानका लागि सक्दो प्रयास गरे पनि सफल हुन नसकेको भन्दै स्थानीयवासीसँग माफीसमेत मागेका छन्। “मैले धेरै प्रयास गरेँ। यसमा माफी माग्न चाहन्छु। मैले केही गर्न सकिनँ,” उनले भने।
विद्युत् सेवा अवरुद्ध हुनुको वास्तविक कारण, आवश्यक रकमको अवस्था र सम्बन्धित सरकारका निकायको धारणा भने थप स्पष्ट हुन आवश्यक देखिन्छ। स्थानीयवासीले दशैंअघि नै विद्युत् सेवा पुनः सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।