कम्युनिस्ट र लोकतान्त्रिक शक्ति सदन र सडकमा मात्रै नभएर निर्वाचनमा पनि सहकार्य गर्नुपर्छ: प्रचण्ड

शनिबार, असोज १७, २०८३

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट र लोकतान्त्रिक शक्तिहरूसँग सदन र सडकमा मात्रै नभएर निर्वाचनमा पनि सहकार्य गर्नुपर्ने बताएका छन्। 

शनिबार नेकपाको कांग्रे जिल्लाको एकता बैठकलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले कम्युनिस्ट र लोकतान्त्रिक शक्तिहरूबीच कार्यगत एकतामा जोड दिए। ‘कम्युनिस्ट  र लोकतान्त्रिक शक्तिहरूबीच पार्टी एकता, सहकार्य र कार्यगत एकतालाई अघि बढाउने निर्णय भएको छ,’ प्रचण्डले भने, ‘आगामी दिनमा सदन र सडकको संघर्षमा सहकार्य गर्दै आवश्यकताअनुसार निर्वाचनमा समेत सहकार्यको आधार निर्माण गर्ने दिशामा अघि बढ्नुपर्छ।’

यससँगै उनले विगतका कमजोरी सच्याएर जनतासँग जोडिन नेता तथा कार्यकर्तालाई निर्देशन दिए। ‘अबको बाटो विगतको उपलब्धिको रक्षा मात्र होइन, कमजोरी सच्याउँदै नयाँ परिस्थितिअनुसार पार्टी, विचार, संगठन र नेतृत्वलाई रूपान्तरण गर्ने बाटो हो, प्रचण्डले भने। 

उनले अहिले कम्युनिस्ट शक्तिबीच एकता अपरिहार्य भएको बताए। ‘सच्चा कम्युनिस्ट शक्तिबीच एकता र सहकार्य, संविधान तथा संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिबीच सहकार्य र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई बलियो बनाउँदै अघि बढ्नु आजको मुख्य आवश्यकता हो,’ उनले भने। 

संयोजक प्रचण्डले जनताको जीवनसँग जोडिनुपर्ने बताए। त्यसका लागि जनताका समस्या उजागर गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए। 

‘महँगी, बेरोजगारी, भ्रष्टाचार, सुशासनको अभाव तथा गरिब, सुकुम्बासी, मजदूर र आधारभूत वर्गका समस्यालाई केन्द्रमा राखेर जनताका मुद्दा उठाउनुपर्छ,’ प्रचण्डले भने, ‘राज्यका नीतिले सबैभन्दा कमजोर वर्गमाथि पार्ने प्रभावलाई गम्भीरतापूर्वक हेर्नुपर्छ।’

प्रकाशित मिति: शनिबार, असोज १७, २०८३  १८:५१
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार