रसुवाको विनाशकारी बाढीप्रति समाजवादी कम्युनिस्ट पार्टी नेपालको गम्भीर ध्यानाकर्षण

बिहीबार, भदौ ११, २०८३

नेपालगन्ज l विनाशकारी बाढीका कारण रसुवा तथा आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएकोप्रति समाजवादी कम्युनिस्ट पार्टी नेपालले गम्भीर दुःख व्यक्त गर्दै सरकारको तत्काल ध्यानाकर्षण गराएको छ।

पार्टीका महासचिव समरजङ्गले जारी गरेको विज्ञप्तिमा बाढीका कारण दर्जनौँ बस्ती तथा भौतिक संरचनाहरूमा अकल्पनीय क्षति पुगेको उल्लेख गरिएको छ। बाढी प्रभावित क्षेत्रमा स्थानीय बासिन्दा, सरकारी कार्यालयका कर्मचारी, विद्यालयका शिक्षक–विद्यार्थी, पर्यटक तथा सुरक्षाकर्मीलगायत सयौँ व्यक्ति सम्पर्कविहीन भएको अवस्था अत्यन्त गम्भीर रहेको पार्टीले जनाएको छ।

समाजवादी कम्युनिस्ट पार्टी नेपालले बाढी प्रभावित क्षेत्रमा तत्काल प्रभावकारी उद्धार तथा राहत अभियान सञ्चालन गर्न, घाइतेहरूको शीघ्र उपचारको व्यवस्था गर्न, क्षतिको विस्तृत अध्ययन गरी विवरण सङ्कलन गर्न तथा प्रभावित नागरिकको सुरक्षित पुनर्वासका लागि विशेष प्याकेज ल्याई तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।

विपद्को यस घडीमा सम्पूर्ण राजनीतिक शक्ति, सामाजिक सङ्घ–संस्था तथा नागरिकलाई एकताबद्ध भएर बाढी प्रभावित नागरिकको सहयोगमा जुट्न पार्टीले अपिल गरेको छ।

विज्ञप्तिमार्फत बाढीमा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

साथै, रसुवा तथा आसपासका उच्च जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई आवश्यक सतर्कता अपनाउन र सम्भावित जोखिमबाट सुरक्षित रहन पार्टीले आग्रह गरेको छ।786303373_10240278967944509_4635527475785412215_n-1787796816.jpg

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०८३  ०८:०२
प्रतिक्रिया दिनुहोस्