सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रायले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा १ महिनाभित्र सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दियो । प्रधानमन्त्री बालेन शाहसँग परामर्श गरेर शिक्षा मन्त्रालयले बोर्डलाई निर्देशन दिएको थियो । सोही अुनसार बोर्डले १ महिनाभित्र नतिजा निकाल्न परीक्षा केन्द्रबाट नै उत्तरपुस्तिका परीक्षण गर्ने निर्णय गर्यो ।
सरकारका प्रवक्तासमेत रहेका शिक्षा मन्त्री सस्मित पोखरेलले विद्यार्थीलाई तनाव हुन निदन छिटो नतिजा सार्वजनिक गर्न लागिएको बताए । ‘पहिलेभन्दा अहिले प्रविधि फरक भएको छ । नतिजाका लागि विद्यार्थीले किन ३ महिना कुर्नु ? तीन महिनासम्म विद्यार्थीलाई तनाव हुन्छ,’ मन्त्री पोखरेलले भने, ‘एक महिनामात्र होइन, अझ चाँडो पनि गर्न सकिन्छ ।’ ७७ वटै जिल्लाका शिक्षा एकाइबाट १ महिनामा नतिजा निकाल्न सकिने सुझाव आएको मन्त्री पोखरेलले बताए ।
तीन महिनासम्म नतिजा कुर्न विद्यार्थीलाई गाह्रो हुने र अनावश्यक तयारी कक्षाको प्रेसर रोक्न छिटो नतिजा सार्वजनिक गर्ने निर्णयसमा सरकार पुगेको हो । एसईईपछिको ब्रिज कोर्सजस्ता तयारी कक्षामा पनि मन्त्रालयले रोक लगाइसकेको छ । ‘विद्यार्थीको रुचि अनुसार सिक्न सक्छन । कसैले खेलकुद कसैले म्युजिक सिक्न सक्छन्,’ मन्त्री पोखरेलले भने ।
नतिजा मात्र होइन डाटा इन्ट्री र पुनर्योगको काम पनि परीक्षा केन्द्रबाट नै कसरी गर्न सकिन्छ भनेर छलफल भइरहेको मन्त्री पोखरेलले बताए । आगामी शैक्षिकसत्रबाट एसईई संघ, प्रदेश वा स्थानीय तह कसले सञ्चालन गर्ने भनेर छलफल पनि अगाडि बढाइएको उनले बताए ।
‘संविधानम अनुसार १२ कक्षासम्म स्थानीय तहमा गइसकेको छ । तर सल्लाह गर्दा प्रदेशले गर्दा उपयुक्त हुने सुझाव पनि आएको छ । छलफल गरिरहेका छौँ,’ मन्त्री पोखरेलले भने ।