माओवादी किन खुम्चियो ?

मंगलबार, साउन ६, २०८२

शान्ति प्रक्रियापछि नेपाली राजनीति माओवादीको एजेन्डा वरिपरि घुमिरहेको छ । जति उपलब्धि भएका छन् मूलतः माओवादीकै भूमिकाले भएका छन् । जे जति समस्या छन् मूलतः माओवादीकै भूमिका नपुगेका कारण विद्यमान छन् । माओवादीले राम्रो काम गर्‍यो जनताले अधिकार पाए, माओवादीले नराम्रो काम गर्‍यो जनताले प्राप्त गरेका अधिकार संकुचित भए ।

राम्रो काम गर्दा, पार्टी शक्तिशाली र ठूलो भयो । नराम्रो काम गर्दा, सानो भयो । पार्टी भनेको विचार, नीति र विधि हो । विचार, नीति र विधि सही हुँदा माओवादी शक्तिशाली भयो । मार्क्सवादका आधारभूत मान्यतालाई दरोसँग आत्मसात् गर्न नसकेका बेला कमजोर भयो ।

विचारधारा सही र गलत हुनुले नै सबै कुराको फैसला गर्छ । विचार सही छ भने प्राप्त नभएको चिज पनि प्राप्त हुन्छ, विचार गलत छ भने प्राप्त भएको चिज पनि गुम्छ भन्ने माओको निष्कर्ष यसै विषयसँग सम्बन्धित छ । यसलाई मध्यनजर गरेर माओवादी गम्भीर आत्मसमीक्षातिर छ । माओवादीले विगतका कमीकमजोरी स्विकारेको छ र सच्याउन पहल गर्दै छ । पछिल्लो पटक अठार महिना अध्यक्ष प्रचण्डले सरकारको नेतृत्व गर्दै गर्दा भ्रष्टाचारविरुद्ध, सुशासन र सामाजिक न्यायको पक्षमा ठोस काम गरेपछि एमाले र कांग्रेसकै कित्तामा दर्ज हुने खतराको सूचकबाट बाहिर निस्केको छ । नेता–कार्यकर्तासँगको संवाद, तराई–मधेश जागरण अभियान र मध्यपहाडी जागरण अभियानमार्फत जनतासँग सम्बन्ध विस्तार गरेको छ । यसको ध्येय रूपान्तरणसहित नयाँ कार्यदिशा निर्माण गर्नु हो । यो काम निकै कष्टसाध्य छ तर असम्भव भने छैन ।

युद्धकालमा माओवादीले कैयौं साना–ठूला कमजोरीका बाबजुद विचार, नीति र विधिको विकास गरेर कैयौं राम्रा काम गर्‍यो, कतिपय सन्दर्भमा असाधारण सफलता पनि प्राप्त गर्‍यो । विश्व, देश, जनता र पार्टीको समग्र पक्षको आकलन गरेर जनयुद्धमा होमिएको माओवादीले बदलिएको राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थितिको समुचित आकलन गरेरै चुनबाङ बैठकमार्फत युद्धलाई शान्तितर्फ मोड्यो । त्यतिबेला पार्टीलाई एकताबद्ध मात्र राखेन, गुणात्मक परिणामसमेत निकाल्यो ।

शान्ति सम्झौतापछि भने माओवादी विचार, नीति र विधिको बहसबाट अलगियो । दैनिकी काममा अल्झिएर स्वार्थ केन्द्रित बहस चल्दै जाँदा विरोधी र अवसरवादीहरूको घेराबन्दीमा फस्यो । संविधानसभा निर्वाचनमा अपार जनसमर्थन प्राप्त गर्‍यो, तर पार्टीलाई विभाजनबाट बचाउन सकेन, संविधान पनि बनाउन सकेन । पहिलो संविधानसभामा प्रत्यक्षतर्फ २४० मध्ये १२० सिट जितेको पार्टी दोस्रो संविधानसभामा प्रत्यक्षतर्फ २६ सिटमा खुम्चियो । त्यसपछि पनि निरन्तर खुम्चिन पुग्यो । कुन विचार, नीति र विधिगत त्रुटिका कारणले माओवादी खुम्चियो भनेर गम्भीर शल्यक्रिया आवश्यक छ ।

प्रधान र निमित्त कारण

१. पहिलो संविधानसभामा माओवादीलाई सहरमा अपार जनसमर्थन थियो । २०६४ चैत २२ मा एमालेको किल्ला बिर्तामोडमा सम्पन्न सभामा उर्लेको मानव सागर अद्भुत थियो । झापामा माओवादीले पाँच सिट जितेको थियो । काठमाडौंका जनताले अध्यक्ष प्रचण्डलाई विजय गराएर जनयुद्धको अनुमोदन गरेका थिए । काठमाडौंमै झक्कु सुवेदीको विजय चामत्कारिक थियो । काठमाडौं र झापालगायतका जिल्लाका जनतामा माओवादीप्रति आशा र विश्वास थियो । मजदुर, निम्न पुँजीवादी र मध्यम वर्ग माओवादीका प्रशंसक थिए । उपरोक्त परिघटनाको संकेत बुझ्न नसक्नु माओवादीको गम्भीर विचलन थियो । समाजवादी कार्यदिशाको हिसाबले संविधानसभाबाट संविधान जारी भएपछि माओवादी सहरमा बलियो र गाउँमा सापेक्षिक कमजोर हुनुपर्ने हो । तर विडम्बना २०७९ को संसदीय निर्वाचनमा काठमाडौं उपत्यकामा संघ र प्रदेशमा एक सिटमा पनि विजय हासिल गर्न सकेन ।

संविधानसभाको पहिलो बैठकले गणतन्त्रको घोषणा गरेपछि समाजवादको आधारभूमि सहर र मजदुर वर्गलाई कामको केन्द्र भागमा राख्नुपर्नेमा जनयुद्धकालीन ग्रामीण क्षेत्र र किसान नै केन्द्र भागमा रहे । श्रमिक, निम्न–पुँजीपति र मध्यम वर्गबाट पार्टी बिस्तारै टाढिँदै गयो । विचारको स्रोतबाटै माओवादी विमुख भयो ।

२. कम्युनिस्ट पार्टी सर्वहारा वर्गको अग्रदस्ता हो । सदस्य पार्टीको जग हो । कम्युनिस्ट पार्टीमा कमिटीमा संगठित हुने, जिम्मेवारी पूरा गर्ने, अनुशासन पालना गर्ने र लेबी नियमित तिर्ने व्यक्ति मात्र पार्टी सदस्य हुन योग्य मानिन्छ । तर रुसी मेन्सेभिकले जस्तै माओवादीले असाध्य खुकुलो नीति अपनायो । नेताहरूले नै सदस्यता शुल्क र लेबी जम्मा गरिदिएर पार्टी सदस्य बनाइयो । सदस्य बन्नेलाई समेत थाहा नदिई पार्टी सदस्य बनाइने विकृति देखियो । पार्टी सदस्यताको ओझ र गरिमाको उपहास गरियो । अवसरवादी मापदण्डअनुसार पार्टी सदस्य बनाएपछि पार्टी अवसरवादी हुने नै भयो ।

३. उत्तराधिकारीको सवालमा पार्टीमा भ्रमपूर्ण सोचाइको बोलवाला रह्यो । तीनथरी सोचाइ देखापरे । पहिलो, नेतृत्वले उत्तराधिकारी घोषणा गरेपछि योग्य नेतृत्व तयार हुने । दोस्रो, नेतृत्वको विरोध गर्‍यो भने वैकल्पिक नेतृत्व स्वतः तयार हुने । तेस्रो, नेतृत्वको भक्तिभाव गरेपछि उत्तराधिकारी स्वतः हुने । यस प्रकारका भ्रमपूर्ण सोचाइको कारणले आज उत्तराधिकारीको खडेरी परिरहेको छ । माओवादीमा नेता बग्रेल्ती छन्, तर कार्यकर्ताले प्रचण्डपछिको नेता देखेका छैनन् । प्रचण्ड स्वयंलाई पनि भन्न गाह्रो छ ।

उत्तराधिकारी दुई तरिकाले तयार हुन्छन् । पहिलो, मुख्य नेतृत्व सही छ भने नेतृत्वको जहाँजहाँ भूमिका पुग्दैन त्यहाँ त्यहाँ उभिएर अप्ठ्यारो टार्ने काम जसले गर्छ, ऊ उत्तराधिकारी बन्छ । जस्तै, मार्क्सको भूमिका जहाँ पुग्दैन थियो, त्यहाँ एंगेल्स उभिनुभयो । मोहन वैद्यको भूमिका जहाँ पुग्दैन थियो, त्यहाँ प्रचण्ड उभिनुभयो । मार्क्स र वैद्यलाई त्यसैले उत्तराधिकारीको खडेरी परेन । दोस्रो, नेतृत्व गलत छ भने सही ठाउँमा उभिएर जसले प्रतिवाद गर्छ, ऊ नै उत्तराधिकारी हुन्छ । माओले छन् तु स्यु र ली ली शान तथा प्रचण्डले निर्मल लामा र मोहन विक्रमको गलत चिन्तनविरुद्ध सही ठाउँमा उभिएर प्रतिवाद गरेकैले उत्तराधिकारी बनेका हुन् ।

माओवादीमा एकाथरीले वर्ग दुस्मनको कित्तामा उभिएर प्रचण्डको प्रतिवाद गरेकाले र अर्कोथरीले चाकरीबाजको कित्तामा उभिएर समर्थन गरेकाले उत्तराधिकारी तयार हुन नसकेको हो । सच्चा उत्तराधिकारीको जमात तयार भएन भने कुनै पनि बेला दुर्घटना हुन सक्छ । यसर्थ कम्युनिस्ट पार्टीमा उत्तराधिकारीको विषय संवेदनशील हुने गर्छ । बुर्जुवा पार्टी र कम्युनिस्ट पार्टीको नेतृत्व विकाससम्बन्धी मान्यता आधारभूत रूपमै फरक छ । पुँजीवादमा बुर्जुवा पार्टीले क्रान्तिमा पूर्णविराम लगाउने हुनाले उत्तराधिकारीको आवश्यकता पर्दैन, प्रतिक्रान्ति गर्नुपर्‍यो भने मात्र विशिष्ट नेता (तानाशाह) को खोजी हुन्छ । कम्युनिस्ट पार्टी निरन्तर क्रान्तिको सिद्धान्तमा विश्वास गर्दछ । क्रान्तिले निरन्तर विशिष्ट नेताको खोजी गर्छ । यसर्थ कम्युनिस्ट पार्टीमा उत्तराधिकारीको प्रसंग उठ्ने गर्छ ।

४. जनयुद्धको क्रममा प्रचण्डले एकता–संघर्ष–रूपान्तरण र संश्लेषणद्वारा कुशलतापूर्वक नेतृत्व गर्नुभयो । ठूलाठूला वर्ग संघर्ष र अन्तरसंघर्षमा खरो उत्रन सफल प्रचण्ड शान्ति कालमा किन खरो उत्रिन सक्नुभएन ? किनकि, जनयुद्धकालमा वर्ग संघर्ष र अन्तरसंघर्ष परोक्ष रूपमा जोडिन्थ्यो । यसलाई व्यवस्थापन र संश्लेषण गर्न कम चुनौतीपूर्ण थियो । तर शान्ति प्रक्रियामा प्रवेश गरेपछि वर्ग संघर्ष र अन्तरसंघर्ष छुट्याउन नसक्ने गरी घालमेल भयो । यो विषय धोबीघाट समीकरणमा छर्लंग भएको थियो । यस सन्दर्भलाई शान्तिकालमा लेनिन र माओलाई परेको कठिनाइबाट पनि बुझ्न मद्दत पुग्दछ । प्रचण्डलाई इमानदारीपूर्वक सहयोग गर्न चाहनेले यो कुरा समय छँदै बुझिदिएको भए माओवादी टुटफुट र विभाजनको सिकार हुने थिएन ।

समाधानका प्रयास

१. समाजवादी क्रान्तिका सन्दर्भमा विगतको त्रुटि सच्याउन र स्पष्ट पार्न पार्टीको २०८१ माघमा सम्पन्न केन्द्रीय समितिको बैठकले ठोस निर्णय गरेको छ । उपत्यका, मधेश र पूर्वी क्षेत्र समाजवादी क्रान्तिका मुख्यः केन्द्र हुन् भनेर प्रस्ट पारिएको छ । पूर्व र उपत्यकाको पार्टीका कामकारबाहीमा नेतृत्वले प्राथमिकता दिएर पहल लिएपछि छोटै समयमा सकारात्मक परिणाम देखापरेको छ । स्थानीय उपनिर्वाचनमा सिट र मत दुवैमा अग्रता लियो र स्ववियु निर्वाचनमा समेत अग्रस्थानमा

रह्यो । काठमाडौं उपत्यकाको कीर्तिपुर नगरपालिकामा एमालेको गढ भत्काएर दोस्रो स्थान लिन पुग्यो । केन्द्रीय समितिको यो ऐतिहासिक निर्णयले ट्र्याक बाहिर गएको माओवादी आन्दोलनलाई ट्र्याकमा ल्याउन बाटो खोलेको छ ।

२‍. बोराका बोरा पार्टी सदस्य बनाएर मेन्सेभिक मापदण्डमा हिँडिरहेको माओवादीको गलत यात्रालाई गत विधान अधिवेशनले सही दिशामा लैजाने निर्णय गरेको छ । पार्टी सदस्यतासम्बन्धी खुकुलो अभ्यासको अन्त्य गर्न साधारण सदस्य र संगठित सदस्यको अलगअलग व्यवस्था गरिएको छ । अग्रदस्ताको मान्यताअनुरूप कार्यकारी अधिकार संगठित सदस्यमा अन्तर्निहित गरिएको छ । अब संगठित सदस्यले कमिटीमा बस्नुपर्ने, कमिटीले दिएको कार्यभार पूरा गर्नुपर्ने, अनुशासन पालन गर्नुपर्ने र कमिटीले तोकेको लेबी नियमित बुझाउनुपर्नेछ । यस मापदण्डअनुरूप निर्मित संगठित सदस्यहरूको मजबुत जग र साधारण सदस्यहरूको आडमा मजबुत पार्टी संगठन निर्माण गर्न सकिन्छ । सर्वप्रथम टोल, इकाइ र सेल निर्माणको केन्द्रीय अभियानलाई उत्पादनको अभियानसँग जोडेर गुणात्मक परिणाम निकाल्न सकिन्छ भन्ने आत्मविश्वास पार्टी पंक्तिमा पैदा गर्नु आजको प्रमुख कार्यभार हो । यो क्रान्तिकारी पार्टी निर्माणमा कोसेढुंगा सावित हुनेछ ।

३. उत्तराधिकारीको जमात तयार नगरी कम्युनिस्ट आन्दोलनले स्थायित्व लिन सक्दैन । लेनिनको उत्तराधिकारीसम्बन्धी बुझाइमा सापेक्षिक स्पष्टता देखियो तर अस्वस्थताका कारणले व्यवहारमा केही कठिनाइ झेल्न बाध्य हुनुभयो । नेतृत्व विकाससम्बन्धी सवालमा स्टलिनमा सन्तुलित सोचाइ देखिएन । स्टालिनकै गर्भबाट ख्रुश्चेभ पैदा हुनुले पनि संशय पैदा गर्नु स्वाभाविक छ । यस सवालमा युद्ध र क्रान्तिको चरणमा माओले गर्नुभएको अभ्यास सापेक्षिक रूपमा सही थियो । तर, चीनमा क्रान्ति सम्पन्न भएपछि राम्रो परिणाम दिएन । लिन पिआयोलाई उत्तराधिकारी तोक्नु उहाँको कार्यभारमा पर्ने विषय थिएन । नेपालमा नेतृत्व विकासको सकारात्मक अभ्यास प्रचण्डको राजनीतिक जीवनसँग प्रत्यक्ष जोडिए पनि यसको सांगोपांग संश्लेषण हुन सकिरहेको छैन । केही समययता चलेको बहसले सार्थक परिणाम निकाल्ने सम्भावना छ ।

४. अन्तरसंघर्ष र वर्ग संघर्षको अन्तरसम्बन्धलाई बुझ्ने सवालमा कम्युनिस्ट आन्दोलनमा गम्भीर प्रकृतिको भ्रम देखिन्छ । अन्तरसंघर्षको समाधान सकारात्मक निषेध, रूपान्तरण र संश्लेषणद्वारा हुने कुरा र यस प्रक्रियामा हुने ‘कचरा’ को बहिर्गमनलाई स्वाभाविक मान्नुपर्छ । तर यसको अभ्यास सानो घेरामा बसेर गर्न सकिन्न । वर्ग दुस्मन र अवसरवादीले कसरी पार्टीको अन्तरसंघर्षमा प्रत्यक्ष प्रभाव जमाउँछन् भन्ने कुराको निर्क्योल गर्न र त्यसलाई असफल पार्ने रणनीति बनाउन सक्नुपर्छ । बाबुरामको बहिर्गमनपछि स्वार्थ समूहको उदय भई पार्टीमा अन्तरसंघर्ष र वर्ग संघर्ष घालमेल भएपछि ‘धोबीघाट घटना’ पुनरावृत्त हुन सक्ने सम्भावनालाई इन्कार गर्न सकिन्न । यसका केही संकेत देखा परिसकेका छन् । त्यसैले इतिहासबाट शिक्षा लिएर समय छँदै समस्याको समाधान गर्न सक्नुपर्छ । नत्र समस्या अगाडि आएपछि पार्टी र नेतृत्व निरही बन्ने र हेर्दाहेर्दै प्रतिक्रान्ति हुने खतरा रहन्छ ।

निष्कर्ष

मेन्सेभिक बाटोतर्फ अग्रसर पार्टीलाई २०८१ माघमा सम्पन्न केन्द्रीय समितिको बैठकले बोल्सेभिक स्प्रिटतर्फ अग्रसर गराएपछि पार्टी र नेतृत्वको छविमा थोरै भने पनि सुधारको संकेत देखिनु, मरुभूमिमा पानीको थोपा मिले जस्तो हो । यसलाई अझ प्रभावकारी बनाउन नेतृत्वलाई अन्धभक्त र चाकरी–चाप्लुसी गर्नेहरूको घेराबाट निकाल्नैपर्छ । अझ स्पष्ट रूपमा भन्नुपर्दा पार्टीलाई स्वार्थ समूहको दबाब र घेराबाट निकाल्नैपर्छ । कठोर नभई घेरा तोड्न सकिन्न र सोचेजस्तो परिणाम पनि निकाल्न सकिँदैन । स्वयं संलग्न नरहे पनि नेतृत्वको वरिपरिसमेत स्वार्थ समूह बनिरहेको संकेत

आइरहेको सन्दर्भमा नेतृत्व सचेत रहनुपर्छ । केन्द्र, प्रदेश र स्थानीय तहमा अनौपचारिक रूपमा विद्यमान स्वार्थ समूहहरूलाई विघटन गरिएको घोषणा सामूहिक संकल्पसहित गर्नुपर्छ । जनताले रूपान्तरणसहितको माओवादी खोजेका छन् । अर्थात्, सुध्रेको प्रचण्ड र माओवादी केन्द्रसहित विभाजित माओवादीहरू एकै ठाउँमा जुटेको हेर्न चाहेका छन् ।

यो पार्टीलाई अहिल्यै नकारात्मक ढंगले ‘पुरानो’ भन्न मिल्दैन । राप्रपा, एमाले र कांग्रेस पुराना हुन् । प्रतिक्रियावादीहरू डिजाइनअन्तर्गत ‘कांग्रेस–एमाले–माओवादी उस्तै हुन्’ भन्ने भाष्य खडा गरेर माओवादीप्रति आशावादी हुन थालेका जनतालाई निराश बनाउने कोसिस गरिरहेका छन् । ‘घेरा तोडनु र प्रतिरोध गर्नु’ क्रान्तिकारीहरूको दायित्व हो । राष्ट्र र जनतालाई दुर्घटनाबाट बचाउन सर्वप्रथम माओवादीलाई असफल हुनबाट बचाउनु प्रमुख कार्यभार हो । यो विषय पछिल्लो राजनीतिक परिवर्तन ल्याउन प्रत्यक्ष र परोक्ष्य भूमिका निर्वाह गर्ने सबैको चिन्ता र चासोको विषय बन्नुपर्छ । माओवादीलाई नजिकबाट नियालिरहेका शुभचिन्तकहरूले विगतमा उठाएका विषयमा मात्र हाम्रो ध्यान पुगेको भए आज माओवादी अर्कै उचाइमा पुग्थ्यो भन्ने अनुमान लगाउन गाह्रो पर्दैन ।

नेता–कार्यकर्ताले समयमै कुरो नबुझेर पार्टी यस्तो अवस्थामा पुगेको हो भन्ने कुरामा स्पष्ट हुनुपर्छ । कुनै एउटा नेता विशेषलाई दोष दिएर आफू पानीमाथिको ओभानो हुन मिल्दैन । सामूहिक आत्मालोचना र सामूहिक संकल्प आजको आवश्यकता हो । यसो नगरी समाजवादी क्रान्तिको कार्यभार पूरा गर्न सकिन्न । हरेक नेता–कार्यकर्ताले भन्न सक्नुपर्छ– यो पार्टी बिगार्नुमा मेरो पनि हात छ, अब बनाउन पनि मेरो हात हुन्छ ।

हरिबोल गजुरेल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हुन् ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १५:०७
प्रतिक्रिया दिनुहोस्