रुकुम–रोल्पाका जनतालाई ‘सोझा’ भनेर कमजोर ठान्नु भूल : दिक्पाल कार्की

सोमबार, फागुन २५, २०८२

बाँके । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दिक्पाल कार्कीले आफू कुनै राजनीतिक दलसँग आबद्ध नभएको बताएका छन्। तर रुकुमेली नागरिकको हैसियतले केही विषयमा बोल्न आवश्यक महसुस भएको उनले उल्लेख गरेका छन्।

उनले पछिल्लो समय रुकुममा पुगेर केही नेताहरूले “सोझा जनतालाई झुक्काएर जितेको” भन्ने भाष्य निर्माण गर्न खोजिएको आरोप लगाएका छन्। यस्तो अभिव्यक्तिले रुकुम र रोल्पाका जनताको राजनीतिक चेतनालाई कम आँक्ने प्रयास भएको उनको भनाइ छ।

कार्कीका अनुसार रुकुम र रोल्पा नेपालकै महत्वपूर्ण राजनीतिक चेतना र संघर्षको इतिहास बोकेका जिल्ला हुन्। परिवर्तन र आन्दोलनका धेरै आवाज यिनै भूमिबाट उठेको स्मरण गराउँदै उनले यहाँका जनतालाई ‘सोझा’ भनेर कमजोर ठान्नु ठूलो भूल हुने बताएका छन्।

उनले भनेका छन् कि रुकुमेली र रोल्पाली जनता सरल हुन सक्छन्, तर उनीहरू राजनीतिक रूपमा सचेत छन्। आफ्नो विचार, सिद्धान्त र नेतृत्वप्रति इमानदार रहने परम्परा नै यी क्षेत्रको विशेषता भएको उनको दाबी छ।

कार्कीले थपे, “हामी मुखले एउटा र भित्र अर्को कुरा गर्ने बानी भएका होइनौं। कसैलाई धोका दिने वा भीडको पछि लाग्ने संस्कार हाम्रो छैन। यही स्पष्टता र इमानदारीले रुकुम र रोल्पाको पहिचान बनेको छ।”

उनका अनुसार रुकुम र रोल्पाका जनताले इतिहास र संघर्षको गर्व बोकेका छन् र आफ्नो पहिचान तथा सम्मान जोगाउन सधैं दृढ भएर उभिनेछन्।Screenshot-2026-03-09-091328-1773026931.png

प्रकाशित मिति: सोमबार, फागुन २५, २०८२  ०९:१७
प्रतिक्रिया दिनुहोस्