प्रधानमन्त्री शाहले एनपीएल उद्घाटन गर्ने, दिए यस्तो शुभकामना

सोमबार, कात्तिक ९, २०८३

आजदेखि नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन लागेको अवसरमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले शुभकामना दिएका छन्।

सोमबार बिहान सामाजिक सञ्जालबाट शुभकामना दिँदै शाहले एनपीएल केही वर्षमै नेपालको ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन्। 

‘नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता एनपीएल आजदेखि सुरु हुँदैछ,’ उनले लेखेका छन्, ‘केही वर्षमै यो ठूलो खेलकुद उत्सवका रूपमा विकसित भएको छ। लिगमा सहभागी हुन आएका सबै अन्तर्राष्ट्रिय खेलाडी र कमेन्टेटरहरुलाई हार्दिक स्वागत छ। नेपाली खेलाडी, आयोजक र क्यानलाई यो सुन्दर प्रतियोगिताका लागि शुभकामना। नेपाली क्रिकेट अमर रहोस्।’

एनपीएलको उद्घाटन पनि प्रधानमन्त्री शाहले नै गर्ने क्यानले जनाएको छ। आजदेखि सुरु हुने एनपीएल आगामी मंसिर ५ गतेसम्म चल्नेछ।

सोमबार साँझ ५ बजे त्रिभुवन विश्वविद्यालय (त्रीवी) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले एनपीएल उद्घाटन गर्नेछन्। 

उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दै छन्। लुम्बिनी रोहित पौडेल र सुदुरपश्चिम दिपेन्द्रसिंह ऐरिको कप्तानीमा मैदानमा उत्रनेछ। 

प्रकाशित मिति: सोमबार, कात्तिक ९, २०८३  ०९:३९
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार