सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं । गृह मन्त्रालयले तिहार पर्वका अवसरमा परम्परागत देउसी–भैलो कार्यक्रम २४सै घण्टा सञ्चालन गर्न दिन देशभरका सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
मन्त्रालयको शान्ति, सुरक्षा तथा अपराध नियन्त्रण शाखाले मिति २०८३ कात्तिक २३ गते सचिवस्तरीय निर्णयअनुसार सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै सुरक्षित, मर्यादित र सुव्यवस्थित रूपमा देउसी–भैलो सञ्चालन गर्ने वातावरण मिलाउन अनुरोध गरेको हो।
मन्त्रालयको निर्देशनसँगै अब देउसी–भैलो खेल्न समयसीमाको बन्देज नलगाई २४सै घण्टा सञ्चालन गर्न पाइने भएको छ। नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा सामाजिक सद्भाव कायम राख्दै अनुशासित रूपमा कार्यक्रम सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ।
गृह मन्त्रालयले देउसी–भैलोका नाममा कसैलाई पनि चन्दा वा दक्षिणा दिन बाध्य पार्न नपाइने स्पष्ट पारेको छ। कार्यक्रम पूर्ण रूपमा स्वेच्छिक र मर्यादित हुनुपर्ने मन्त्रालयको निर्देशन छ।
त्यस्तै, जातजाति, धर्म, भाषा, लिङ्ग तथा विभिन्न समुदायबीच घृणा र द्वेष फैलाउने किसिमका अश्लील नृत्य, गीत, सङ्गीत तथा नाराको प्रयोग गर्न नदिन पनि प्रशासनलाई भनिएको छ।
चाडपर्व मनाउने क्रममा जुवा–तास खेल्ने, सार्वजनिक स्थानमा मदिरा सेवन गरी होहल्ला गर्ने तथा मादक पदार्थ वा लागूऔषध सेवन गरेर सवारीसाधन चलाउने गतिविधि नियन्त्रण गर्नसमेत मन्त्रालयले निर्देशन दिएको छ।
त्यसैगरी, अत्यधिक ठूलो आवाजमा साउन्ड सिस्टम तथा ध्वनि उपकरण प्रयोग नगर्न र अस्पताल, वृद्धाश्रमजस्ता संवेदनशील क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
सार्वजनिक तथा निजी सम्पत्तिको संरक्षण, वातावरणीय स्वच्छता र सरसफाइमा ध्यान दिँदै जथाभावी फोहोरमैला नगर्न पनि मन्त्रालयले सबैलाई सचेत गराएको छ।
देउसी–भैलो सञ्चालन वा चाडपर्व मनाउने क्रममा कुनै शङ्कास्पद गतिविधि देखिएमा, दुर्घटना भएमा वा अन्य समस्या उत्पन्न भएमा तत्काल प्रहरी नियन्त्रण कक्षको १०० नम्बर वा आपत्कालीन कार्य सञ्चालन केन्द्र (DEOC) को १२३४ नम्बरमा सम्पर्क गर्न नागरिकलाई सूचित गर्न मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई अनुरोध गरेको छ।
गृह मन्त्रालयको यस निर्णयले नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण गर्दै नागरिकलाई थप उत्साहका साथ तिहार मनाउने वातावरण बनाउने अपेक्षा गरिएको छ।