स्थानीय तह चुनाव केन्द्रित अभियानमा रास्वपा

बुधबार, असोज १४, २०८३

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको चुनाव केन्द्रित अभियान लिएर यही असोज २० गतेदेखि प्रत्येक पालिका पुग्ने भएको छ ।

संघीय संसद्को चालु अधिवेशन अन्त्य भएपछि प्रतिनिधिसभा सदस्य र पार्टी केन्द्रीय सदस्यहरूको टोली पालिका जान लागेको हो ।

रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार यसपटक रास्वपाले नागरिकका कुरा सुन्न मात्र होइन पार्टीको कुरा पनि सुनाउन खोजेको छ ।

‘हामी तपाईंका कुरा सुन्न मात्रै होइन यसपटक हाम्रा केही कुरा भन्न र बुझाउन पनि तपाईंको घर दैलोमा आउँदैछौं,’ भिडियो सन्देश जारी गर्दै उनले भनेकी छन्, ‘सम्पूर्ण केन्द्रीय सदस्य र सांसदहरु तपाईंको पालिकामा आउँदैछौं ।’

रास्वपा पालिका पुग्नुका दुई उद्देश्य

उनका अनुसार पालिका केन्द्रित अभियानको मुख्यत: दुई वटा उद्देश्य रहेका छन् । पहिलो : स्थानीय तहको कामकारबाही र आगामी चुनावमा उठाउने उम्मेदवार छनोटको विधि बुझाउने ।

दोस्रो : वर्तमान सरकार गठन भएपछिको ६ महिनामा संसद र सरकारमार्फत भएका पहलबारे जानकारी गराउने ।

नागरिकको दैनिकी र विकाससँग सबैभन्दा नजिकबाट जोडिने संयन्त्र स्थानीय सरकार हो । यसकारण स्थानीय तहको स्थानीय नेतृत्व छनोटको लोकतान्त्रिक विधि के हो भनेर बुझाउन खोजिएको छ ।

सहमहामन्त्री डाँगीले भनेकी छन्, ‘आगामी फागुनमा हुने स्थानीय तहको निर्वाचनमा रास्वपाले सक्षम, इमानदार र नेतृत्व लिन तयार व्यक्तिहरूलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विधिबारे आम नागरिकलाई बुझाउनु हाम्रो अर्को महत्वपूर्ण उद्देश्य हो ।’

रास्वपाले यसअघि सारेको उम्मेदवार छनोट रुपरेखा अन्तर्गत क्यान्डिडेट क्लब लिडरसिप एकेडेमी र पूर्ण लोकतान्त्रिक छनोट प्रक्रिया मार्फत कसरी उम्मेदवार छानिने भनेको छ ।

सरकारले गरेका कामको प्रचार गरिने

यसका साथै, वर्तमान सरकार गठन भएको करिब ६ महिना पूरा भएको छ । यस अवधिमा संसद र सरकारमार्फत के कस्ता नीतिगत पहलहरु भए ? नागरिकसँग गरेका बाचाहरूको कार्यान्वयनको अवस्था कस्तो रह्यो र आगामी दिनमा हाम्रा योजनाहरू के छन् भन्ने विषयको विस्तृत र पारदर्शी जानकारी लिएर अभियानमा जान लागेको रास्वपाले जनाएको छ ।

‘अभियान अन्तर्गत हाम्रा सांसद तथा केन्द्रीय सदस्यहरु ७७ वटै जिल्लाका ७५३ वटै पालिकामा यही असोज २० गतेदेखि पुग्दै हुनुहुन्छ,’ उनले भनेकी छन्, ‘यो अभियान केवल चुनावको तयारी मात्रै होइन । स्थानीय सरकारलाई अझ बढी जवाफदेही बनाउने र नागरिककै सहभागितामा सही नेतृत्व स्थापित गर्ने एउटा महत्वपूर्ण लोकतान्त्रिक अभ्यास पनि हो ।’

 

प्रकाशित मिति: बुधबार, असोज १४, २०८३  १३:३५
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार