राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज अमेरिका जाँदै

मंगलबार, असोज ६, २०८३

काठमाडौं l प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्ने भएका छन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री शाह अपरान्ह सवा चार बजे न्यूयोर्कका लागि प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहसँगै उनका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेन पनि अमेरिका जानेछन्। 

महासभामा प्रधानमन्त्रीको सहभागिताका लागि आवश्यक तयारी तथा समन्वय गर्न प्रधानमन्त्रीका निजी सचिव सहसचिव प्रदीप परियार, स्वकीय सचिव सुवास शर्मा लगायतका अधिकारी भने यसअघि नै न्यूयोर्क पुगिसकेका छन्।

 

संयुक्त राष्ट्रसंघको ८१औँ महासभा भदौ २३ गतेदेखि न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा सुरु भएको हो। महासभाको उच्चस्तरीय बैठक भने असोज ६ गतेदेखि सुरु हुँदैछ। प्रधानमन्त्री शाहले उच्चस्तरीय बैठकलाई सेप्टेम्बर २४ (असोज ८ गते) सम्बोधन गर्ने कार्यक्रम छ।

प्रधानमन्त्री शाहले कार्यभार सम्हालेपछि पहिलो विदेश भ्रमणका रूपमा अमेरिका जाने भएका हुन्। यसअघि कार्यभार सम्हालेको एक वर्षसम्म विदेश भ्रमण नगर्ने तयारीमा रहेका शाह भोटेकोशी बाढीपहिरोपछि संयुक्त राष्ट्रसंघको महासभामा नेपालको धारणा राख्न अमेरिका जान लागेका हुन्।

भदौ १० गते आएको भोटेकोशी बाढी तथा पहिरोले नेपालमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएपछि जलवायु परिवर्तनको असरबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन महासभाको मञ्च उपयोग गर्ने सरकारको तयारी छ। 

यसअघि परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई महासभामा पठाउने तयारी गरिएको थियो। तर भोटेकोशी विपद्पछि प्रधानमन्त्री स्वयं महासभामा सहभागी भएर नेपालको अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने निर्णय भएको हो।

प्रधानमन्त्री शाह असोज १० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ। परराष्ट्रमन्त्री खनाल भने न्यूयोर्कमै रहेर विभिन्न मुलुकका प्रतिनिधिसँग साइडलाइन वार्ता तथा अन्य कूटनीतिक गतिविधिमा सहभागी हुने तयारी छ।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  ११:४६
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार