एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि बस्दै

सोमबार, असोज ५, २०८३

काठमाडौं l नेकपा एमालेको कन्द्रीय कमिटीको बैठक आजदेखि बस्दैछ। बैठक ललितपुरको रामबाग मलमा आजदेखि तीन दिनसम्म चल्नेछ। 

पार्टीमा विवाद बढ्दै गएपछि एमालेले बैठक बोलाएको हो। पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चर्किरहेका राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी अघि बढाएको छ। 

आइतबार बसेको पार्टी सचिवालय बैठकले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक बोलाउने प्रस्ताव केन्द्रीय कमिटीमा राख्ने निर्णय गरेको छ। परिषद् बैठक बोलाउने विषयमा केन्द्रीय कमिटीबाट निर्णय हुने जनाएको छ।

जेन–जी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिमा महाधिवेशन गरेर नयाँ केन्द्रीय कमिटी चयन गरे पनि प्रतिनिधिसभा निर्वाचनमा पार्टीले बेहोरेको धक्कापछि एमालेभित्र नेतृत्व पुनर्गठन र पुस्तान्तरणको आवाज उठ्दै आएको छ। ११ औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको पक्षमा रहेका नेताहरू नेतृत्व परिवर्तनको पक्षमा देखिएका छन्।

चुनावको समीक्षा गर्न उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित कार्यदललाई नेतृत्व पुनर्गठन गर्नुपर्ने सुझाव आएका थिए । महासचिव शंकर पोखरेलले तयार पारेको प्रतिवेदनको मस्यौदामा नेतृत्व पुनर्गठनको सुझावलाई समेटिएको थियो। तर थापाले त्यसमा बाझिने गरी अर्को प्रतिवेदन कार्यदलमा प्रस्तुत गरेका थिए।

पार्टी उपमहासचिव एवं कार्यदल सदस्य लेखराज भट्टले महासचिव पोखरेलको प्रतिवेदनमा समावेश भएको नेतृत्व पुनर्गठनको विषय हटाएर एउटै प्रतिवेदन बनाइएको बताए। उनका अनुसार एउटै प्रतिवेदनमाथि केन्द्रीय कमिटीमा छलफल हुनेछ।

प्रकाशित मिति: सोमबार, असोज ५, २०८३  ०८:४८
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार