सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौँ। स्वस्थ जीवनशैली प्रवर्द्धनसँगै विपद्बाट प्रभावित विद्यालयका विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले जीवन विज्ञान युवा वृत्तले “आरोग्यका लागि दौड, समाजका लागि योगदान” नारासहित दौड कार्यक्रम आयोजना गर्ने भएको छ।
संविधान दिवसको अवसरमा असोज ३ गते बिहान ७ बजे काठमाडौँको दशरथ रङ्गशाला, त्रिपुरेश्वरबाट दौड सुरु हुनेछ। कार्यक्रममा ५ किलोमिटर र १० किलोमिटर दूरीका धावक सहभागी हुने आयोजकले जनाएको छ।
दौडबाट सङ्कलित सहयोग विशेष गरी बाढी तथा अन्य विपद्बाट प्रभावित विद्यालयका विद्यार्थीका लागि मनोसामाजिक सहयोग तथा शैक्षिक सामग्री जुटाउन उपयोग गरिनेछ। व्यक्तिगत स्वास्थ्यसँगै विपद्मा परेका समुदाय र विद्यार्थीलाई सहयोग गर्ने उद्देश्य रहेकाले कार्यक्रमलाई स्वास्थ्य तथा सामाजिक उत्तरदायित्व जोडिएको अभियानका रूपमा अघि बढाइएको आयोजकको भनाइ छ।
जीवन विज्ञान युवा वृत्तका अनुसार दौडलगायत नियमित शारीरिक गतिविधिले स्वस्थ शरीर, शान्त मन र सकारात्मक जीवनशैली निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ। त्यसैले युवालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्दै सामाजिक सेवामा समेत जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा सहभागी हुन इच्छुकलाई दर्ता गरेर सहभागिता जनाउन आयोजकले आग्रह गरेको छ। दर्ता भएका र दौड पूरा गर्ने सहभागीलाई सहभागिता पदक, टी–सर्ट, प्रमाणपत्र तथा नास्ता उपलब्ध गराइनेछ।
युवाको ऊर्जा र सामाजिक उत्तरदायित्वलाई एकै ठाउँमा जोड्ने प्रयासका रूपमा हेरिएको यस दौडले स्वास्थ्यप्रतिको सचेतना बढाउनुका साथै विपद्पीडित विद्यार्थीका लागि सहयोग जुटाउन महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।