सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
सुर्खेत । कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिमबहादुर शाहीकाे निधन भएको छ। पारिवारिक स्रोतका अनुसार, बुधबार बेलुका कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो।
उनलाई हृदयाघात भएको थियो । दैलेखकाे चामुण्डाबिन्द्रासैनी नगरपालिकाकाे बुडेली निवासी शाहीले २०३६ को जनमत सङ्ग्रहमा निर्दलीय पञ्चायती व्यवस्था विरुद्ध बहुदलीय प्रजातन्त्रको पक्षमा जनजागरण अभियानमा अग्रणी भूमिका निभाएका थिए।
२००६ सालमा जन्मिएका शाही कांग्रेस दैलेखकाे राजनीतिका अग्रणी नेता हुन्। कांग्रेसका संस्थापक नेता बिपी कोइरालालाई भेटेपछि कांग्रेसको राजनीति सुरु गरेका थिए उनले।
बहुदल प्राप्तिका लागि २०३२ देखि २०४६ सालसम्म भूमिगत भएका शाही विभिन्न समयमा गरी ९ पटक गिरफ्तार परे। २०४६ सालको जनआन्दोलनमा ५१ दिन हिरासत बसेका थिए। उनी २०४९ सालमा जिल्ला विकास समिति दैलेखका सभापति बने। २०६४ र २०७० सालकाे संविधान सभा चुनाव लडेका थिए। तर जित्न सकेनन्।
०७४ मा समानुपातिकतर्फ कर्णाली प्रदेश सभा सदस्य भए। प्रदेशकाे आन्तरिक मामिला तथा कानुनमन्त्री पनि बने। कांग्रेस संसदीय दलको प्रमुख सचेतक पनि बने।
प्रदेश सभाको ५ वर्षे कार्यकाल पश्चात् उनी राजनीतिको रिटायर्ड जिन्दगी आफ्नै गाउँमै बिताइरहेका थिए।