लोकतन्त्रमाथि प्रहार गर्ने भूराजनीतिक चलखेल भइरहेको छ: प्रचण्ड

सोमबार, माघ २६, २०८२

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रमाथि प्रहार गर्ने भूराजनीतिक चलखेल भइरहेको जिकिर गरेका छन्। 

सोमबार नेकपा काठमाडौँ-५ ले आयोजना गरेको ‘पार्टी प्रवेश’ कार्यक्रममा प्रचण्डले सामाजिक सञ्जालमार्फत फण्डा गर्नेहरूसँग कुनै योजना नभएको औंल्याए।

‘सामाजिक सञ्जालमा फण्डा गरे पनि उनीहरूसँग कुनै योजना र एजेन्डा छैन। विश्व साम्राज्यवादले विभिन्न देशमा पपुलिजम प्रस्तुत गर्दै लोकतन्त्र र समाजवादविरुद्ध प्रहार गरेको छ,’ उनले भने, ‘नेपालमा पनि त्यही अन्तर्राष्ट्रिय फेनोमेना दोहोर्‍याउने र लोकतन्त्रमाथि प्रहार गर्ने भूराजनीतिक चलखेल भइरहेको छ।’

उनले अन्तर्राष्ट्रिय हस्तक्षेपको प्रतिवाद गर्न जनताको तागत चाहिएको बताए। ‘त्यसको प्रतिवाद गर्न पनि नयाँ संकल्प र नयाँ समीक्षासहित राष्ट्र र जनताको निम्ति तागत चाहिएको छ। त्यही तागतका लागि नेपाली कम्युनिस्ट पार्टी बनाएको हो,’ उनले भने। 

नेकपामा सबै कम्युनिस्ट शक्ति अटाउने पार्टी भएको उनको भनाइ थियो।

प्रकाशित मिति: सोमबार, माघ २६, २०८२  १३:०८
प्रतिक्रिया दिनुहोस्