सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौं । संगठनका अध्यक्ष दुर्गा प्रसाईंलाई नेपाल प्रहरीको साइबर ब्युरोले माघ २३ गते दक्षिणकाली क्षेत्रबाट पक्राउ गरेको घटनाप्रति संगठनले गम्भीर आपत्ति जनाएको छ। संगठनले यो गिरफ्तारीलाई नियोजित, प्रतिशोधपूर्ण र अलोकतान्त्रिक कदमको संज्ञा दिएको छ।
जारी गरिएको प्रेस विज्ञप्तिमा भ्रष्टाचार, बेथिति र अन्यायविरुद्ध आवाज उठाइरहेका अभियन्तालाई राज्य शक्तिको दुरुपयोग गर्दै पक्राउ गर्नुले सरकारको अधिनायकवादी चरित्र उदाङ्गो भएको दाबी गरिएको छ। संगठनले वाक स्वतन्त्रता र नागरिकको खबरदारी गर्ने अधिकार कुण्ठित गर्ने उद्देश्यले गरिएको गिरफ्तारी स्वीकार्य नहुने स्पष्ट पारेको छ।
संगठनले अध्यक्ष दुर्गा प्रसाईंलाई बिना शर्त तत्काल रिहा गर्न सरकारलाई कडा चेतावनी दिएको छ। विज्ञप्तिमा माग पूरा नभए सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकार स्वयंले लिनुपर्ने उल्लेख गरिएको छ।
राज्यको दमनबाट आफ्नो अभियान नरोकिने उल्लेख गर्दै संगठनले सम्पूर्ण न्यायप्रेमी नागरिक, समर्थक र शुभेच्छुकहरूलाई अन्यायको विरुद्ध एकजुट हुन अपिल गरेको छ।