रवि लामिछाने सार्वजनिक जीवनमा पुनरागमन : “अब घटना होइन, इतिहास लेखिन्छ”

मंगलबार, माघ २०, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सामान्य ठानेको चोटबाट सुरु भएको जटिल संक्रमणका कारण केही दिन अस्पतालमा उपचारपछि पुनः सार्वजनिक जीवनमा फर्किएका छन्। स्वास्थ्य लाभपछि जारी गरेको भावनात्मक तर कडा राजनीतिक सन्देशमार्फत उनले देशमा अब परिवर्तन अवश्यंभावी भएको दाबी गरेका छन्।

“आजबाट म संकल्प र प्रतिबद्धताका साथ सार्वजनिक जीवनमा फर्कँदैछु,” लामिछानेले भनेका छन्, “देशमा अब जे हुनेछ त्यो घटना होइन, इतिहास हुनेछ—र त्यो इतिहास नेपाली जनताले आफ्नै हातले, आफ्नै मतपत्रबाट लेख्नेछन्।”

उनले अपदस्त दुईतिहाइ सरकारको समयमा आफूले भोगेको पीडा, अदालत–अदालत धाएको संघर्ष र त्यसबीच पनि जनतासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता दोहोर्‍याए। “म सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न माग गर्दैछु,” भन्दै उनले घण्टी चिन्हमा भोट गर्न आह्वान गरे।

लामिछानेले ‘एकाध पुल, भवन र सडकको फोटो बेच्ने कस्मेटिक विकास’ अस्वीकार्य भएको उल्लेख गर्दै कुशासनको जरो उखेल्न ‘निलो क्रान्ति’ आवश्यक रहेको बताए। उनका अनुसार स्पष्ट जनादेशबिना जित–हारको अर्थ रहँदैन।

राजनीतिक दल र तथाकथित विचारधाराप्रति कटाक्ष गर्दै उनले भने, “विचार, नीति र सिद्धान्तको नाममा देश रसातलमा पुगिसक्यो। अब भारी शब्द होइन, परिणाम चाहिन्छ।” उनले लोकतन्त्र जोगाउने जिम्मा अन्ततः जनताकै हातमा रहेको स्पष्ट पारे।

फागुन २१ लाई ऐतिहासिक मिति घोषणा गर्दै लामिछानेले भने, “यो कुनै सामान्य दिन होइन, नेपाली इतिहासको माइलस्टोन हुनेछ। फागुन २१ पछि आउने संसदमा प्रतिपक्षी समेत नयाँ हुनुपर्छ।”

भ्रष्टाचार, बिचौलिया र पुरानो राजनीतिक संरचनाविरुद्ध कडा चेतावनी दिँदै उनले सबै प्रकारका गठबन्धन गरेर भए पनि आफूहरूलाई रोक्न चुनौती दिए। “मत परिणाम स्वीकार्छौँ, तर जनविद्रोहले उखेलेर फालेको पुरानो संसद षड्यन्त्रपूर्वक फर्काउने कुनै चलखेल स्वीकार्दैनौँ,” उनको चेतावनी थियो।

अन्त्यमा उनले देशको भविष्य केही व्यक्तिको हातमा होइन, जनताको हातमा सुम्पिएको भन्दै भने, “यो देश कुनै अमुक नेताले होइन, जनताले जोगाएका हुन्। अब मतपत्रमार्फत सुशासन, विकास, कूटनीति र अर्थराजनीतिको नयाँ युग सुरु हुनेछ।”

यस्तो लेखेका छन लामिछानेले

आदरणीय आमा बुबा, दिदि बहिनी तथा दाजुभाईहरू,

सामान्य ठानेको चोटको नसोचेको संक्रमणका कारण जीवनमा पहिलो पटक अस्पतालमा केही दिन बिताएर केहि आरम पछि आजबाट म सार्वजनीक जीवनमा फर्कँदैछु । र यो ऐलान, संकल्प र प्रतिवद्धताका साथ फर्कँदैछु कि देशमा अब जे हुनेछ त्यो घटना हुने छैन, इतिहास हुनेछ । परिवर्तनको यो इतिहास नेपाली जनताले शानदार उत्सवका रुपमा आफ्नै हातले, आफ्नै मतपत्रबाट लेख्नेछन् ।

अपदस्त दुईतिहाइको सरकारले जबरजस्ती मेरो शरिरमा हालिदिएको विष निकाल्दै र पखाल्दै देशैभरीका अदालतहरु धाउदा धाउदा थाहा छैन म देशका कति ठाउँमा पुग्न सक्छु तर मेरो प्रयास बढीभन्दा बढी जनसमूदायसँग प्रत्यक्ष संवादकै लागि हुनेछ । म सिंहदरवार पुग्न होइन सिंहदरवार बदल्न माग्दैछु घण्टीमा भोट । दलहरुका मसिहाहरुले राज्यका हरेक धमनीमा भरेको बिष निकाल्न माग्नेछु तपाइँको भोट। एकाध पुल, एकाध भवन र एकाध सडकका तस्वीर बेच्ने कस्मेटिक सुधारमा मेरो कुनै रुची छैन । कुशासनको मुख्यालय भएको सिंहदरवारबाट नै निलो क्रान्ति सुरु गर्ने प्रष्ट म्याण्डेट बिना हामी हार्नु र जित्नुको कुनै महत्व हुनेछैन । वर्षौंअघि रोपिएको अस्थिरताको बिउ हुर्केर ठूलो वृक्ष बनेको छ। यस पटक यसको जरो नउखेली कहीँ कतै केही बदलिँदैन ।

म कहाँ छु र मेरो के हुन्छ भनेर इतिहासको बेग रोक्ने हक हामी कसैलाई छैन । यो देशको भविश्य बदल्ने क्रान्तिका लागि म थप त्याग र कठोर भन्दा कठोर तपस्याका लागि विल्कुल तयार छु । मेरो नाम इतिहासको कुन पानामा लेखिन्छ वा मेटिन्छ मलाई त्यसको परवाह छैन। तर यस देशका सन्ततिको सुनौलो भाग्य मेट्ने र भाग्य लेखिएको त्यहि निधारमा ताकेर गोली ठोक्नेहरु विरुद्ध क्रान्तिको घण्टी बजिसकेको छ, अब अन्तिम पर्दा उठ्न बाँकी छ, त्यो पर्दा हामी मिलेर उठाउनेछौँ ।

भ्रष्टतन्त्रको ठेकेदार बनेर हामीलाई लोकप्रियतावादी,भिजन बिनाका, निती सिद्धान्त बिनाका भनेर कसैले रोइकराइ गर्न पर्दैन । सबैभन्दा स्पष्टसँग लेखिएका रास्वपा-दस्तावेज पढ्ने जाँगर विश्लेषणजीविहरुलाई नचल्नुको भारी हामीले कहिलेसम्म बोक्ने ? विचार सिद्धान्त,नीति सबै भएका भनिएका तपाइहरुको नियत,कार्यक्षमता सब देखियो, भो अब थप नदेखाउनुस् , नपढाउनुस् । देश रसातलमा पुग्दापनि भट्याएर नसकिएका तपाईंका विचारहरू तपाईँहरूलाई नै मुबारक। भारी भरकम शब्दहरू प्रयोग गरेर राजनीतिलाई कम्प्लिकेटेड बनाउनै पर्दैन, प्राप्त उपलब्धि सहितको लोकतन्त्र हामी जोगाउछौं, नसके जनता छन् । आआफ्नो राजनीतिक दोकान र सटर रंग्याउने छुट सबैलाई छ तर यो देश कुनै अमुक नेताले होइन जनताले जोगाएका हुन् । तिनै जनताको ताकतको बलमा मतपत्र मार्फत हामी सुशासनको घन्टी बजाउँदै,विकास-कूटनीति र अर्थ- राजनीतिको शानदार युगारम्भ गर्न चाहन्छौँ।

गिद्धले सिनो लुछेजस्तै लुछिएको यो देश अन्तिम सुनामीको तयारीमा छ। मेरो खुला आग्रह छ— अझै पनि जो–जो मिल्नु छ, मिल। खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर। अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ, हामी मत परिणाम स्वीकार्छौं तर जन विद्रोहले उखेलेर फालेको पुरानाे संसद, षडयन्त्रपुर्ण ढंगले फर्काउने कुनै पनि चलखेल,दवाब र धम्की स्वीकार्दैनौं ।

फागुन २१ कुनै सामान्य मिति होइन, नेपाली इतिहासको माइलस्टोन हुनेछ। फागुन २१ पछि आउने संसदमा प्रतिपक्षी समेत नयाँ हुनु पर्छ । सर्प त एउटा पनि पाल्न सकिँदैन।

यतिका वर्ष पूरा देश लुटेर बनाइएको आपराधिक गिरोहबाट अब यो देश सदाका लागि मुक्त हुनेछ। केही थान बिचौलियाहरूको मुठ्ठीमा कैद रहेको यस देशको भविष्य लेख्ने जिम्मा तपाईंको हातमा सुम्पिएका छौँ। मात्र तपाईँको हातमा।

तपाईँको, रवि लामिछाने ।।

प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १८:२०
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार