बीमितको बहिरंग सेवा सुविधा सीमित, वार्षिक २५ हजारको व्यवस्था लागू हुने

सोमबार, माघ १९, २०८२

नेपालगन्ज । स्वास्थ्य बीमा बोर्डले बीमित नागरिकले प्राप्त गर्दै आएको बहिरंग (OPD) सेवामा नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको छ। बोर्डको मिति २०८२ मंसिर २४ गते बसेको बैठकको निर्णयअनुसार प्रति परिवार (अधिकतम पाँच जना) का लागि वार्षिक २५ हजार रुपैयाँ बराबरको OPD सुविधा तोकिएको छ।

स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने र बोर्डको खर्च भार कम गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको बोर्डले जनाएको छ। उक्त व्यवस्था २०८२ फागुन १ गते देखि लागू हुने बोर्डले सूचीकृत सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई जानकारी गराएको छ।

बोर्डका अनुसार परिवारमा पाँच जनाभन्दा बढी सदस्य भएमा प्रत्येक थप एक सदस्यका लागि थप ५ हजार रुपैयाँ बराबरको सेवा सुविधा उपलब्ध गराइनेछ।

यसैबीच, स्वास्थ्य बीमा नियमावलीको अनुसूची–६ बमोजिम सूचीकृत ८ प्रकारका कडा तथा दीर्घरोग सम्बन्धी उपचार भने हालको व्यवस्था अनुसार नै निरन्तर रहने स्पष्ट गरिएको छ।

स्वास्थ्य बीमा बोर्डले हालसम्म स्वास्थ्य बीमा कार्यक्रम सफल रूपमा सञ्चालन गर्न सहयोग पुर्‍याउँदै आएका सम्पूर्ण सूचीकृत सेवा प्रदायक स्वास्थ्य संस्थाप्रति धन्यवाद व्यक्त गर्दै, बोर्ड बैठकको निर्णय कार्यान्वयनका लागि आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ।625846274_1455361022623331_5871179766107670001_n-1770036248.jpg

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  १८:३३
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार