आज सहिद दिवस

शुक्रबार, माघ १६, २०८२

काठमाडौँ l विभिन्न कार्यक्रम गरी आज देशभर सहिद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिन्छ।

सहिद दिवसको अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।

राणा शासनविरुद्ध आवाज उठाएको भन्दै माथेमा, ठाकुर, श्रेष्ठ र शास्त्रीलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवसमा प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिन्छ। 

यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छन्। विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो।

स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  ०९:२५
प्रतिक्रिया दिनुहोस्
समाचार
विचार