निर्वाचन आयोगको निर्णयप्रति महावीर पुनको असन्तुष्टि

‘आत्मकथामा चुनाव चिह्न छैन, लेखक हुनु अपराध भयो’
सोमबार, माघ १२, २०८२

काठमाडौं । निर्वाचन आयोगले पूर्वमन्त्री तथा सामाजिक अभियन्ता महावीर पुनलाई आफ्नो आत्मकथा पुस्तक बिक्री–वितरण नगर्न निर्देशन दिएपछि विषयले राजनीतिक र बौद्धिक वृत्तमा चर्चा पाएको छ ।

निर्वाचन आचारसंहिताको हवाला दिँदै आयोगले उम्मेदवारको चुनाव चिह्न अंकित कुनै पनि सामग्री उत्पादन, वितरण वा बिक्री गर्न नपाइने व्यवस्था रहेको जनाएको छ । यही प्रावधानका आधारमा म्याग्दीमा महावीर पुनको आत्मकथा पुस्तक बिक्री रोकिएको हो ।

तर यस निर्णयप्रति पुनले गम्भीर असन्तुष्टि जनाएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले भनेका छन्,

“नेपालको निर्वाचन कानुनका कारण किताब बेच्न नपाइने अवस्था आयो । आचारसंहितामा उम्मेदवारको चुनाव चिह्न भएको कुनै पनि सामग्री बेच्न नपाइने भनिएको रहेछ । तर मेरो आत्मकथामा मेरो चुनाव चिह्न ‘त्रिभुज’ कतै छैन । म त केवल त्यस किताबको लेखक मात्र हुँ ।”

उनका अनुसार केही विरोधी समूहले आत्मकथा पुस्तकलाई चुनावी प्रचार सामग्रीको रूपमा व्याख्या गर्दै निर्वाचन आयोगमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा आयोगले पुस्तक बिक्री नगर्न निर्देशन दिएको पुनको दाबी छ ।

महावीर पुनको आत्मकथा पुस्तक व्यक्तिगत जीवन, ग्रामीण प्रविधि विकास, सामाजिक संघर्ष र अनुभवमा आधारित रहेको बताइन्छ । पुस्तकमा कुनै पनि दल, उम्मेदवार वा चुनाव चिह्नको प्रचार सामग्री समावेश नरहेको पुनको भनाइ छ ।

निर्वाचन आचारसंहिताको व्याख्या र अभिव्यक्ति स्वतन्त्रताबीच सन्तुलन कसरी कायम गर्ने भन्ने बहस फेरि एकपटक सतहमा आएको छ ।

प्रकाशित मिति: सोमबार, माघ १२, २०८२  १८:३४
प्रतिक्रिया दिनुहोस्