राष्ट्रिय झण्डाको दुरुपयोग तत्काल रोकिनुपर्छ : संविधानविद आचार्य

बिहीबार, माघ ८, २०८२

नेपालगन्ज l राष्ट्रिय पहिचान, स्वाभिमान र सार्वभौमिकताको प्रतीक राष्ट्रिय झण्डाको पछिल्लो समय खुलेआम दुरुपयोग हुन थालेकोप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ। आन्दोलन, आगजनी, तोडफोड तथा चुनावी प्रचार–प्रसारका क्रममा राष्ट्रिय झण्डा ओढेर प्रयोग गर्ने प्रवृत्ति बढ्दै जानु दुर्भाग्यपूर्ण भएको संविधानविद भिमार्जुन आचार्यले बताएका छन्।

उनका अनुसार राष्ट्रिय झण्डा ओढ्ने “कपडा” होइन, यो राष्ट्रको सम्मान र गौरवको प्रतीक हो। राजनीतिक स्वार्थ, भीड उक्साउने गतिविधि वा मत माग्ने साधनका रूपमा झण्डाको प्रयोग गर्नु राष्ट्रिय मर्यादाविपरीत रहेको संविधानविद आचार्यको भनाइ छ।

“राष्ट्रिय झण्डा ओढेर आन्दोलन गर्ने, राष्ट्रिय झण्डा ओढेर देश जलाउने वा अराजक गतिविधिमा संलग्न हुने कार्य तुरुन्त बन्द हुनुपर्छ,” उनले जोड दिए। यस्ता गतिविधिले राष्ट्रिय झण्डाको गरिमा घटाउनुका साथै भावी पुस्तामा गलत सन्देश जाने खतरा रहेको उनले बताए।

संविधानविद आचार्यले स्टाटसमा लेखेका छन यस विषयमा सरकार, सुरक्षा निकाय, निर्वाचन आयोग लगायत सम्बन्धित निकायको तत्काल ध्यान जानु आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी स्पष्ट मापदण्ड बनाएर कडाइका साथ कार्यान्वयन गर्न माग गरेका छन्। राष्ट्रिय झण्डाको सम्मान र संरक्षण सबै नेपालीको साझा दायित्व भएको उनको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, माघ ८, २०८२  २१:४९
प्रतिक्रिया दिनुहोस्