सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
नेपालगन्ज l कर्णाली प्रदेश प्रहरी अस्पताल, वीरेन्द्रनगर–सुर्खेतमा विस्तारित स्वास्थ्य सेवा उद्घाटन गरिएको छ। कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री यामलाल कडेंलको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अस्पतालको नयाँ सेवा औपचारिक रूपमा शुभारम्भ गरिएको हो।
विस्तारित स्वास्थ्य सेवाअन्तर्गत अस्पतालमा अन्तरङ्ग विभाग, प्रयोगशाला, फार्मेसी, माइनर अपरेशन सेवा, जनरल ओपीडी, हाडजोर्नी, आँखारोग ओपीडी तथा सर्वसाधारणका लागि उपचार सेवा सञ्चालनमा ल्याइएको छ। यसबाट कर्णाली प्रदेशका प्रहरी कर्मचारी मात्र नभई आम नागरिकसमेत लाभान्वित हुने अपेक्षा गरिएको छ।
उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश सरकारका माननीय सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक माधवप्रसाद श्रेष्ठ, वीरेन्द्रनगर नगरपालिकाका उप–प्रमुख नीलकण्ठ खनाललगायत विभिन्न सरकारी निकायका प्रतिनिधि तथा आमन्त्रित पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वक्ताहरूले कर्णाली प्रदेशमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि प्रहरी अस्पतालको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। विस्तारित सेवाले स्थानीय स्तरमै उपचार सम्भव बनाउँदै प्रदेशवासीको स्वास्थ्य पहुँच सहज बनाउने विश्वास व्यक्त गरिएको छ।