माओवादीसँगको एकता प्रक्रियामा सामेल हुँदैनौँ: रामकुमारी

शुक्रबार, कात्तिक १४, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले पार्टीभित्र बहुमतको आधारमा नेकपा माओवादी केन्द्रसँग एकतामा जाने निर्णय भए पनि आफूहरू उक्त प्रक्रियामा सहभागी नहुने बताएकी छन् ।

नेकपा माओवादी केन्द्रसँग वाम एकता नभई मर्जर हुन गइरहेकोले आफूसहितका केही नेताहरू एकता प्रक्रियामा समाहित नहुने उनले स्पष्ट पारिन् ।

पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले ठूलो संख्यामा नेता कार्यकर्ताहरू त्यसप्रति असन्तुष्ट रहेको बताइन् । पार्टी मर्जरको प्रक्रियाले वामपन्थी आन्दोलनलाई सुदृढ गर्नुको सट्टा पार्टीभित्र तानाशाही प्रवृत्तिलाई बढावा दिने उनको बुझाइ छ ।

उनले वाम एकताका लागि एमाले लगायत अन्य राजनीतिक दलहरूसँग संवाद समेत नगरेको कारण दुई पार्टीबीचको मर्जरले मात्र विद्यमान समस्या हल गर्न नसकिने बताइन् ।

वाम आन्दोलनलाई बलियो बनाउने कुरा भन्दा पनि केही नेताहरूको व्यक्तिगत एजेन्डा हाबी भएको कारण आफूहरु पार्टी एकतामा सामेल नहुने उनले बताइन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  १८:२१
प्रतिक्रिया दिनुहोस्