जेनजी घाइतेको प्रधानमन्त्रीसँग ५ बुँदे माग

मंगलबार, कात्तिक ४, २०८२

काठमाडौं । जेनजी आन्दोलनका घाइतेले प्रधानमन्त्री सुशीला कार्कीसँग ५ बुँदे माग राखेका छन् । प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार पुगेका घाइतेले ५ बुँदे माग राखेका हुन् । 

आन्दोलनमा गोली प्रहार गर्नेलाई कारबाही, संविधानको सुधार, आन्दोलनको संरक्षण, भ्रष्टाचारको छानबिन लगायतको माग राखेको प्रधानमन्त्री कार्कीलाई भेट्न पुगेका रुपिन खड्काले बताए ।

‘हामीले ५ बुँदे माग सम्बोधन गर्न भनेका छौं,’ उनले भने । उनका अनुसार घाइतेहरूले माग पूरा गर्न सरकारलाई अल्टिमेट दिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकार जेनजी आन्दोलनको मर्मभन्दा बाहिर नजाने बताएकी छन् ।

जेनजी आन्दोलनका घाइतेहरूलाई प्रधानमन्त्री कार्कीले सरकारले पाएको म्यान्डेट अनुसार काम गर्ने प्रतिबद्धता जनाइन् ।

‘हामी जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौं । प्रक्रियासम्मत ढंगले कानुनी रुपमा तल नपर्ने गरी हामी काम गर्छौं। हामीलाई दिइएको म्यान्डेटअनुसार चल्छौँ,’ उनले भनिन् ।

तोकिएको समयमै चुनाव हुने बताउँदै प्रधानमन्त्री कार्कीले भ्रष्टाचारको छानबिन गरिने बताइन् । राज्यका निकायहरूले तीव्र गतिमा भ्रष्टाचारको छानबिन गरिरहेको उनको दाबी छ । 

‘चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ । राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेका छन् । आआफ्नो ठाउँबाट काम भइरहेको छ,’ प्रधानमन्त्री कार्कीले भनिन् ।

उनले अगाडि भनिन्, ‘ तपाईंहरू बोल्न नछाड्नुहोस् । हामीलाई दबाब दिन पनि नछाड्नुहोस् । हेर्नुहोला, अब नतिजा आउँछ । छानबिनमा परेपछि बाहिर कसले केके बोलिरहेका छन्, सुन्नुभएकै होला ।’

अनलाइनखबर

प्रकाशित मिति: मंगलबार, कात्तिक ४, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्