ओलीले संसद् पुन:स्थापना भन्नु हास्यास्पद भएको प्रचण्डको भनाई

शनिबार, कात्तिक १, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजन समितिका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुन:स्थापना भन्नु हास्यास्पद रहेको बताएका छ्न ।

पार्टी मुख्यालय पेरिसडाँडामा अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा आयोजित चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डको थप टिप्पणी छ, ‘केपी ओली प्रधानमन्त्री हुँदा संसद् विघटन भयो, तत्कालीन राष्ट्रपतिको भूमिकाले त्यो संकट अझ चर्कियो ।  अहिले उनीहरूकै समूहले संसद पुन:स्थापनाको कुरा गर्नु विडम्बनापूर्ण हो ।’

नेकपा एमालेले आफूलाई संसद् पुन:स्थापनाको पक्षमा उभ्याएको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको चुनाव हुन नसक्ने निष्कर्ष निकाल्दै एमालेले संसद् पुन:स्थापनालाई एजेण्डा बनाएको छ ।

एमालेले केन्द्रीय समितिको बैठकबाट यस्तो निष्कर्ष निकालेको भोलिपल्टै प्रचण्डले केपी ओलीले संसद् पुन:स्थापनाको माग गर्नुलाई हास्यास्पद र विडम्बनापूर्ण भनेर टिप्पणी गरेका हुन् ।

गत भदौ २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । आन्दोलनका क्रममा केपी ओली प्रधानमन्त्री थिए । आन्दोलनका क्रममा उनी राजीनामा दिन बाध्य भए । त्यसपछि प्रतिनिधि सभाबाटै अर्को सरकार बन्ने अवस्था बनेन । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ गते प्रतिनिधि सभा विघटन गरेका हुन् । प्रतिनिधि सभाको अर्को चुनाव आगामी फागुन २१ गतेका लागि तोकिएको छ ।

उक्त चुनावमा सहभागी हुने भनेर नेकपा माओवादी केन्द्रले निर्णय गरिसकेको छ ।

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०८२  १७:४९
प्रतिक्रिया दिनुहोस्