प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सडक आन्दोलन गर्ने ओलीको प्रस्ताव

बुधबार, असोज २९, २०८२

 काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा पुनर्स्थापना र संविधानलाई लयमा फर्काउन सडक आन्दोलन अघि बढाउने प्रस्ताव पेश गरेका छन् ।

बुधबारबाट सुरु भएको पार्टीको केन्द्रीय कमिटीको बैठकमा ओलीले पेश गरेको राजनीतिक प्रस्तावमा अब हुने भनिएको आन्दोलनलाई ‘जनआन्दोलन’ भनिएको छ । उनले उक्त आन्दोलनमा सरिक हुन संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरूलाई आह्वान पनि गरेका छन् ।

ओलीले पेश गरेको दस्तावेजको १४ ‌औं बुँदामा ‘देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन ‘आन्दोलन’ शीर्षकमा ओलीले लेखेका छन्- सरकारको संरक्षणमा भइरहेका ज्यादती र उल्टो गतिका विरुद्ध एवं विघटित संसद्‌को पुनर्स्थापना गर्दै देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन जनआन्दोलनको विकल्प नरहेको हाम्रो पार्टीको निष्कर्ष पनि हामी प्रष्ट पार्न चाहन्छौं ।’

उनले जनपरिचालन र जनआन्दोलनका विभिन्न कार्यक्रमहरू तय गर्दै अघि बढ्न सिङ्गो पार्टी पङ्क्ति, संविधान र लोकतन्त्रका पक्षधर राजनीतिक दलहरू र आम नागरिकलाई आह्वान गरेका छन् ।

उनले पार्टीभित्र सुदृढ एकता आवश्यक रहेको उल्लेख गर्दै अनुशासन उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्ने प्रस्ताव गरेका छन् ।

‘केन्द्रीय सचिवालयको बैठकले मुलुकको असहज परिस्थितिमा पार्टीको एकतालाई थप सुदृढ र उच्च बनाएको छ । अब उप्रान्त पार्टी अनुशासनलाई कडाइका साथ पालना गर्न गराउन पार्टी दृढ छ,’ उनले भनेका छन्,’पार्टी अनुशासन तोडेमा, अनैतिक अराजक र भ्रष्टाचारजन्य क्रियाकलाप गरेमा पार्टीको केन्द्रीय सङ्गठन विभागले तत्काल आवश्यक कारबाही गरी केन्द्रीय सचिवालयमा जानकारी गराउने व्यवस्था यस केन्द्रीय कमिटीको बैठकबाट गरिनेछ ।’

उनले केन्द्रीय कमिटीका सदस्यलाई सिङ्गो पार्टी पङ्क्तिलाई एकताको यस भावनालाई आत्मसात् गर्न र अझ सुदृढ गर्ने काममा योगदान गर्न अनुरोध गरेका छन् ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १६:२९
प्रतिक्रिया दिनुहोस्