अफगानिस्तान भूकम्प : मृतकको संख्या ८१२ पुग्यो, अन्तर्राष्ट्रिय सहायताका लागि आह्वान

सोमबार, भदौ १६, २०८२

काठमाडौं । अफगानिस्तानमा भूकम्पका कारण मृत्यु हुनेको संख्या ८१२ पुगेको छ । भूकम्पले ३ हजार भन्दा बढी घाइते भएका छन् । ठूलो भूकम्पपछि अहिलेसम्म ९ वटा परकम्प दर्ज गरिएको छ ।

तालिबान सरकारको स्वास्थ्य मन्त्रालयका प्रवक्ता शराफत जमानलले भूकम्पले सिर्जना गरेको परिस्थितिसँग जुध्न अन्तर्राष्ट्रिय सहायताका लागि आह्वान गरेका छन् ।

समाचार संस्था रोयटर्ससँग कुरा गर्दै उनले भने, ‘हामीलाई सहयोग आवश्यक छ, किनकि यहाँ धेरै मानिसहरूले ज्यान गुमाए र घरहरू भत्किए ।’

तर अहिलेसम्म कुनै पनि देश र विदेशी संस्थाले उद्धार वा राहतका लागि सहयोगको प्रस्ताव नगरेका अफगानिस्तानको विदेश मन्त्रालयले जनाएको छ ।

उद्धार कार्य जारी रहेको उनले जानकारी दिए । मन्त्रालयका अनुसार ३० डाक्टर प्रभावित क्षेत्रमा परिचालित भएका छन् ।८ सय किलोभन्दा बढी स्वास्थ्य सामग्री कुनारमा पठाइएको अधिकारीहरूलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।

अफगानिस्तानको पूर्वी प्रान्त कुनार र नाग्गारहारमा गएराति ६ म्याग्निच्युडको भूकम्प गएको हो । तालिबान सरकारका प्रवक्ता जबीहुल्लाह मुजाहिदका अनुसार उद्धारकर्मीहरू पाकिस्तानी सीमावर्ती दुर्गम हिमाली बस्तीहरूमा पुग्न संघर्ष गरिरहेका छन्, जहाँ मोबाइल नेटवर्क समेत अवरुद्ध छ ।

ग्रामिण क्षेत्रमा भूकम्पका कारण माटो र ढुंगाले बनेका अधिकांश घर भत्किएकाले जनधनको ठूलो क्षति भएको छ । 

संयुक्त राष्ट्रसंघका अनुसार अफगानिस्तानमा जनसंख्याको आधाभन्दा बढी हिस्सालाई तत्काल मानवीय सहायताको खाँचो छ । भारत, चीन, पाकिस्तान, टर्की, अजरबैजान लगायतका देशले अफगानिस्तानमा भूकम्पका कारण भएको क्षति प्रति दु:ख व्यक्त गरेका छन् ।

जसमध्ये चीनले भने अफगानिस्तानको आवश्यकताअनुसार र आफ्नो क्षमताभित्र राहत सहयोग गर्न तयार रहेको बताएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै अफगानिस्तानस्थित राष्ट्रसंघीय कार्यालयले प्रभावित क्षेत्रका पीडितलाई सहयोग गर्न तयारी गरिरहेको उल्लेख गरेका छन् ।

स्थानीयवासी र मानवअधिकारकर्मीका अनुसार दुई वर्षअघि पश्चिमी हेरात शहरमा गएको शक्तिशाली भूकम्पपछि धेरै गाउँ अझैसम्म पनि अस्थायी आवासमा बस्दै आएका थिए ।

अफगानिस्तान हिन्दुकुश पर्वत श्रृंखलामा पर्ने भएकाले विनाशकारी भूकम्पको जोखिममा रहँदै आएको छ, जहाँ भारतीय र युरेसियन टेक्टोनिक प्लेटहरू जोडिन्छन् ।

गृहयुद्ध सकिएर उकासिन खोजिरहेको अफगानिस्तानमा आएको यति ठूलो भूकम्पले देशलाई पुन: संकटमा पारेको छ ।मानवीय संकटसँग लडिरहेको दक्षिण एशियाली मुलुक अफगानिस्तानले वाह्य सहायता समेत तीव्ररूपमा कटौतीको सामना गरिरहेको छ ।

तालिबानको महिलाप्रतिको नीति प्रति बिमती राख्दै विभिन्न देश र अन्तर्राष्ट्रिय संस्थाहरूले सहयोग कटौती गरेका छन् ।पछिल्लो पटक सन् २०२२ मा अफगानिस्तामा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यतिबेला झण्डै एक हजार मानिसको मृत्यु भएको थियो । गएराति त्यसयताकै ठूलो भूकम्प गएको हो ।

 

प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १८:३३
प्रतिक्रिया दिनुहोस्