कविता : आफैंसङ्ग प्रश्न

सोमबार, भदौ २, २०८२

जनविश्वासका अटुट बाँधहरू भत्काएर
आचार व्यवहारहरू बारम्बार हल्लाएर
आस्थाका धरोहर डगमगाउनेहरूसङ्ग 
म यो भन्दा धेरै के अपेक्षा गरौँ ?

रगत पसिनाका मूल फुटाएर
फुलाएका स्वाधीनताका बोटहरू माथि
घरिघरि बन्चरो प्रहार गर्नेहरूसङ्ग 
म आफ्नो जीवनको भिख कसरी मागौँ ?

यहाँ शोकका प्यालाहरूले 
कयौंका आँखामा सुकेका छन् वेगनास र रुपा
कयौंका नसामा सुकेका छन् भेरी र कर्णाली 
रोगलेभन्दा भोकले बढी आत्तिएर
प्याकप्याक्ती हप्किएका निरीह पेटहरूमा
शासकका डोजरहरू चलेको 
म कसरी सहेर बसौं ?

बेकारका बेमौसमी आँधीहरू निम्त्याएर
पहिचान खरानीझैँ उडाएर
घातप्रतिघातका खेल खेली नथाक्ने 
बुख्याँचाहरूका निर्लज्ज अनुहार 
म कसरी टुलुटुलु हेरौं ?

सावाँब्याज र किस्ताकिस्ताले निचोरिएर
पचास नपुग्दै खुम्चिएको बाबाको ओखरझैँ निधारमा
युगौँदेखि दवावको जाँतोमा पिँधिएर
पिल्सिएको आमाको मरिचझैँ अनुहारमा 
खुसीका दुई चारओटा धर्काहरू कोर्न नसकेपछि
फुरफुरे बहिनीका रहरहरू समेत नरङ्गिएपछि 
जिन्दगीभर घुँडा धसेर प्राप्त गरेका प्रमाणपत्रहरू
म कसरी सम्हालौँ ?

ठूलाठूला जहाजहरू
मेरो देशका रहरलाग्दा युवाहरू बोकेर
हेर्दाहेर्दै सात समुद्र पार गरेपछि 
गाउँमा वृद्धवृद्धाहरू आँसुमा डुबुल्किएर
निस्सासिएका लामालामा सुस्केराहरूमा
अभिव्यक्त लक्षणा र व्यञ्जनाहरू
म कसरी सुनौँ ?

एउटा अँध्यारो दुनियाँमा 
यान्त्रिक जीवनमा रुमल्लिएका 
दूरदराजका मेरा दिदीबहिनीहरूलाई
उन्मुक्तिका लयहरूमा छमछमी नचाउन
यो सहरबाट आजादीका गीतहरू
म कसरी रचौँ ?

गाउँको धुलाम्य बाटोले 
आँखा तन्काइ तन्काइ हेरेको कारुणिक दृश्यसङ्गै
पुलबिना स्कुलसम्म पुग्न नपाएका फूलजस्ता 
नानीहरूको चक्नाचुर भविष्य र
सडकपेटीको चिसो सिरेठोमा
धर्ती ओछ्याएर आकाश ओडेका  
कर्णधारहरूका आत्मरोदनका बीचमा 
म चीर निद्रा कसरी निदाऊँ?

आउनुहोस् अब सङ्गसङ्गै खोजौँ
यी साझा सवालहरूका जवाफ 
परेड खेलेर तराईका गह्रागह्रामा 
उक्लिएर पहाडी भञ्ज्याङ् र चौतारी 
खाएर चिसो हिमाली हिउँ 
नछोडौँ सिर्जनाका डोबहरू खनेर मुस्कुराउन
एउटा आशातित उज्यालोमा 
नछोडौँ शिखरको यात्रा थालनी गर्न ।

प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १३:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गरौं योग ध्यान
सोमबार, भदौ २, २०८२

गीत
सोमबार, भदौ २, २०८२

कविता
सोमबार, भदौ २, २०८२