सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
प्रयोगका सर्त
काठमाडौँ । इस्लाम धर्मावलम्बीहरूको ठुलो पर्व इद उल फित्र (इद) शनिबार हर्षोल्लासका साथ देशभर मनाइएको छ । पवित्र महिना रमजानको एक महिनाको लामो कठोर व्रत (रोजा) पछि इदगाहहरूमा बिहान इद उल फित्र इदको सामूहिक नवाज पढिएको हो ।
इदको अवसरमा काठमाडौँको घण्टाघरस्थित जामे मस्जिदमा प्रार्थना गर्ने र एक अर्कासँग शुभकामना साटासाट गरिएको थियो । उनीहरुले एक अर्कालाई अँगालो हालेर इद मुबारक भन्दै शुभकामना साटासाट गरेका छन् ।
इद पर्वमा अल्लाह (भगवान) का नाममा विशेष नमाज (प्रार्थना) गर्ने इस्लाम परम्परा छ । चन्द्रमाको गतिका आधारमा तय गरिने इद पर्व रमदान सकिएपछि सुरु हुने शुक्ल पक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।
इदका दिन इस्लाम समुदायको मुख्य धार्मिक ग्रन्थ कुरान मोल्वी (धर्मगुरु)ले वाचन गरेर सदविचार र सत्कर्ममा रहन प्रेरित गर्छन् । धार्मिक परम्परामा यो मुख्य पर्व भएको हुँदा नयाँ लुगा लगाउने, सेवइ (गहुँको पिठोबाट बनाइएको खाद्यवस्तु) को खिर र मिष्टान्न परिकार खाने–खुवाउने चलन छ ।
यस पर्वमा मस्जिदमा भेला भएर सामूहिक नमाज पढ्ने परम्परा छ । रमजानको महिनामा गरिने उपासनाबाट अन्य महिनाभन्दा ७० गुणा बढी लाभ मिल्ने धार्मिक विश्वास छ ।